ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय : बजेट निकासा नहुँदा पूर्वाधार निर्माण सुस्त

Mar 3, 2020  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरमा सुुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भएको १ दशक पुग्दै छ । २०६७ सालमा स्थापना भएको विश्वविद्यालयको केन्द्रीय कार्यालय हालसम्म पनि भाडाको भवनमा सञ्चालन भइरहेको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यलय तथा उपकुलपति र रजिस्ट्रारका निवास  पनि भाडाको घरमै छन् ।
  
विश्वविद्यालयका आफ्नै भौतिक संरचना नहुँदा भाडामा वर्षेनि लाखौं रुपैयाँ खर्च भइरहेको छ । हाल केन्द्रीय कार्यालयको भवनको मासिक ६० हजार र परीक्षा नियन्त्रण कार्यालयको ४० हजार रुपैयाँ मासिक भाडा विश्वविद्यालयले भुक्तानी गरिरहेको छ । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका प्रवक्ता एवम् सह–प्रशासक गोविन्दबल्लव पन्तले बजेट निकासा नहुँदा संरचना निर्माणमा ढिलाइ भएको  बताए । ‘लामो समयदेखि विश्वविद्यालयको बजेट विनियोजन नहँुदा संरचना निर्माण सुस्त छ,’ उनले भने ।

विश्वविद्यालयले निर्माण शुरू गरेको केन्द्रीय क्याम्पस अन्तर्गतका विभिन्न संकायका भवन योजना अनुसार निर्माण हुन नसकेको उनले बताए ।

केन्द्रीय क्याम्पसमा निर्माणाधीन इन्जिनियरिङ भवनको डिजाइन तीन तलाको बनाइएको थियो । तर गतवर्ष एक तलाको निर्माण सम्पन्न भए पनि बाँकी दुई तला थप्ने काम ठप्प छ । त्यस्तै केन्द्रीय क्याम्पसकै व्यवस्थापन संकायको भवन पनि दुईतले निर्माण गर्ने योजना भए पनि एकतलेमै सीमित छ । 

महेन्द्रनगरकै सालघारीमा निर्माणाधीन केन्द्रीय कार्यालयको डिजाइन पनि तीन तलाकै हो । उक्त भवनको एक तलाको काम गतवर्ष सम्पन्न भएको छ । निर्माण पक्षले अन्तिम किस्ता निकासा भए उक्त भवन हस्तान्तरण गरिने बताएको छ । प्रवक्ता पन्तका अनुसार करीब २ करोड ५० लाख रुपैयाँ अन्तिम किस्ता निकासा भए भवन हस्तान्तरण हुनेछ ।

विश्वविद्यालयमा विज्ञान संकायको पठनपाठनका लागि भवनको अभाव छ । तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसको छात्रावासमा विज्ञान संकायको पढाइ भइरहेको छ । शिक्षा संकायको प्रशानिक भवनमा पनि विश्वविद्यालय तल थप्ने योजना छ । 

गतवर्ष साढे ६ करोड रुपैयाँमा इन्जिनियरिङ भवन र साढे ८ करोड रुपैयाँ लागतमा केन्द्रीय कार्यालय भवनको पहिलो तला निर्माण भएको थियो । ‘विद्यार्थीको सुविधाका लागि अन्तरराष्ट्रिय स्तरको होस्टेल, विज्ञान संकायको भवन लगायत भौतिक संरचना बनाउन योजना छ,’ पन्तले भने, ‘तर यी सबै योजनाको काम बजेट अभावकै कारण अघि बढ्न सकेको छैन ।’ विश्वविद्यालयको दीर्घकालीन योजना थुप्रै भए पनि समयमै बजेट पारित नहुँदा योजनाहरू अलपत्र भएको उनको भनाइ छ ।

पटक–पटकको तालाबन्दीसँगै लामो समयदेखि विश्वविद्यालय नेतृत्वविहीन भएकाले पनि भौतिक पूर्वाधार निर्माण सुस्त बनेको अधिकांशको बुझाइ छ । विश्वविद्यालयको खातामा २ वर्षदेखि पूँजीगत खर्चबापतको ४८ करोड रुपैयाँ थन्किएको छ । 

विगत १७ महीनादेखि विश्वविद्यालयको सिनेट बैठक बस्न नसक्दा योजनाअनुसार बजेट निकास हुन सकेको छैन । ‘योजनाका लागि आवश्यक बजेट सिनेटले निकासा गर्ने  हो,’ प्रवक्ता पन्तले भने,  ‘लामो समयदेखि बैठक नबस्दा बजेट पारित हुन सकेको छैन ।’ विश्वविद्यालय अनुदान आयोगबाट आएको उक्त बजेट पास हुन नसकेर खर्च हुन नसकेको हो । त्यस्तै विश्वविद्यालयका पदाधिकारी नियुक्तिले नित्याउने गरेको विवादका कारण पनि विश्वविद्यालयको संरचना निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । साथै विगत १ महीनादेखि विश्वविद्यालय उपकुलपतिविहीन अवस्थामा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)