ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमालेख धितो कर्जा ५७% ले बढ्यो

२०७६ फागुन, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । जीवन बीमा कम्पनीले बीमालेख धितो राखेर बीमितलाई दिने कर्जा चालू आर्थिक वर्षको पहिलो ६ महीनामा ५६ दशमलव ६७ प्रतिशतले बढेको छ । 

नेपालमा १९ जीवन बीमा कम्पनीहरूले पुस मसान्तसम्ममा  ४० अर्ब ७ करोड रुपैयाँ बराबरको यस्तो कर्जा प्रवाह गरेका छन्, जुन गत आवको सोही अवधिको भन्दा रू. १४ अर्ब ४९ करोड बढी हो । गत आवको सोही अवधिमा २५ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

पछिल्लो समय बीमित (बीमा गर्ने व्यक्ति)को संख्या तथा बीमाशुल्क संकलन बढ्दै गएकाले बीमालेख धितो राखेर कर्जा लिने बीमितको संख्या पनि बढ्दै गएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले पनि बीमाको दायरा तथा व्यवसाय बढेकै कारण बीमालेख धितो कर्जा प्रवाह बढेको बताउँछन् ।

यद्यपि, बीमालेख धितो कर्जा प्रवाहका कारण अस्वस्थ प्रतिस्पर्धाको विकास हुन लागेको प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईको भनाइ छ । ‘यस्तो कर्जाले बीमितलाई घर खर्च र भइपरी आउने आर्थिक समस्या समाधान गर्न मद्दत पुगेको छ, जसअनुसार यो बीमामा आकर्षणको विन्दु बनेको छ,’ उनले भने, ‘तर, कम्पनीहरूले भए÷नभएका प्रलोभन देखाएर बीमितलाई कर्जा दिने गरेका छन् । यसका अलावा कर्जा प्रवाहमा तोकिएको मापदण्ड पनि पूरा नगरेको जस्तो देखिन्छ ।’ 

साथै, अभिकर्ताले कमिशनका लागि बीमितलाई कर्जा लिन लगाएर नयाँ बीमालेख विक्री गर्ने गरेको पनि उनी बताउँछन् । ‘यसरी अहिले बीमालेख धितो कर्जा प्रवाहमा अस्वस्थ प्रतिस्पर्धा हुन लागेको छ । यसबाट बीमितहरू सचेत हुनुपर्ने देखिन्छ,’ उनले बताए ।

यस्तै, कर्जा लिएकामध्ये अधिकांश बीमितले बीमालाई निरन्तरता दिन नसकेको उनको भनाइ छ । ‘ऋण लिइसकेपछि बीमितले बीमाशुल्कसँगै कर्जाको किस्ता पनि तिर्नुपर्ने हुन्छ । अधिकांश बीमितले त्यो दोहोरो आर्थिक भारवहन गर्न सकेका छैनन्,’ उनले बताए, ‘फलस्वरूप धितोमा राखिएका बीमालेखमध्ये करीब ६० प्रतिशत बीमालेख नवीकरण नहुने (ल्याप्स) गरेको छ ।’ 

कम्पनीहरूले सामान्यतया १० प्रतिशत ब्याजदरमा यस्तो कर्जा प्रवाह गर्दै आएका छन् । यस्तो कर्जाको ब्याजमार्फत कम्पनीहरूले यो ६ महीनामा रू. १ अर्ब ८६ करोड आम्दानी गरेका छन् । कम्पनीहरूले बैंकको मुद्दती निक्षेपमा पैसा लगानी गर्दा ८ दशमलव ५ प्रतिशत मात्र ब्याज पाउँछन्, जसअनुसार बैंकमा राख्नुभन्दा बीमितलाई कर्जा प्रवाह गर्दा बढी फाइदा हुने कम्पनीहरूको भनाइ छ । पछिल्लो समयबाट बीमालेख धितो कर्जाबाट पनि राम्रो आम्दानी हुन थालेको कम्पनीहरू बताउँछन् ।

यस्तो कर्जाले बीमितहरूलाई साना तथा घरेलु व्यवसाय शुरू गर्न पनि सहज बनाएको बीमा कम्पनीहरूको दाबी छ । कतिपय बीमितले यस्तो कर्जा लिएर व्यवसाय शुरू गरेको र त्यसबाट हुने आम्दानीले बीमाशुल्क र कर्जाको किस्ता पनि तिर्ने गरेको कम्पनीहरू बताउँछन् ।

बीमालेख धितो कर्जा प्रवाह गर्ने मामलामा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । पुससम्म उक्त कम्पनीले रू. १५ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ । यस्तै, एलआईसी नेपालले रू. ११ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ । यसैगरी नेशनल लाइफ इन्स्योरेन्सले रू. ४ अर्ब ३० करोड कर्जा प्रवाह गरेको छ ।

बीमितले एकल बीमाशुल्क भुक्तानीमा बाहेक बीमा गरेको २ वर्षपछि सम्बद्ध कम्पनीबाट यस्तो सुविधा उपभोग गर्न सक्छन् । बीमितले समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा पाउन सक्ने प्रावधान छ । बीमितले सो अवधिसम्म भुक्तानी गरेको बीमाशुल्क, आर्जित बोनस, बाँकी बीमा अवधि लगायत सूत्र प्रयोग गरेर समर्पण मूल्य निकालिन्छ । समर्पण मूल्य भनेको बीमितले नै पाउने रकम हो । बीमाशुल्क पनि भुक्तानी नभएको र कर्जा पनि चुक्ता नगरेको अवस्थमा बाँकी रहेको समर्पण मूल्यमार्पmत दुवै पक्षको हिसाब मिलान हुनेगरी कर्जा प्रवाह गरिएको हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)