काठमाडौं । चीनको वुहानबाट फैलिएको कोभिड १९ (कोरोना) भाइरसको प्रभाव नेपाली औषधि उद्योगमा पनि देखिन थालेको छ । नेपालका औषधि उद्योगले आयात गर्ने कच्चा पदार्थको मूल्य भारतमा ५० प्रतिशतसम्म बढेको छ भने संक्रमण लम्बिँदै गए कच्चा पदार्थ आयातमा समेत अप्ठ्यारो हुने सक्ने देखिएको छ ।
कोभिड १९ भाइरसको प्रभावपछि पछिल्लो समय चीनबाट औषधिसम्बन्धी कच्चा पदार्थको आयातमा कमी हुँदा भारतमै यसको मूल्य बढेको औषधि उद्योगीहरूको भनाइ छ । त्यहाँबाट आयात गर्न समस्या भएकाले बजारमा कच्चा पदार्थको अभाव देखिन थालेको हो । चीनबाट कच्चा पदार्थ नआएपछि भारतबाट आयात गर्दा मूल्य बढेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षत्रीले बताए ।
नेपाली औषधि उद्योगहरू कच्चा पदार्थका लागि भारतमै निर्भर रहने गरेकाले त्यहाँ मूल्यमा आउने उतारचढावले यहाँ प्रभाव पार्ने गर्छ । संघका अनुसार भारतले आफूलाई चाहिने ७५ प्रतिशतभन्दा बढी औषधीय कच्चा पदार्थ चीनबाटै आयात गर्छ । नेपाली उद्योगहरूले सोही कच्चा पदार्थ भारतबाट नेपाल ल्याउने गरेका छन् । अहिले भारतमै पनि औषधि र कच्चा पदार्थको मूल्य बढेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
‘नेपालमा आयात हुने कच्चा पदार्थमध्ये ४० प्रतिशतको मूल्य बढेको छ,’ उनले भने । यद्यपि, हरेक औषधि उत्पादक कम्पनीले २/३ महीनासम्मका लागि कच्चा पदार्थ भण्डारण गर्ने भएकाले कच्चा पदार्थको आयात मूल्य बढे पनि तत्कालका लागि औषधिको मूल्य भने नबढेको क्षत्रीले बताए । भारतमै पनि २ महीनासम्मका लागि मात्र कच्चा पदार्थको भण्डार बाँकी रहेकाले कोभिड १९ भाइरसको प्रभाव रहिरहे भारतबाट कच्चा पदार्थ आयात गर्न नसकिने उनी बताउँछन् ।
नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष शंकर घिमिरेका अनुसार औषधि उद्योगहरूले सामान्यतया ३ महीनाको कच्चा पदार्थको स्टक राख्ने गरेका छन् । तर, पछिल्लो समय भारतबाटै आयात गर्न पनि समस्या आएको उनले बताए । ‘भारतका विक्रेताहरू अहिले हामीसँग कच्चा पदार्थ आयात गर्दा तुरुन्तै पैसा पठाउनुपर्ने भन्न थालेका छन्, जबकि हामीले १ महीनासम्मको बाँकी अवधि पाउने गरेका थियौं,’ उनले भने ।
प्रायः सबै औषधिको कच्चा पदार्थ भारतबाटै ल्याइने हुँदा त्यहाँ मूल्य बढ्दा नेपालका औषधिको मूल्य पनि बढाउनुुपर्ने अवस्था आएको उत्पादकहरूले बताएका छन् । भारतमा प्यारासिटामलको मूल्य ४० प्रतिशत बढेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
कच्चा पदार्थसँगै स्वास्थ्य उपकरण आयात पनि प्रभावित हुने घिमिरे बताउँछन् । ‘हामीले ६० प्रतिशत स्वास्थ्य उपकरण भारतबाटै ल्याउँछौं । विशेषगरी आईसीयूलगायत अत्यावश्यक सेवाका लागि उपकरण स्टकमा नभए अस्पतालहरू पनि प्रभावित हुन सक्छन्,’ उनको भनाइ थियो । यही अवस्था विद्यमान रहे आगामी दिनमा आकस्मिक उपचारका लागि आवश्यक औषधि उत्पादनमै समस्या पर्ने औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ बताउँछन् ।
अन्य औषधि स्टकमा भएकाले आगामी २–३ महीनासम्म धान्न सक्ने भए पनि आईसीयू, ईसीयू र आकस्मिक उपचारमा प्रयोग हुने औषधि १ महीनासम्मका लागि मात्र स्टक भएको उनले बताए ।
आकस्मिक कक्षमा प्रयोग हुने औषधि नेपालमा उत्पादन हुँदैन । ‘हालसम्म भारतले आकस्मिक औषधिको पैठारीमा रोक लगाएको छैन । अहिले भारतमा पनि यसको अभाव देखिन थालेकाले आयात बन्द हुने संकेत देखिएको छ,’ उनले भने । सरोकारवाला निकायले यसको अभाव देखिन नदिन पूर्वतयारी गर्नुपर्ने उनी बताउँछन् ।
औषधीय कच्चा पदार्थको पछिल्लो अवस्थाबारे औषधि व्यवस्था विभागले औषधि उत्पादकहरूसँग तथ्यांक मागेको छ । व्यवसायीले औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र उपलब्ध औषधि ३–४ महीनासम्मका लागि पुग्ने बताएको विभागका प्रवक्ता सन्तोष केसीले बताए । ‘आगामी दिनमा कोभिड १९ भाइरसको प्रभाव कम नभए अन्य मुलुकबाट औषधि र कच्चा पदार्थ आयात गर्न विभागले सहजीकरण गर्नेछ,’ उनले भने । पूर्व अध्यक्ष घिमिरे औषधिको स्टक पर्याप्त राख्न स्वास्थ्य मन्त्रालयले औषधि उत्पादकहरूलाई निर्देशन दिनुपर्ने बताउँछन् । साथै बैंकहरूले पनि संवेदनशील उत्पादन र समय भएकाले उत्पादकहरूलाई सहजै ओभरड्राफ्ट उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।