ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनी मिललाई सधैं उखु अभाव

२०७६ फागुन, १३  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरमा सञ्चालित चिनी मिलले वर्षेनि उखुको अभाव खेप्दै आएका छन् । जिल्लामा उत्पादित उखुभन्दा मिलको माग बढी हुँदा अभाव हुने गरेको उद्योगीले बताएका छन् । पर्याप्त उखु उपलब्ध नहुँदा मिलको क्षमता अनुसार चिनी उत्पादन गर्न नसकिएको मिल सञ्चालकहरूको भनाइ छ ।  

बेलौरीस्थित महाकाली मिलका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले मिलको आवश्यता अनुसार जिल्लामा उखु उत्पादन नभएको बताए । ‘मिललाई हरेक सिजनमा २५ लाख क्वीन्टल उखु आवश्यक पर्छ,’ उनले भने, ‘तर, मिलले उखु किन्ने क्षेत्रमा १८ देखि २० लाख क्वीन्टल मात्र उत्पादन हुने गरेको छ । यसले मिलको माग पूरा हुँदैन ।’ 

बेलौरीमा रहेको महाकाली सुगर मिल र पुनर्वासमा रहेको भागेश्वर सुगर मिलले वर्षेनि आवश्यकता अनुसार उखु नपाउँदा १ महीना अगाडि नै मिल बन्द गर्नुपर्ने बाध्यता रहेको ठगुन्नाले बताए । ‘दुवै मिलले एक सिजनमा २५–२५ लाख क्वीन्टल उखु पेल्न सक्ने क्षमता भए पनि १८ देखि २० लाख क्वीन्टल मात्रै उखु उपलब्ध हुने गरेको छ,’ उनले भने, ‘माग अनुसार उखु उत्पादन नहुँदा स्रोतसाधनको पूर्ण उपयोग हुन सकेको छैन ।’ 

आवश्यकता अनुसार उखु उपलब्ध भएमा मंसिरदेखि चैत अन्तिमसम्मै मिल चलाउन सकिने भए पनि उखु अभावमा फागुनदेखि नै बन्द गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।  

महाकाली सुगर मिलमा बेलौरी नगरपालिकासँगै बेलडाडी,  लालझाडी लगायत क्षेत्रका कृषकले उखु ल्याउने गरेका छन् । गतवर्ष पनि मिलमा मागभन्दा झन्डै ६ लाख क्वीन्टल कम उखु आएको ठगुन्नाले जानकारी दिए । यस वर्ष पनि २०/२१ लाख क्वीन्टल मात्रै उखु आउने अनुमान गरिएको उनले बताए । उनका अनुसार १ क्वीन्टल उखुबाट ९ किलोको हाराहारीमा चिनी उत्पादन हुने गर्छ । 

त्यस्तै, पुनर्वासमा रहेको भागेश्वर सुगर मिलले पनि आवश्यकता अनुसार उखु नपाउँदा १ महीना ढिलो मिल सञ्चालन गरेर १ महीना अगावै बन्द गर्नुपर्ने अवस्था रहेको बताएको छ । 

माग अनुसार उखु उपलब्ध भएमा वैशाखसम्म नै मिल सञ्चालन गर्न सकिने मिलका प्रशासन अधिकृत डम्मर खड्काले बताए । उनका अनुसार मिलले दैनिक २० हजारदेखि २५ हजार क्वीन्टल उखु पेल्न सक्दछ । जिल्लामै माग अनुसारको उखु नपाएपछि भारतबाट उखु ल्याएर समेत मिल चलाउने गरेको उनको भनाइ छ । उखुको उत्पादन बढाउन मिलहरूले कृषकलाई प्राविधिक सहित उन्नत जातका बीउ, आधुनिक कृषि औजार उपलब्ध गराएको भए पनि उत्पादन वृद्धि हुन नसकेको मिल सञ्चालको गुनासो छ । 

चिनी मिलका साथै जिल्लाका बेलौरी, पुनर्वास, बेलडाडी र महाकाली नगरपालिकामा १ दर्जनभन्दा बढी खाँडसारी उद्योगहरू समेत सञ्चालनमा छन् । ती उद्योगमा पनि ठूलो मात्रामा उखु खपत हुने गरेको छ । सबै खाँडसारी उद्योगमा ५ लाख क्वीन्टलभन्दा बढी उखु खपत हुने गरेको व्यवसायीको भनाइ छ । खाँडसारी उद्योगमा गुड र खुदो उत्पादन हुने गरेको छ ।

कञ्चनपुरमा ५ हजार ६०३ हेक्टरमा उखुखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । उखु उत्पादनका लागि कञ्चनपुर उपयुक्त भए पनि माग अनुसार उखु उत्पादन हुन नसकेको ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए । 

उखु उत्पादन बढाउन चालू आर्थिक वर्षबाट उखु क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । ‘यस कार्यक्रम अनुसार चालू आर्थिक वर्षमा अनुदानका लागि रू. ८० लाख बजेट विनियोजन गरिएको छ,’ उनले भने, ‘जसअन्तर्गत कैलाली र कञ्चनपुरका १२० कृषकलाई बीउमा ५० प्रतिशत अनुदानका लागि छनोट गरिएको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)