ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माघमा घट्यो निर्यात

२०७६ फागुन, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

काठमाडौं । पाम आयलको भारत निकासी रोकिँदाको असर मुलुकको समग्र निर्यातमा देखिएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्षको सातौं महीना अर्थात् माघमा नेपालको निर्यात ७ अर्ब ७० करोडमा झरेको छ । 

पछिल्लो ७ महीनाको तथ्यांक हेर्दा अघिल्ला ५ महीनाको निर्यात माघ महीनाको निर्यातभन्दा बढी छ । पुस महीनाको कुल निर्यात ९ अर्ब ६६ करोड भएको देखिन्छ । माघ महीनामा पाम निर्यात शून्य हुँदा निर्यात रकम पुसको भन्दा कम भएको हो । विभागका अनुसार माघ महीनामा निर्यात वृद्धि ३० प्रतिशतले घटेको छ । 

चालू आर्थिक वर्षको सातौं अर्थात् माघ महीनामा नेपालबाट प्रशोधित पाम आयल निर्यात शून्य रह्यो । पुस महीनासम्ममा १३ अर्ब ९१ करोडको पाम आयल निर्यात भएकोमा माघ महीनामा निर्यात रकम बढेको देखिन्न । चालू आर्थिक वर्षको शुरूको महीनामा १ अर्ब ७५ करोडको पाम निर्यात भएको थियो । त्यसपछिका महीनाहरूमा औसत २ अर्बको हाराहारीमा निर्यात बढ्दै गएको तथ्यांकले देखाउँछ । माघमा निर्यात शून्य भएसँगै कच्चा पामको आयात पनि घटेको छ । अघिल्ला महीनाहरूमा औसतमा २ अर्ब रुपैयाँ बराबरको कच्चा पाम आयात भएकोमा माघ महीनामा भने यो घटेर मात्र रू. २६ करोडको कच्चा पाम आयात भएको छ ।   

नेपालका व्यवसायीले तेस्रो मुलुकबाट कच्चा पाम आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएका थिए । २०२० जनवरी ७ देखि पाम आयलको आयात रोकेको भारतले हालै सो रोक खुला गरेको छ ।  

श्रीराम आयल प्रोडक्ट कम्पनीका सञ्चालक प्रदीप मुरारकाका अनुसार निर्यात नै बन्द भएपछि व्यवसायीले पाम आयलको आयात कम गरेका हुन् । भारतले नेपालबाट  पाम आयलको आयात पुन खुला गरेसँगै नेपालबाट निर्यातको बाटो खुलिसकेको छ । ‘आगामी महीनाबाट पामको निर्यात र निर्यात वृद्धिदर पहिल्यैकै तुलनामा आउँछ,’ उनले भने । 

भटमासको तेलको निर्यात भने माघ महीनामा पनि बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आवको ७ महीनामा रू. ५ अर्ब ९४ करोड बराबरको भटमासको तेल निर्यात भएको छ । चालू आवको कात्तिकपछि यसको निर्यात बढ्दै गएको हो ।

मंसिरमा रू. १ अर्ब ६ करोडको भटमासको तेल निर्यात भएकोमा पुसमा रू. १ अर्ब ३१ करोडको निर्यात भएको थियो । माघ महीनामा डेढ अर्बभन्दा बढीको भटमासको तेल निर्यात भएको छ । पाम जस्तै व्यवसायीले बाह्य मुलुकबाट भटमास आयात गरी प्रशोधन गरेर तेल निर्यात गर्ने गरेको मुरारका बताउँछन् । पाम आयलको निर्यात घटे पनि अन्य निर्यातमा भने सुधार आएको छ । गतवर्षको सात महीनाको अवधिभन्दा यसपटक २२ दशमलव ४१ प्रतिशतले निर्यात  बढेको छ । यस अवधिमा गतवर्ष रू. ५३ अर्ब ७ करोड बराबरको निर्यात भएको थियो । तर, यस वर्षमा भने यो बढेर ६४ अर्ब ९७ करोड पुगेको छ । 

चालू आर्थिक वर्षको सातौं महीनामा औद्योगिक कच्चा पदार्थको आयातमा भने सुधार आउन सकेको छैन ।  भन्सार विभागको पहिलो ७ महीनाको तथ्यांकले फलाम, स्टील, कोइला, बोइलर तथा मेशिनरी, सिमेन्ट क्लिंकर, एमएस बिलेटलगायत औद्योगिक कच्चा पदार्थको आयातमा कमी आएको देखाएको छ । 

यस अवधिमा रू. ७ अर्ब ७७ करोडको केमिकल, रू. ४ अर्ब ३० करोडको रबर तथा प्लास्टिक र रू. १ अर्ब ८ करोडको स्टील÷फलामको आयात भएको थियो । गतवर्ष यही अवधिमा रू. ९ अर्बको केमिकल, रू. ४ अर्ब ३१ करोडको रबर तथा प्लास्टिक र रू. ४ अर्ब ३ करोड बराबरको स्टील÷फलामको आयात भएको थियो । गत वर्ष यस अवधिमा रू. १३ अर्ब बराबरको कोइला आयात भएकोमा यस वर्ष भने यसको आयात रू. ३ अर्ब घटेको छ । 

विभागका अनुसार पहिलो ७ महीनामा नेपालले कुल रू. ८ खर्ब ६८ अर्बको वैदेशिक व्यापार गरेको छ । यसमा नेपालले रू. ८ खर्ब ३ अर्ब बराबरको वस्तु आयात गरेकोमा रू. ६४ अर्बको निर्यात गरेको छ । यही अवधिमा गतवर्ष नेपालले कुल रू. ८ अर्ब ८६ करोडको वैदेशिक व्यापार गरेकोमा रू. ८ खर्ब ३३ अर्बको वस्तु आयात गरेको थियो । सो अवधिमा नेपालबाट रू. ५३ अर्ब बराबरको मात्र वस्तु निर्यात भएको थियो । यस अवधिमा गतवर्षको तुलनामा व्यापारघाटा रू. ४२ अर्बले घटेको तथ्यांकले देखाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)