ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बगरफाँट बस्ती संरक्षण आयोजना शुरू 

२०७६ फागुन, १६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट जोगाउन बस्ती संरक्षण आयोजना शुरू भएको छ । रूपाताल संरक्षण एकीकृत विकास परियोजना, कास्कीको ५० लाख रुपैयाँ लागतमा बगरफाँटको दुधेखोलादेखि बांगेघरासम्म करीब २ किलोमिटर क्षेत्रमा ग्याबिन जाली भरेर तटबन्ध गर्न लागिएको हो । संघीय सांसद भूपेन्द्रबहादुर थापाको पहलमा रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले बगरफाँटको बस्ती संरक्षणका लागि डीपीआर तयार गरी १ वर्षभित्र काम सम्पन्न गर्नेगरी संरक्षण आयोजनाको काम शुरू भएको बगरफाँट–म्याग्दीखोला नदी नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताए ।

अध्यक्ष कार्कीका अनुसार यस वर्ष नदी कटानबाट अतिप्रभावित क्षेत्र जरुवादेखि डम्मराको पुलसम्म ४०० थान जाली भर्ने योजना छ । विगत ३ दिनदेखि दैनिक २६ जना मजदूरले ग्याबिन लगाउने काम गरिरहेका छन् । २०५७ सालमा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तर रूपमा म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षमा सामान्य ग्याबिन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भए पनि त्यो प्रभावकारी भएको थिएन । 

करीब २०० घरधुरीको बसोवास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहे पनि बर्खामा भने नदी कटानका कारण सधैं जोखिममा रहने गरेको स्थानीयले बताएका छन् ।

गतवर्ष स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त रू. १० लाखबाट नदीजन्य वस्तुको स्थानान्तरण गराई उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम गरिएको अध्यक्ष कार्कीले बताए ।

अध्यक्ष कार्कीका अनुसार म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका–६ डम्मराका बासिन्दाको आपसी सहमतिमा म्याग्दी नदीको करीब ५ मिटर क्षेत्रबाट एक्स्याभेटरको प्रयोग गरी नदीजन्य वस्तु (ढुंगा, गेगर, बालुवा) आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको थियो । नदीले बगरफाँटको करीब १ सय ५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र, पलासे र जरुवा उच्च जोखिममा परेका छन् । बगरफाँट सदरमुकाम बेनीबजारसँगै जोडिएको कृषिका लागि उर्वर फाँट भएको गाउँ हो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)