पर्वत । पर्वतको देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइन विस्तारमा स्थानीयले अवरोध गरेका छन् । पर्वतको मोदी गाउँपालिका–१ शेराबेँशीका बासिन्दाले लाइन स्थानान्तरणको माग गर्दै काममा अवरोध गरेका हुन् ।
देउपुरमा सबस्टेशन निर्माण सकिए पनि स्थानीयको अवरोधका कारण आयोजनाको टावर नम्बर ११, १२ र १३ निर्माण रोकिएको छ । प्रसारण लाइनले सिंगो बस्ती, विद्यालय र खेतीयोग्य जमीनमा असर पुर्याउने भएपछि आफूहरूले बाध्य भएर काम रोकेको स्थानीयले बताएका छन् । आफूहरू आयोजनाको काम रोक्ने पक्षमा नरहेको तर भविष्यमा हुन सक्ने क्षतिलाई दृष्टिगत गरी त्यसको विकल्प खोज्नुपर्ने उनीहरूको भनाइ छ ।
१२० केभीए प्रसारण लाइन विस्तार गर्न लागिएको प्रभावित क्षेत्रमा १५ घरधुरी बसोवास गर्दै आएका छन् । यस्तै लाइन विस्तार क्षेत्रमा नवज्योति थम मावि र खेतीयोग्य जमीन समेत भएकाले आफूहरू काम रोक्न बाध्य भएको स्थानीय तुलक अधिकारीले बताए । ‘आयोजनाले बस्तीलाई नै असर पुग्नेगरी लाइन विस्तार गर्न थालेपछि हामी विरोध गर्न बाध्य भएका हौं,’ उनले भने, ‘सहज रूपमा अन्य स्थानबाट विस्तार गर्न सकिने विकल्प दिएकै छौं ।’ आयोजना पक्ष स्थानीयसँग सल्लाह नगरी भाग्दै आएको उनले दाबी गरे ।
प्रसारण लाइनका कारण बस्ती, विद्यालय र खेतीयोग्य जमीन समेत प्रभावित हुने भएकाले दुङदुङे भीरको छेउछाउ पारेर लाइन विस्तार गर्दा स्थानीयलाई समस्या नहुने अधिकारीले बताए । ‘आयोजना पक्षले शुरूमा सोही क्षेत्रमा सर्भे गरेको थियो,’ उनले भने, ‘पछि प्राविधिकले बदमासी गरेर बस्तीको बीचबाट लाइन विस्तार गर्न थालेपछि हामीले काम रोकेका हौं, पहिला सर्भे गरिएकै स्थानबाट लाइन लगे हामी पूर्णरूपमा सहयोग गर्छौं ।’ लाइन विस्तारको स्थान परिवर्तन गर्न स्थानीयले मोदी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारका ऊर्जामन्त्रीलाई समेत गुहार्दा पनि आयोजनाले बेवास्ता गरेको उनीहरूको गुनासो छ ।
नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना प्रमुख रोशन अग्रवालले स्थानीयसँग सहमति गरेरै आफूहरू काम गर्ने पक्षमा रहेको बताए । लाइनले बस्तीमा कुनै असर नपर्ने अवगत गराउँदा पनि स्थानीयले अवरोध गरेपछि काम गर्ने वातावरण नबनेको उनको भनाइ छ । ‘अहिले डिजाइन भएको स्थानभन्दा माथिबाट लैजाँदा भीर र घर पर्ने र तलबाट लैजाँदा मोटरेबल पुल र झोलुंगे पुलका कारण क्लियरिङ एरिया पुग्दैन,’ उनले भने, ‘अहिलेकोे डिजाइनअनुसार काम गर्दा कसैलाई असर पर्दैन । त्यसैले लाइन स्थानान्तरण गर्ने सम्भावना नै छैन ।’
पर्वतको मोदीखोला र कास्कीको सेतीनदीमा निर्माण हुने विद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन निर्माण गर्न लागिएको हो । मोदी गाउँपालिका–२, देउपुरदेखि कास्कीको पोखरा महानगरपालिका लेखनाथसम्म निर्माण हुने उक्त लाइन ४२ किलोमिटर लामो छ । भारतीय एक्जिम बैंकको सहयोग र नेपाल सरकारको समेत लगानीमा २ अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारण लाइनमा १३८ ओटा टावर निर्माण हुनेछन् । आयोजनाको निर्माण आगामी जुनसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।