ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भ्रमण वर्षको अन्योल कायमै 

Mar 3, 2020  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रभाव आकलन गर्दै एकपछि अर्को निर्णय गर्दै आए पनि नेपाल भ्रमण वर्ष २०२० स्थगन भएको हो कि होइन भन्ने स्पष्ट भएको छैन । सरकारले मार्च ७ देखि सम्पूर्ण मुलुकका लागि अन अराइभल भिसामा रोक लगाउँदै कोरोनाको रोकथाम एवम् पूर्वतयारीका कार्यहरू तत्काल थाल्ने निर्णय गरेको छ । तर, भ्रमण वर्षलाई नै स्थगित गर्ने वा निरन्तरता दिने भन्ने विषयमा ठोस निर्णय नआउँदा भ्रमण वर्ष अन्योलमा परेको छ । 

आइतवार बेलुकी अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा भ्रमण वर्ष स्थगित गरी २०२२ मा सार्ने प्रस्ताव आएको भनिए पनि यस विषयमा कुनै ठोस निर्णय बाहिर नआएपछि भ्रमण वर्षको तालुकदार मन्त्रालय र भ्रमण वर्ष सचिवालय नै भ्रमण वर्ष के हुने भन्नेमा अन्योल देखिन्छन् । सरकारले भ्रमण वर्षका बारेमा सरोकारवालाहरूसँग के गर्दा उपयुक्त होला भन्नेमा न छलफल गरेको छ, न त गर्न खोजिएका उपायबारे जानकारी नै आएको छ । आइतवारको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्षका बारेका के निर्णय गरेको छ भन्ने विषयमा सोमवारसम्म पनि स्पष्ट तथ्य बाहिर आउन सकेन । मन्त्रिपरिषद् बैठकका निर्णयबारे सञ्चारमाध्यमलाई हरेक बिहीवार मात्रै जानकारी दिने प्रचलनले मन्त्रिपरिषद्का निर्णयबारे सूचना पाउनसमेत मुश्किल भएको छ । मन्त्रिपरिषद् बैठकमा भ्रमण वर्ष स्थगित गरी २०२२ मा गर्ने भन्ने प्रस्ताव आएको आपूmले सुनेको तर यसबारेमा औपचारिक रूपमा केही थाहा नभएको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए ।

‘कोरोनाका कारण नै पर्यटन मन्त्रालयले विदेशमा गरिने पर्यटन प्रर्वद्धनका कार्यक्रम स्थगित गरेको छ । तर, भ्रमण वर्षलाई स्थगित गर्ने वा कुन रूपमा अगाडि बढाउने भन्ने विषयमा अभैm स्पष्टता छैन,’ उनले भने । कोरोनाको प्रभावका कारण भ्रमण वर्षले लिएका लक्ष्य पूरा हुन कठिन देखिने बताउँदै उनले यस विषयमा उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वको उच्चस्तरीय समितिले काम गरिरहेको हुन सक्ने बताए । 

भ्रमण वर्ष स्थगित भएको वा नभएको भन्ने बारेमा आफूलाई कुनै जानकारी नआएको भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यको भनाइ छ । ‘भ्रमण वर्षका बारेमा सरकारले के गर्न खोजिरहेको छ भन्नेबारे म आफै अन्योलमा छु । कतिपय निर्णय बाहिर आएका छन् तर यसबारेमा भ्रमण वर्ष सचिवालयसँग कुनै छलफल वा सल्लाह गरिएको छैन,’ उनले भने । यो अथवा त्यो निर्णयका आधारमा विदेशबाट आउने मानिस रोक्नुभन्दा कोरोनाको संक्रमण देखिए त्यसको समाधान गर्न हाम्रो पूर्वतयारी के छ भन्ने कुरा महत्त्वपूर्ण हुने वैद्यले बताए । संयोजक वैद्यले पछिल्ला घटनाक्रम र सरकारी निर्णयपछिको अवस्थाबारे मंगलवार पर्यटन मन्त्रीसँग भेटेर कुरा गर्ने समेत जानकारी दिए । आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा विभिन्न सरकारी निकायका प्रमुखहरूको मन्त्रालयमा बसेको बैठकले कोरोनाको सम्भावित जोखिम न्यूनीकरण गर्न तथा सतर्कताको काम गर्न विभिन्न निर्णय गरेको थियो । नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्चमा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रमहरू हाललाई स्थगन गर्ने, नेपालले उडान रोक्नुपर्ने वा नपर्ने सम्बन्धमा २ दिनभित्र नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिवेदन पेश गर्नेलगायत निर्णय गरिएको थियो । यसैबीच सरकारले नेपाली नागरिकलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर पैmलिएपछि सरकारले सोमवार ट्राभल एड्भाइजरी जारी गरेको हो । सरकारले वैदेशिक रोजगारीमा जाने योजना तत्कालका लागि स्थगित गर्न, दक्षिण कोरियामा ईपीएल प्रणालीबाट कामदार नपठाउन र अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई एनओसी (नो अब्जेक्शन लेटर) दिन रोक लगाइएकोे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । मन्त्रालयले कोरोना भाइरसको गम्भीर संक्रमण देखिएका देशहरूमा अत्यावश्यक काममा बाहेक नजान नै आग्रह गरेको छ ।

पाँच मुलुकबाट हुने उडानमा रोक लगाउन सर्वोच्चको अन्तरिम आदेश 
सोमवार सर्वोच्च अदालतले छिमेकी मुलुक चीनसहित जापान, दक्षिण कोरिया, बहराइन र इरान गरी पाँच मुलुकबाट हुने सीधा र ट्रान्जिट फ्लाइटको उडानमा रोक लगाउन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारलाई जोखिमको पूर्वमूल्याङ्कन र विश्लेषण गर्न सोमवार यो आदेश दिएको हो ।

अधिवक्ता पूर्ण राजवंशीले कोरोना भाइरसको जोखिम बढेको उल्लेख गर्दै सरकारले आवश्यक व्यवस्था नगरेको भनी सर्वोच्चमा दिएको रीटमा अदालतले आमजनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महीनाका लागि अन्तरराष्ट्रिय विमानको अवतरणमा रोक लगाउन र ती देशका नागरिकलाई स्वास्थ्य परीक्षणविना प्रवेश नगराउन मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयका नाममा आदेश दिएको हो । यस्तै शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्काल आइसोलेशन र क्वारेन्टाइनमा राखी छुट्टै उपचारको व्यवस्था मिलाउन र स्थलमार्ग तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट व्यक्तिहरू प्रवेश गर्ने स्वदेशी वा विदेशी नागरिकको अनिवार्य रूपमा कोरोना भाइरसको गम्भीर परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)