ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डेटा सेन्टर बनाउँदै नेप्से 

अनुमतिविना डाटा स्क्रलिङ गरे कारबाही 

२०७६ फागुन, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । प्राकृतिक संकट आइपरेमा डेटालाई सुरक्षित गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले उपत्यका बाहिर डेटा सेन्टर बनाउने तयारी थालेको छ । यसका लागि उसले सूचना प्रविधि नीति (आईटी पोलिसी) बनाउँदै छ । सञ्चालक समितिले भूकम्प, बाढीपहिरो, आगलागीजस्ता जोखीमबाट डेटा जोगाउन तथा रिकभरी गर्न डेटा सेन्टर बनाउने नीति पारित गरिसकेको छ । 

नेप्सेले उक्त नीतिलाई नेपाल धितोपत्र बोर्डमा पठाउन लागेको छ । बोर्डबाट सुझाव आएपछि सूचना प्रविधि नीतिलाई कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । उनका अनुसार करीब डेढ वर्षदेखि नेप्से अनलाइन ट्रेडिङलाई व्यवस्थित बनाउन लागिपरेका कारण डेटाको सुरक्षाबारे सोच्ने समय थिएन ।  

नीतिगत व्यवस्था गरेपछि नेप्सेको डेटा सुरक्षित राख्ने पूर्वाधार बनाउने उनले बताए । ‘कुनै कारणले दोस्रो बजारको प्लेटफर्म बन्द हुँदैन । भुइँचालो, बाढीपहिरो वा आगलागी जेसुकै होस्, जुनसुकै विपत्तिमा पनि डेटा सुरक्षित  हुन्छ,’ उनले भने ।

अहिले नेप्सेको डेटा सिंहदरबारभित्र रहेको सूचना प्रविधि मन्त्रालय परिसरमा रहेको सरकारको एकीकृत तथ्यांक केन्द्र (जीआईडीसी)मा राख्ने गरिएको छ । नेप्सेको उक्त नीति लागू भएपछि  सिंहदरबारबाहेक पोखरा, बुटवल, भैरहवाजस्ता मोफसलमा समेत डेटा सेन्टर राख्ने योजना रहेको साउदले बताए ।

सूचना प्रविधि नीतिले डेटा प्रयोगमा कडाइ गर्ने नेप्सेले बताएको छ । हालसम्म सूचीकृत संस्थाहरूको शेयर कारोबारको डेटा एपीआईमार्फत विभिन्न अनलाइनहरूले प्रयोग गर्दै आएका छन् । तर अब विनास्वीकृति यस्तो डेटा प्रयोग गर्न नपाइने सीईओ साउदले जानकारी दिए । उनका अनुसार यो नीतिले नेप्सेको डेटा सुरक्षित हुन्छ । कसैले नेप्सेको अनुमतिविना डेटा प्रयोग गर्न पाउँदैन र स्क्रलिङ गरेर प्रयोग ग¥यो भने कारबाही हुन्छ ।  

रियल टाइम सेटलमेन्ट गर्ने काम स्टक एक्सचेन्जको नभएको उनको भनाइ छ । ‘हामीले ब्रोकर कम्पनीलाई एपीआई (एप्लिकेसन्स प्रोग्रामिङ इन्टरफेस) दिइसकेपछि  लगानीकर्तासँग कुन माध्यमबाट पैसा लिने र लगानीकर्तालाई कुन माध्यमबाट भुक्तानी गर्ने भन्ने काम उसको हुन्छ,’ उनले भने, ‘यसलाई अब एपीआईको प्रणालीभित्र रहेर मात्र वितरण गर्ने भएका छौं । नेप्सेले ब्रोकर कम्पनीहरूलाई ट्रेड म्यानेजमेन्टको सिस्टम दिएका छ । अब ब्रोकर कम्पनीको आफ्नो सुविधा र क्षमताअनुसार त्यसको प्रयोग गर्न सक्नेछन् ।’ नेप्सेमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोप समेत लगानीकर्ताहरूले लगाउने गरेका छन् । यो नीतिले भित्री कारोबारलाई समेत नियन्त्रण गर्ने उनको भनाइ छ । ‘मैले बारम्बार सुनेको छु । कहिलेकाहीँ कर्मचारीको मिलेमतो भयो, कर्मचारीले यसो गर्‍यो भन्ने आरोपहरू लगानीकर्ताले लगाउने गरेका छन् । अब यस्तो काम भयो वा भएन भनेर यो नीतिले परीक्षण गर्छ,’ उनले भने, ‘नेप्सेमा कार्यरत कर्मचारी फरक फरक प्रवृत्तिका हुन्छन्, उनीहरूलाई समेत नियन्त्रण र सन्तुलन गर्न यसले मद्दत गर्नेछ ।’ 

अहिले कर्मचारी नियमावली मात्रै छ, तर अब नीतिले यसबारे कडाइ गर्नेछ । अन्य मुलुकमा आईटी सर्भर कक्षभित्र बाहिरको मान्छे छिर्न पाउँदैनन् । नेप्सेले पनि यसमा कडाइ गर्नेछ । नीतिगत व्यवस्थापछि नेप्सेले सफ्टवेयर, जनशक्ति लगायतमा थप खर्च गर्नुपर्ने देखिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)