पर्वत । पर्वतमा १२ ओटा सामुदायिक क्याम्पस छन् । सबैजसो क्याम्पसमा विद्यार्थी संख्या न्यून छ । क्याम्पसको आम्दानीको स्रोत त्रिविको अनुदान र विद्यार्थीबाट लिइने शुल्क नै हो । तर दिगो आयस्रोत नहुँदा निजी स्रोतका प्राध्यापकको तलब खुवाउनुपर्ने, पूर्वाधार विकास गर्नुपर्ने, मसलन्द खर्च, भइपरी आउने खर्च चलाउनुपर्ने चुनौती यी क्याम्पसहरूलाई छ ।
शंकरपोखरी बहुमुखी क्याम्पसमा वार्षिक खर्च १०/१५ लाख हुन्छ । आम्दानी १० लाख हुन्छ । विद्यार्थी ८२ जना रहेको क्याम्पसले बताएको छ । ‘विश्वविद्यालय अनुदान आयोगले अनुदान दिँदैन । १४ जना प्राध्यापकलाई तलब कसरी खुवाउने भन्ने नै चिन्ता छ,’ क्याम्पस प्रमुख हरिप्रसाद तिवारीले भने ।
जिल्लाको वहाकी सामुदायिक क्याम्पसले पनि आर्थिक अभाव खेपेको छ । प्रदेश सरकारको सहयोगमा क्याम्पस भवन बने पनि मासिक आम्दानीको स्रोत केही छैन । क्याम्पस प्रमुख एकनारायण भट्टराईका अनुसार विद्यार्थीको अभावमा क्याम्पसको आम्दानी चलेको छैन । आर्थिक अभाव हुने यी दुई प्रतिनिधि क्याम्पस मात्र हुन् । जिल्लाका अन्य क्याम्पसको स्थिति पनि यस्तै छ ।
कुश्मा र फलेवास नगरपालिकामा ३–३ क्याम्पस छन् । विहादी गाउँपालिकामा २, पैयुँ, महाशिला, मोदी र जलजलामा एक÷एक छन् । सबैले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका छन् । ‘त्रिवि सेवा आयोगबाट ८÷१० लाख सहयोग आउँछ,’ गुप्तेश्वर क्याम्पसका प्रमुख सुभाष पन्तले भने, ‘त्यतिले के गर्नु ।’ उनका अनुसार क्याम्पसको सञ्चालन खर्च वार्षिक करीब १ करोड छ । सदरमुकाममा रहेको जिल्लाकै अग्रणी यो क्याम्पसमा आर्थिक संकट वर्षेनि बढ्दो छ । उनले भने, ‘पूर्वाधारका हिसाबले हामी मजबूत छौं, तर आर्थिक स्रोत चुनौतीको कुरा हो ।’
जिल्लाको शिवालय बहुमुखी क्याम्पसमा अन्य क्याम्पसभन्दा बढी विद्यार्थी छन् । नतीजा पनि राम्रो आउँछ । वार्षिक डेढ करोड आम्दानी हुने गरेको क्याम्पस प्रमुख कमलनाथ शर्माले जानकारी दिए ।
२०४१ सालमा त्रिविबाट सम्बन्धन लिएर मानविकीमा प्रमाणपत्र तहको पढाइ शुरू भएको पर्वत बहुमुखी क्याम्पसले वर्षेनि घाँसदाउरा बेचेर र महायज्ञ लगाएर आर्थिक जोहो गर्दै आएको छ । क्याम्पस प्रमुख खिलप्रसाद शर्माका अनुसार आर्थिक रूपमा क्याम्पस कमजोर छ । संरचना बनाउन क्याम्पस प्रशासनले गरेको पहलमा कुनै क्षेत्रको साथ नपाएपछि भइरहेका संकाय धान्नसमेत मुश्किल भएको प्राध्यापकको गुनासो छ ।
जिल्लाका १२ क्याम्पसमा १७ सय हाराहारीमा स्नातक तहका विद्यार्थी छन् । जिल्लामा क्याम्पसको संख्या बढी र विद्यार्थी कम भएपछि अहिले एकआपसमा मर्जको बहस पनि चल्ने गरेको छ । शिवालय क्याम्पसले आइतवार नवौं वार्षिकोत्सव मनाउन आयोजना गरेको कार्यक्रममा सञ्चालक र सरोकारवालाहरूले एकै प्रकृतिका संकाय चलाएका क्याम्पस एक आपसमा गाभ्नु उपयुक्त हुने सुझाव राखे । ‘राम्रो पढाइकै कारण विद्यार्थी धेरै बाहिरिएका छन्,’ कुश्मा–५ का मोहन आचार्यले भने । गुप्तेश्वर क्याम्पसका अध्यक्ष सुन्दरप्रसाद जोशीले पनि क्याम्पस मर्जको आशय व्यक्त गरे । सदरमुकामका क्याम्पसहरूलाई विश्वविद्यालय अनुदान आयोगले वार्षिक १० लाखको हाराहारीमा अनुदान दिँदै आए पनि ग्रामीण क्षेत्रमा रहेका क्याम्पसमा विद्यार्थी संख्या, नतीजा, पूर्वाधार लगायत मापदण्ड नपुग्दा अनुदान पाउनबाट वञ्चित छन् ।
समुदायमा देउसीभैलो खेलेर, लाहुरेको स्वागत गरेर र नेताका जोडबलमा विभिन्न निकायबाट आर्थिक सहायता पाए पनि दिगो आम्दानीको स्रोत नहुँदा आर्थिक संकटमा गुज्रिएको पाइएको छ । नेपाल पब्लिक क्याम्पस संघका जिल्ला अध्यक्ष गोविन्द पहाडीले त्रिविले सम्बन्धन दिएका क्याम्पसलाई मात्रै अनुदान दिने, तर समुदायले खोलेका क्याम्पसलाई अनुदान नदिने गरेको गुनासो गरे । ‘सामान्य कार्यविधि पूरा गरेका क्याम्पसले सम्बन्धन पाए तर विद्यार्थी संख्याको अनुपात हेरिएन,’ उनले भने, ‘टीयूले जसरी आंगिक क्याम्पसलाई अनुदान दिन्छ, त्यसरी नै सामुदायिक क्याम्पसलाई पनि अनुदान दिनुपर्छ ।’