ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वामित्व परिवर्तनसँगै खिम्तीको पीपीए नेपाली रुपैयाँमा

२०७६ फागुन, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । डलरमा विद्युत् खरीदविक्री सम्झौता (पीपीए) गरेका कारण आलोचित हुँदै आएको खिम्ती जलविद्युत् आयोजना (६० मेगावाट)को नयाँ पीपीए अब नेपाली रुपैयाँमा गरिने भएको छ । नेपाल सरकार र प्रवद्र्धक कम्पनी हिमाल पावर लिमिटेडबीच भएको सम्झौताअनुसार आगामी असार २६ गतेबाट आयोजनाको ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा आउने भएकाले नयाँ पीपीएको तयारी गरिएको हो । 

डलर पीपीएका कारण आफू मारमा परेको बताउँदै आएको प्राधिकरण पहिलेको भन्दा सस्तो दरमा नयाँ पीपीए गर्ने तयारीमा छ । अहिले आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरणलाई हस्तान्तरण गर्न दुवै पक्ष तयारीमा जुटेका छन् । यसका लागि प्राधिकरण र प्रवद्र्धक दुवैको स्वामित्व हुने गरी संयुक्त कम्पनी स्थापना गरिँदै छ । र, सोही कम्पनीले विद्युत् प्राधिकरणसँग नयाँ पीपीए गर्नेछ ।

स्थापना गरिने संयुक्त कम्पनीले हिमाल पावरबाट खिम्तीको स्वामित्व लिनेछ । त्यसपछि सो आयोजना विद्युत् प्राधिकरण र हिमाल पावरको आधा स्वामित्व हुने र नाफा आधाआधा बाँडिने प्राधिकरणले बताएको छ ।  

सय मेगावाट भन्दा कम क्षमताका जलविद्युत् आयोजनाको पीपीए डलरमा गर्न नपाइने गरी नयाँ कानूनी व्यवस्था आएकाले पनि खिम्तीको नयाँ पीपीए गरिन लागिएको हो । ‘हाल यसका लागि दुवै पक्षबीच छलफल भएको छ । डलरमा पीपीए हँुदैन तर पीपीए पहिलेको भन्दा सस्तो हुनेछ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘तर, प्रतियुनिट कति रुपैयाँ भनेर टुंगो लागेको छैन ।’ उनका अनुसार संयुक्त कम्पनीको नाम राख्नेलगायत विषय पनि अहिले छलफलकै क्रममा छ । 

प्राधिकरणका अनुसार स्वामित्व परिवर्तनका लागि दुवै पक्षको संलग्नतामा संयुक्त कम्पनी गठन समिति, सम्पत्ति हस्तान्तरण समिति, वित्तीय विश्लेषण समिति र पीपीए वार्ता समिति बनाएर काम अगाडि बढाइएको छ । यी समितिलाई असारको दोस्रो साताभित्र सबै काम सक्न भनिएको छ ।

हिमाल पावरले सन् २००० जुलाईदेखि सञ्चालनमा ल्याएको खिम्ती आयोजना नेपालमा निजीक्षेत्रको लगानीमा निर्माण गरिएको पहिलो जलविद्युत् आयोजना हो । यसमा बुटवल पावर कम्पनी लिमिटेड, नर्वेको स्ट्याटक्राप्mट एसएफ, आलस्थम पावर एसलगायत कम्पनीको लगानी छ ।

त्यसबेला आयोजना बनाउन १४ करोड ५२ लाख डलर लगानी भएको थियो । तत्कालीन सरकार र कम्पनीबीच उत्पादन शुरू भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरणको हुने गरी सम्झौता गरिएको थियो । उक्त आयोजनाबाट विद्युत् उत्पादन हुन लागेको आगामी जुलाईमा २० वर्ष पुग्दै छ । साथै, पूर्व सम्झौताअनुसार नै अबको ३० वर्षपछि सो आयोजनाको शतप्रतिशत स्वामित्व प्राधिकरणको नै हुनेछ । डलरमा पीपीए भएका कारण प्राधिकरणले कम्पनीलाई डलरमा नै भुक्तानी दिनुपर्ने थियो । फलस्वरूप प्राधिकरणले डलर मूल्य परिवर्तन हुँदा पर्ने जोखिम पनि आफै वहन गर्दै आएको थियो । तत्कालीन समयमा प्राधिकरणले कम्पनीसँग पीपीए गर्दा एक डलरको मूल्य ५२ रुपैयाँ थियो जुन अहिले ११५ रुपैयाँ पुगेको छ । 

प्राधिकरणले पहिलोपटक हिमाल पावरसँग खिम्तीको पीपीए ५ दशमलव २ सेन्टमा गरेको थियो जुन पछि संशोधन गरी ५ दशमलव ९ सेन्ट कायम गरिएको थियो ।

नेपाली रकमको आधारमा प्राधकिरणले वर्षात्मा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसाका दरले बिजुली खरीद गर्दै आएको थियो । रोयल्टीसमेत गरेर खिम्तीबाट प्रतियुनिट २१ रुपैयाँसम्ममा विद्युत् किन्नु परेको प्राधिकरणको भनाइ छ । अब यो भन्दा सस्तो मूल्यमा पीपीए गर्ने प्राधिकरणको तयारी छ । प्राधिरकणले रोयल्टीबापत वार्षिक रू. ४८ करोड कम्पनीलाई दिँदै आएको बताइन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)