ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीनसँग जोडिएका नाका खुल्न अझै केही समय लाग्ने

२०७६ फागुन, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । कोरोना भाइरसका कारण १ महीनादेखि बन्द रहेका चीनसँग जोडिएका मुख्य उत्तरी नाका सुचारु हुन अझै केही समय लाग्ने देखिएको छ । चीनमा कोरला भाइरस संक्रमण पूर्णरूपमा नियन्त्रणमा आइनसकेकोले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्र्दै मुख्य नाका खोल्न हतार नगरिने सरकारी अधिकारीहरूले बताएका छन् ।

नेपाल–चीन व्यापारका दुई मुख्य नाकाहरू रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी माघ १५ यता पूर्णरूपमा बन्द छन् । दुई मुख्य नाकाहरू बन्द हुँदा नेपाली व्यापारीका ५०० भन्दा बढी कन्टेनर चीनको केरुङ र खासामा रोकिएका छन् । ती कन्टेनरमा रू. ३ अर्बभन्दा बढीका वस्तु तथा सामग्री रहेको व्यापारीहरूको भनाइ छ । 

उत्तरी नाका खुलाउने/नखुलाउने बारेमा यो साता चार मन्त्रालयका वरिष्ठ अधिकारीहरूको बैठक बसेको थियो । अर्थ, गृह, स्वास्थ्य र वाणिज्य सचिवहरूको सो बैठकले उत्तरी नाकाहरूमा स्वास्थ्य परीक्षणका उपकरण उपलब्ध नभएसम्म नाका सुचारु गर्ने अवस्था नरहेको निष्कर्ष निकालेको थियो । 

चीनबाट आउने मानिसको स्वास्थ्य परीक्षणको व्यवस्था नाकामै गर्न उपकरण पर्याप्त भइनसकेकाले तत्काल नाका खोलिहाल्ने अवस्था नरहेको अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले बताए । खत्रीका अनुसार नाका सुचारु गर्ने भन्दा पनि मुलुकको सुरक्षालाई सरकारले तत्कालको प्राथमिकतामा राखेको छ ।

‘संक्रमणको त्रास कायमै छ, चीनबाट ल्याइएका विद्यार्थीलाई अझै क्वारेन्टाइनमै राखिएको छ । मुलुकको सुरक्षालाई दृष्टिगत गर्दै नाका निर्बाध सञ्चालनमा आउन समय लाग्ने देखिएको छ,’ उनले बताए । नाकामा स्वास्थ्य परीक्षणका लागि पर्याप्त उपकरणको व्यवस्था गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘संक्रमण कम भएपछि उचित सुरक्षा प्रणाली अपनाई निर्बाध रूपमा नाका सञ्चालनमा ल्याइनेछ,’ उनले बताए ।

त्यस्तै भनाइ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि छ । सीमालाई कडा निगरानीमा राख्न चुनौती रहेको बताउँदै चेकजाँचलाई चुस्त पारेर छिट्टै नाका खुलाउनेबारे छलफल अघि बढेको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडको भनाइ छ । उनका अनुसार मन्त्रालयको पहलमा सीमा नाकामा चेकजाँच बलियो बनाउनेबारे अर्थ, वाणिज्य, गृह, स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू निरन्तर छलफलमा छन् । 

कोरोना संक्रमणका कारण आयातसँगै आवतजावत ठप्प हुँदा चिनियाँ श्रमिक संलग्न रहेका केही महत्त्वपूर्ण पूर्वाधार आयोजनाको काम समेत प्रभावित बनेको छ । दुई मुख्य नाका अझै लामो समय बन्द भएमा बजारमा चीनबाट आयात गरिने वस्तुको अभाव हुने व्यवसायी बताउँछन् । नेपालले चीनबाट आयात गर्ने मुख्य वस्तुहरूमा इलेक्ट्रोनिक वस्तुहरू, मेशिनरी सामग्री, तयारी पोशाक, खेलौना, दूरसञ्चार सामग्री, फूटवेयर तथा रबर/प्लास्टिक, विद्युतीय बत्ती लगायत पर्छन् ।

नेपालको वैदेशिक व्यापारमा मुख्य हिस्सा ओगट्नेमा भारतपछि चीन दोस्रो स्थानमा आउँछ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ७ महीनामा नेपालले चीनबाट १ खर्ब ३२ रुपैयाँको आयात भएको छ भने नेपालबाट रू. १ अर्ब ६ करोड मुल्य बराबरको वस्तु निर्यात भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)