ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कम मूल्यका गाडी रोज्दै प्रयोगकर्ता

२०७६ फागुन, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । सरकारले गाडी आयातमा नीतिगत रूपमै कडाइ गरेपछि कम मूल्यका गाडी प्रयोगकर्ताको रोजाइमा पर्न थालेका छन् । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ७ महीनामा भित्रिएका गाडीको तथ्यांकीय अवस्थाले यस्तो देखाएको हो । 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू वर्षको साउनदेखि माघ महीनासम्ममा संख्यात्मक रूपमा गाडी र मोटरसाइकलको आयात बढे पनि त्यसको आयातबापत बाहिरिने रकम भने घटेको छ । 

सरकारले पछिल्लो समय विलासी वस्तुको आयात नियन्त्रणको नीति लिएको छ । नेपाल राष्ट्र बैंकले गतवर्ष गाडीमा मूल्यको ५० प्रतिशतभन्दा बढी कर्जा लगानी नगर्न बैंकहरूलाई निर्देशन दिएको थियो । त्यस्तै, केन्द्रीय बैंकले नै गत पुसमा कर तिरेको आयको ५० प्रतिशतभन्दा बढी किस्ता हुने रकम नदिन अर्को निर्देशन जारी ग¥यो । यो निर्देशनले महँगा गाडीको मागमा कमी आउन थालेकोे अटोमोबाइल व्यवसायीहरू बताउँछन् । मागमा कमी आउँदा त्यसको प्रभाव आयातमा देखिएको उनीहरूको दाबी छ । 

चालू वर्षको ७ महीनामा वीरगञ्ज नाकाबाट १० हजार २ सय ८५ ओटा जीपकार र भ्यान भित्रिएको भन्सारको तथ्यांकले दखाउँछ । यी साधनको मूल्य ४ अर्ब ७८ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ को समीक्षा अवधिमा ६ हजार ३ सय ७४ ओटा यस्ता साधनको आयातमा ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको देखिन्छ । 

व्यक्तिगत प्रयोजनमा उपयोग हुने मोटरसाइकलको आयात मूल्य पनि घटेको छ । गतवर्षको प्रथम ७ महीनामा ७३ हजार ७८८ ओटा मोटरसाइकल आयात हुँदा ६ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ बाहिरिएको थियो । यस आवको सोही अवधिमा १ लाख १२ हजार मोटरसाइकलका लागि ४ अर्ब २६ करोड रुपैयाँ बाहिरिएको छ । 

महँगा गाडीको आयातमा कमी आउँदा अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष गाडी आयातबापत बाहिरने कुल रकममा ६ अर्ब ६६ करोड रुपैयाँले कमी आएको छ । चालू आवमा १७ अर्ब ४९ करोड रुपैयाँ बराबरका गाडी आयात भएको भन्सारको तथ्यांकले देखाउछ जबकि अघिल्लो वर्ष यो रकम २४ अर्ब १५ करोड रुपैयाँ थियो । 

सवारीसाधनमा बाहिरिने रकम घट्नु व्यापारघाटा नियन्त्रणको उद्देश्यमा सकारात्मक मानिएको छ ।

यो अर्थतन्त्रका लागि सकारात्मक भए पनि यसबाट सरकारले लक्ष्यमा राखेको राजस्व असुली घटेको भन्सारका अधिकारीहरू बताउँछन् । आयातको परिमाण बढे पनि मूल्य कम हुँदा त्यसको असर सरकारी राजस्वमा पनि परेको उनीहरूको भनाइ छ । वीरगञ्ज भन्सारले सवारीसाधनको आयातबाट चालू वर्षको ७ महीनामा समीक्षा अवधिभन्दा ७ अर्ब रुपैयाँ कम राजस्व उठाएको सूचना अधिकृत विमलकुमार साहले बताए । ‘चालू वर्षमा गाडी आयातको संख्या बढे पनि मूल्य घटेको छ,’ सूचना अधिकृत साहले आर्थिक अभियानसित भने, ‘यसको असर भन्सारको राजस्वमा पर्‍यो ।’ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)