ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकमै थन्कियो ५०० केजी सुन

मूल्य बढ्दा आयात घट्यो

२०७६ फागुन, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । सुनको मूल्य निरन्तर आकाशिएर कारोबारमा मन्दी आउँदा सुन व्यवसायीहरूले बैंकबाट पहेँलो धातुको खरीदमा कटौती गरेका छन् । व्यवसायीहरूले सुन नकिन्दा अहिले बैंकहरूमा ५०० केजीभन्दा बढी सुन थन्किएको छ ।

नेपाल बैंकर्स संघका अनुुसार फागुन शुरू भएलगत्तै व्यवसायीहरूको बैंकबाट सुन किन्ने क्रम ह्वात्तै घटेको छ । नेपालमा विवाह/व्रतबन्धको सिजन अर्थात् असोज, मंसिर, माघ र फागुनमा बैंकबाट उच्च मात्रामा नै सुन विक्री हुने गरेको थियो । तर, यसपटक फागुनको मध्यसम्म पनि व्यवसायीहरूले बैंकबाट धेरै सुन किनेका छैनन् । 

गतवर्ष प्रतितोला रू. ६० हजारको हाराहारीमा रहेको सुनको मूल्य अहिले रू. ८० हजार पुगेको छ । मूल्य बढेकाले पहिले दैनिक करीब ५० केजी सुन खपत हुने गरेको नेपाली बजारमा अहिले दैनिक १० केजीदेखि १५ केजीसम्म मात्र खपत हुने नेपाल सुनचाँदी व्यवसायी महासंघ बताउँछ । सुनको कारोबार घटेकैले बैंकबाट सुन किन्न कम गरिएको सुनचाँदी व्यवसायीहरूको भनाइ छ ।

व्यवसायीहरूले सुन किन्न छोडेपछि बैंकहरूले पनि अहिले सुनको थप आयात नगरेको बैंकर्स संघको भनाइ छ । ‘मूल्य बढेकाले व्यवसायीहरूले बैंकबाट सुन किन्न छोड्नु भएको छ,’ संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘अहिले हामीसँग ५०० केजी सुन स्टकमा छ । त्यो विक्री नभएसम्म नयाँ सुन आयात गर्दैनौं ।’

साउनको शुरूदेखि नै सुनको मूल्य बढेकाले चालू आवको पहिलो ७ महीनामा सुनको आयातमा धेरै कमी आएको छ । यस अवधिमा १ हजार ६५० केजी अर्थात् रू. ९ अर्ब ४ करोडको सुन आयात भएको छ, जुन परिमाणको आधारमा गत आवको भन्दा ६३ दशलमव ५५ प्रतिशतले कम हो । गत आवको माघसम्म ४ हजार ५२७ केजी अर्थात् रू. २० अर्बको सुन आयात भएको थियो । 

नेपालमा सुन आयात गर्न पाउने अख्तियार वाणिज्य बैंकहरूलाई मात्र छ ।

उनीहरूले दैनिक २० केजीका दरले सुन आयात गर्न पाउँछन् । त्यसपछि बैंकहरूले महासंघको सिफारिशमा सम्बद्ध व्यवसायीलाई त्यो सुन विक्री गर्छन् । महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले कारोबारमा ह्रास आएपछि बैंकबाट सुन किन्न कम गरेको बताए । उनले भने, ‘कारोबार नभएपछि बैंकबाट सुन लिने कुरा आएन । बजारको मागलाई दृष्टिगत गरी बैंकबाट दैनिक १० केजीसम्म सुन किन्ने गरेका छौं ।’

विवाहको सिजन फागुनमा पनि अपेक्षाअनुरूप सुनको कारोबार नभएको शाक्यको भनाइ छ । ‘माघमा सुनको मूल्य प्रतितोला रू. ७५ हजार थियो । त्यसबेला त्यो मूल्य महँगो भए पनि ग्राहकलाई बानी परिसकेको थियो । त्यसैले फागुनमा सुनको कारोबार उच्च मात्रामा हुने अपेक्षा थियो,’ उनले भने, ‘तर, त्यस्तो भएन । अहिले सुनको मूल्य ८० हजारभन्दा माथि पुगेपछि ग्राहकहरूले गरगहाना बनाउन छोडेको देखिन्छ ।’ आवश्यक परेको व्यक्तिले भने पुरानो गरगहना दिएर नयाँ गहना बनाउने गरेको उनको भनाइ छ । न्यूरोडस्थित वराह ज्वेलरीका सञ्चालक बिकास लामगादे पनि अहिले सोचेअनुरूप सुनको कारोबार नभएको बताउँछन् । ‘मूल्य बढे पनि मंसिर, माघजस्ता विवाहका सिजनमा सुनको कारोबार राम्रै भएको थियो । तर, अहिले त्यस्तो छैन,’ उनले भने, ‘सुनको मूल्य अत्यधिक बढ्दा सुनको कारोबारमा ठूलो असर गरेको छ ।’ 

नेपालमा गत साउनयता नै सुनको मूल्य बढ्दै गएको छ । पहिला चीन र अमेरिकाको व्यापारयुद्धका कारण सुनको मूल्य बढेको थियो । त्यसपछि अमेरिका र इरानबीचको तनाव लगायत कारण सुन मूल्य प्रतितोला ७५ हजारसम्म पुगेको थियो । अहिले भने चीनमा फैलिएको कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय व्यापार प्रभावित भएपछि नेपालमा सुनको मूल्य ८० हजारभन्दा माथि पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)