ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारद्वारा नेपाल ट्रष्टको सम्पत्तिबारे श्वेतपत्र जारी

श्वेतपत्र भन्छ, यसअघि ट्रष्टको जग्गा यती समूहलाई लीजमा दिने निर्णय गर्नेहरूमा पूर्वप्रम दाहाल, देउवा पनि 

२०७६ फागुन, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले नेपाल ट्रष्टको नाममा रहेका जग्गा यती समूहको स्वार्थअनुरूप लीजमा दिएकोबारे चर्को टिप्पणी भइरहँदा सरकारले ट्रष्टको चलअचल सम्पत्तिका बारेमा श्वेतपत्र जारी गरेको छ । 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलवार जारी गरेको श्वेतपत्रले यसअघि सत्तारूढ दलकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेका सरकारले पनि यती समूहलाई नेपाल ट्रष्टका अन्य जग्गा लीजमा दिने निर्णय गरेको खुलासा गरेको छ ।

नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका पोखरेलद्वारा जारी श्वेतपत्रका अनुसार दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङलाई लीजमा दिइँदा क्रमशः पुष्पकमल दाहाल र शेरबहादुर देउवा प्रधानमन्त्री रहेका थिए । 

गोकर्ण रिसोर्टसहित नेपाल ट्रष्टका जग्गा यती समूहलाई लीजमा दिइएपछि पछिल्लो समय सत्तारूढ नेकपाभित्रै, प्रतिपक्ष र नागरिक समाजमा समेत प्रधानमन्त्री ओलीको यती समूहसँगको निकटताको चर्को आलोचना हुँदै आएको छ । 

सत्तारूढ दलको पछिल्लो शक्तिसंघर्ष चर्किंदै जाँदा श्वेतपत्र जारी भएको छ । श्वेतपत्र जारी गर्ने कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले श्वेतपत्रमा सबै कुरा आइसकेकाले त्यसबाट सबै स्पष्ट हुने भन्दै कम बोलेका थिए । पत्रकारलाई श्वेतपत्र बाँडेलगत्तै औपचारिक कार्यक्रम सकिएको थियो । केही पत्रकारका जिज्ञासाको जवाफमा उनले यति मात्र भने, ‘सबै कुरा विवरणमा उल्लेख भएकाले त्यो अध्ययन गर्नुहोला । कसले कसको पालामा के गरेको रहेछ सबै स्पष्ट छ ।’ उनको यो भनाइले यती प्रकरणमा वर्तमान सरकार मात्रै दोषी छैन भन्ने आशय प्रस्टाउँछ ।

श्वेतपत्रअनुसार शुरूमा तत्कालीन राजदरबारको डिपार्टमेन्ट अफ क्राउन प्रोपर्र्टी, र एलएम सुभिर ब्रदर्स नेपाल प्रालिका बीच २०५२ साउन ३१ मा गोकर्ण राजनिकुञ्जको जग्गाको लीजमा दिने सम्झौता भएको थियो ।

निकुञ्जको २७९२–०–३–१ रोपनी जग्गामा रिसोर्ट सञ्चालन गर्न ३० वर्षका लागि लीजमा दिइएको थियो । 

त्यसको १५ वर्षपछि २०६७ वैशाखमा सुभिर ब्रदर्स, यति होल्डिङ्स र नेपाल ट्रष्टबीच त्रिपक्षीय पूरक सम्झौता भयो, जसका कारण सो रिर्सोटको सञ्चालनको अधिकार यती होल्डिङ्सलाई आयो । यो त्रिपक्षीय सम्झौता हुँदा सरकारको नेतृत्व माधवकुमार नेपालले गरेका थिए भने गृहमन्त्रीमा भीम रावल थिए । तर, श्वेतपत्रमा दुवैको नाम छैन । 

सुभिर ब्रदर्समा रहेका शेयर यती होलिडङ्समा हस्तान्तरण गर्न स्वीकृति भने तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतम रहेको नेपाल ट्रष्टको सञ्चालक समितिको २०७१ मंसिर २५ गतेको बैठकले दिएको श्वेतपत्रमा उल्लेख छ । 

‘नेपाल ट्रष्ट सञ्चालक समितिका तत्कालीन अध्यक्ष संरक्षक सम्माननीय प्रधानमन्त्री सुशील कोइराला तथा उपप्रधानमन्त्री वामदेव गौतम रहनुभएको ट्रष्ट सञ्चालक समितिको २०७१ साल मंसिर २५ मा बसेको ३४औं बोर्ड बैठकको निणर्यबाट एलएम सुभिर ब्रर्दश (नेपाल) प्रालिमा रहेको शेयर विदेशी लगानीकर्ताबाट यती होल्डिङ्स प्रालिलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गरिएको’ श्वेतपत्रमा उल्लेख छ । 

त्यस्तै, गत पुस २९ गते लीज अवधि सकिनुअगावै यती होल्डिङ्सलाई थप २५ वर्ष लीज नवीकरण गर्ने ओली सरकारको निर्णय भयो । तर, श्वेतपत्रमा प्रधानमन्त्री ओली र रक्षामन्त्री पोखरेलको नाम उल्लेख छैन । 

ओली सरकारले गोकर्ण फरेस्ट रिर्सोटको लीज नवीकरणका लागि नेपाल ट्रष्टको ऐन नै संशोधन गरेर यती होल्डिङ्सलाई दिएको थियो । लीज नवीकरणको चर्को आलोजना भए पनि पोखरेलले जारी गरेको श्वेतपत्रमा भने गोकर्ण रिसोर्ट लीजमा दिने निर्णयले सरकारलाई लाभ मिल्ने दाबी गरिएको छ । गोकर्णको जग्गाको लीज अवधि बढाएका कारण ट्रष्टलाई १ अर्ब रुपैयाँ बढी लाभ मिल्ने उल्लेख छ । लीज अवधि बाँकी छँदै गरिएको नयाँ लीज सम्झौताका कारण पुरानो सम्झौताको बाँकी अवधिमा ४ करोड ३१ लाख रुपैयाँ थप लाभ हुने श्वेतपत्रमा दाबी गरिएको छ । 

नेपाल ट्रष्टको दरबारमार्गको जग्गा यती समूहअन्तर्गतको थामसेर्कु ट्रेकिङलाई दिने निर्णय हुँदा प्रधानमन्त्रीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र ट्रष्टको अध्यक्ष गृहमन्त्री विमलेन्द्र निधि रहेको श्वेतपत्रले उल्लेख गरेको छ । त्यस्तै, ताहाचलको जग्गा थामसेर्कुले नै प्राप्त गर्दा ट्रष्टको संरक्षकको हैसियतमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको र अध्यक्षमा गृहमन्त्री जनार्दन शर्मा रहेको श्वेतपत्रले बताएको छ । थामसेर्कुले २०७४ वैशाख ५ गते दरबार मार्गको १ रोपनी १५ आना जग्गा १ अर्ब ४० करोड रुपैयाँ लीजमा प्राप्त गरेको थियो । त्यस्तै २०७४ कात्तिक १३ गते ताहाचलमा सोल्टी होटलसँगै रहेको २ हजार १ सय ९० वर्गमीटर जग्गा २७ करोड ७४ लाख रुपैयाँमा लीजमा प्राप्त गरेको थियो ।

कार्यक्रममा पोखरेलले ट्रष्टको नाममा रहेको १ सय ७२ रोपनी जग्गा हिनामिना भएको स्वीकार्दै सो जग्गाका बारेमा सरकारले गठन गरेका सरकारी सम्पत्ति खोजबिन गर्ने आयोगसमक्ष उजुरी गरिएको बताए । सो जग्गा व्यक्तिको नाममा नामसारी हुँदा ट्रष्टका संरक्षकमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा नेपाल ट्रष्ट सञ्चालक समितिका अध्यक्षमा तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदार रहेको श्वेतपत्रमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)