ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालीगण्डकीमा प्रदूषण बढ्दो

संरक्षणका लागि प्रशासनको ध्यानाकर्षण

२०७६ फागुन, १३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी

पर्वत । कालीगण्डकीमा प्रदूषण बढ्दै गएपछि यसको संरक्षणका लागि सरोकारवालाहरूले स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गराएका छन् । पर्वतका विभिन्न धार्मिक संघसंस्थाहरूले कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका र जिल्ला प्रशासनलाई नदी संरक्षणमा चासो दिन माग गरेका हुन् । धार्मिक, वातावरणीय र पर्यटकीय महŒवको कालीगण्डकी नदी पछिल्लो समय फोहोरका कारण दुर्गन्धित र जथाभावी दोहनले कुरूप बन्दै गएको छ ।

विश्व हिन्दू महासंघका जिल्ला अध्यक्ष लोकनाथ आचार्यले पवित्र तीर्थस्थलको रूपमा रहेको कालीगण्डकी प्रदूषित हुँदै गएकाले यसको नियन्त्रणको माग गरिएको बताए । ‘कालीगण्डकी नदी मुस्ताङको दामोदर कुण्डदेखि नवलपरासीको त्रिवेणीसम्मका बजार क्षेत्रका फोहोरले दुर्गन्धित बन्दै गएको छ,’ उनले भने, ‘यो अवस्था अन्त्य गर्न स्थानीय सरकारलाई फोहोर फाल्ने स्थान खोजी गरी नदीमा फोहोर फाल्न रोक्न सचेत गराइएको छ ।’

कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन हुँदै आएको छ । नेपाल सरकारले भ्रमण वर्ष र प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष मनाइरहेका बेला यहाँ र्‍याफ्टिङमा रमाउन दैनिक बाह्य र आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पर्यटन व्यवसायी होमबहादुर पुनले प्रदूषणका कारण पर्यटकले नकारात्मक प्रतिक्रिया दिने गरेको बताए । ‘नदीमा बढेको फोहोर व्यवस्थापनका लागि स्थानीय सरकार र प्रशासनलाई अनुरोध गरिएको छ,’ उनले भने । उनका अनुसार नदी किनारमा रहेका घाट पनि अव्यवस्थित छन् । 

अव्यस्थित घाटका कारण पनि नदीकाो सौन्दर्य हराउँदै गएको छ । मोदीवेनी दिव्यधामका अध्यक्ष केशवदास बैरागीले घाट व्यवस्थित गराउन कुश्मा नगरपालिकालाई ध्यानाकर्षण गराइएको बताए । कालीगण्डकी नदीमा म्याग्दीको बेनी नगरपालिका, बागलुङको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, कुश्मा नगरपालिका, मोदी गाउँपालिका, फलेवास नगरपालिकाको फोहोर मिसाउने गरेको पाइएको छ । 

नदी किनारमा ढल र फोहोर मिसाउँदा नदीले धार्मिक र पर्यटकीय परिचय गुमाउन थालेको स्थानीय सरोकारवालाहरूको गुनासो छ । शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदीको रूपमा परिचित कालीगण्डकीमा तस्करहरूले यसको चोरी गरेर लैजाने गरेका छन् । स्थानीय तहहरूलाई शालिग्राम चोरी गर्ने गिरोहको खोजी गरी कारबाही गर्न पनि सरोकारवालाहरूले सचेत गराएका छन् । नदीको किनारमा खोलिएका क्रशर उद्योगका कारण नदीको स्वरूप बिग्रँदै गएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)