ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेकपाभित्र शक्ति संघर्ष चर्किने संकेत

राष्ट्रियसभामा वामदेवको नाम सिफारिश, प्रधानमन्त्रीद्वारा अस्वीकार

२०७६ फागुन, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलो बढ्ने संकेत देखिएको छ । सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्न गरेको निर्णय प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि पार्टीभित्र शक्ति संघर्ष सतहमा आएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान बसेको सचिवालय बैठकले गौतमलाई पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो । फागुन २० गतेपछि सरकारबाट मनोनीत डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुँदै छ । रिक्त हुने सो कोटामा पार्टीका उपाध्यक्ष गौतमलाई मनोनीत गर्न सचिवालयले निर्णय गरेको हो । बैठकमा यो प्रस्ताव पारित हुँदा प्रधानमन्त्री ओली मौन बस्नुभएको थियो । 

आफूसँग विस्तृत छलफल नगरी बाहिरबाटै निर्णय गरी ल्याइएको भन्दै ओलीले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष गौतमलाई सिफारिश नगर्ने चेतावनी दिनुभएको छ । सचिवालय बैठकपछि बालुवाटारमा वरिष्ठ नेता माधव नेपाललाई बोलाएर ओलीले गौतमलाई सिफारिश नगर्ने, खतिवडालाई नै निरन्तरता दिने बताउनुभयो ।

प्रधानमन्त्रीले आफ्ना विश्वासपात्र अर्थमन्त्री डा. युवराज खतिवडालाई पुनः राष्ट्रिय सभामा ल्याएर अर्थमन्त्रीमै निरन्तरता दिन चाहनुभएको छ । आफू निकट गोकुल बास्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले डा. खतिवडालाई सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिनुभएको छ । यसबाट प्रधानमन्त्रीले पार्टीभित्र खतिवडालाई स्थापित गर्न चाहेको सन्देश मिल्छ । तर, बुधवारको सचिवालय बैठकले राष्ट्रिय सभाका लागि गौतमको नाम सिफारिश गरेपछि ओली खुलेरै खतिवडाको पक्षमा लाग्नुभएको छ । 

गौतम संविधान संशोधन गरी राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गरेर मात्र राष्ट्रिय सभामा जान खोजेका थिए । यस विषयमा काम गर्न पूर्वप्रधानमन्त्री माधव नेपालको नेतृत्वमा ‘गोप्य’ कार्यदल पनि बन्यो । तर गोप्य कार्यदलको बारेमा कुरा बाहिर आएपछि कार्यदल कामै नगरी ‘तुहिएको’ छ ।

बुधवारको सचिवालय बैठकमा पनि कार्यदललाई स्थगित गर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए । संविधान संशोधनको खेल असफल भएपछि गौतमले सांसद मात्रै बन्न भए पनि राष्ट्रिय सभामा जाने इच्छा देखाएका छन् । 

पार्टी स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली खतिवडाको पक्षमा खुलेर लागेपछि सचिवालयको निर्णयका बारेमा पनि संशय उत्पन्न भएको छ । स्रोतका अनुसार अध्यक्ष ओलीले आफूविरुद्ध ‘खेल’ खेलिएको र त्यसको सामना गर्न आफू तयार रहेको बताएका   छन् । 

सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले वामदेवलाई राष्ट्रिय सभामा मनोनीत गर्न सरकारलाई अनुरोध गर्ने निर्णय भएको बताएका थिए । प्रवक्ता श्रेष्ठका अनुसार उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बैठकले सर्वसम्मत रूपमा गरिएको थियो । सचिवालयले सर्वसम्मत गरेको निर्णयलाई प्रधानमन्त्री ओलीले चुनौती दिएपछि सत्तारुढ दलभित्र शक्ति संघर्ष थप चर्किने संकेत देखिएको छ ।ओली पक्षका नेताहरूले वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको तर त्यो कहिले भन्ने कुरा नभएको बताएपछि पार्टीभित्रको किचलो सार्वजनिक भएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)