ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘अफ सिजन’को विश्व रेकर्ड बनाउन सगरमाथा आरोहण

४ कीर्तिमानी नेपाली आरोही सगरमाथातर्फ

२०७६ फागुन, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौ । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै विश्वका आरोहीहरूको ध्यान नेपालतिर खिच्न चार जना नेपाली कीर्तिमानी ओरोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । हिउँदमा सबैभन्दा छिटो हिमाल आरोहण (विन्टर स्पीड क्लाइम्बिङ) गरी विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले संखुवासभा, मकालुका चार जना कीर्तिमानी आरोहीहरू सगरमाथा आधार शिविरतर्फ लागेका छन् । उनीहरूले पाँच दिनमा सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने बताएका छन् । 

आरोहणलाई ‘ब्रेथलेस विन्टर एभरेस्ट स्पीड क्लाइम्बिङ एक्सट्रिम अन एभरेस्ट इन फाइभ डेज ः दिस इज द गिनिज बुक अफ वल्ड रेकडर््स एटेम्ट एक्सिपिडिशन’ नाम दिइएको छ । विनाअक्सिजन पाँच दिनमै सगरमाथाको आरोहण गर्ने र यसबाट सबैभन्दा छोटो समयमा आरोहण गरेको विश्व रेकर्ड कायम हुने आरोही टिमका संयोजक टासीलाक्पा शेर्पाले जानकारी दिए । ‘विन्टर सिजनलाई हिमाल आरोहणका लागि अफ सिजनको रूपमा लिइन्छ । यो मौसममा हिमाल आरोहण निकै कठिन हुन्छ । तर, चारजना आरोहीहरूले ज्यानको बाजी राखेर विश्व रेकर्ड कायम गराउने साहस गरेका छन् । यो सफल हुँदा यसले विश्वको ध्यान नेपालतर्फ खिचिनेछ,’ उनले भने । फागुन १३ देखि १७ सम्म अर्थात् (२५ देखि २९ फेबु्रअरीसम्म)मा सगरमाथा आरोहण गर्ने उनले बताए । विश्वमा यस्तो आरोहण कमै हुने गरेको छ । मौसमी हिसाबले वसन्त ऋतु र शरद् ऋतु हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ । 

सन् १९८० र सन् १९९३ मा विदेशीहरूले यस्तो आरोहण गरेको नेपाल पर्वतारोहण संघले जानकारी दिएको छ । अत्यन्तै लामो समय अर्थात् झन्डै २ महीना लगाएर उनीहरूले यो याममा हिमाल आरोहण गरेको पाइन्छ । चार जनाको टोलीले भने पाँच दिनमै सगरमाथाको चुचुरोमा पुगेर विश्व कीर्तिमान राख्ने संकल्प गरेका छन् । हिउँदमा अत्यधिक चिसो हुने, हिउँ परिरहने, बाटो बनाउन र पहिल्याउन निकै कठिन हुने आरोहीहरूको भनाइ छ । 

हिमाल आरोहण गर्न जानुअघि सोमवार काठमाडौंमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले उनीहरूलाई बिदाइ गरेको छ । नेपाल भ्रमण वर्ष अंकित लोगोसहितको झण्डा सगरमाथाको चुचुरोमा फहराउन उनीहरूलाई हस्तान्तरण गरिएको छ । संखुवासभा र मकालु गाउँपालिका एकै ठाउँका उनीहरू चारैजना प्रख्यात आरोही हुन् । आठ पटकसम्म सगरमाथाको सफल आरोहण गरेका प्रख्यात आरोही तथा पर्यटन व्यवसायी टासीलाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पासहितको टोली सोमवार नै सगरमाथातर्फ लागेको छ । 

बिदाइ कार्यक्रममा नेपाल भ्रमण वर्ष सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले यो आरोहणले नेपालको आरोहणमा नयाँ आयाम सृजना गर्ने बताए ।  नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले नेपालको पर्यटन साहसिक गतिविधिको पर्यायवाची भएको भन्दै सगरमाथा आरोहणको नयाँ कीर्तिमानले नेपाल गन्तव्यको प्रवद्र्धनमा टेवा पुग्ने बताए । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीले आरोहणमा शेर्पा समुदायको भूमिकाले नेपालको शिर उँचो बनाएको उल्लेख गरे । कीर्तिमानी आरोही कामिरिता शेर्पाले हिमाल र शेर्पा पर्याय रहको भन्दै भ्रमण वर्षका सन्दर्भमा नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्वभर प्रचारप्रसार गर्न यो आरोहणले सहयोग पुग्ने अपेक्षा गरे । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)