ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरामा कोरोना नियन्त्रणको पूर्वतयारी : आइसोलेशनका लागि ६० बेड तयार, ५० बेड थपिँदै

Mar 4, 2020  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । कोरोना भाइरसको संक्रमण रोक्न पोखरामा पूर्वतयारी थालिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल समेत कोरोना भाइरसको उच्च जोखिममा रहेको सार्वजनिक गरेपछि सतर्कता अपनाउन शुरू गरिएको हो ।

सम्भाव्य जोखिम नियन्त्रणका लागि गण्डकी सरकारले पोखराका विभिन्न अस्पतालको समन्वयमा ४ दर्जनभन्दा बढी बेड तयारी अवस्थामा राखेको छ । पोखराको चरक अस्पतालमा २७, गण्डकी मेडिकल कलेजमा १५, मनिपाल अस्पतालमा १५ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३ बेड तयारी अवस्थामा राखिएको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले जानकारी दिइन् ।

उनका अनुसार पोखराको आईएनएफको प्रांगणमा टेन्ट राखेर थप ५० बेड तयार गर्न लागिएको छ । बेड छुट्ट्याएको अस्पतालका कर्मचारीलाई अस्पतालमै पुगेर तालीम दिन लागिएको छ । पोखरामा चिनियाँसहित बाह्य पर्यटकको उच्च आगमन हुने गर्छ । सोही कारण उक्त भाइरस भित्रन सक्ने सम्भावना बढी रहेको भन्दै उच्च सतर्कता अपनाइएको प्रदेश सरकारले बताएको छ । 

सम्भाव्य जोखिमलाई दृष्टिगत गरी प्रदेश सरकारले १ महीना अघिदेखि नै सतर्कता अपनाउँदै उपचारात्मक, प्रवद्र्धनात्मक र प्रचारात्मक कार्यका लागि ‘टास्क फोर्स’ गठन गरिसकेको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माको संयोजकत्वमा गठित टोलीले उक्त काम गर्दै आएको छ । प्रदेश सरकारले प्रदेशका दुई स्थानमा हेल्थ डेस्कको स्थापना गरेको छ । हवाईमार्गमार्फत पोखरा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको अवस्था बुभ्mन पोखरा विमानस्थलमा १ महीनादेखि हेल्थ डेस्क सञ्चालनमा छ । विमानस्थलबाट पोखरा भित्रिने यात्रुहरूको ज्वरो, रुघाखोकीको जाँच गरिँदै आएको छ । हालसम्म कुनै व्यक्तिमा पनि कोरोनाको संक्रमण नदेखिएको बताइएको छ । प्रदेश सरकारले जोखिमलाई ध्यानमा राख्दै थप ४७५ ओटा ‘पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट’ किन्ने तयारी थालेको मन्त्री पुनले बताइन् । प्रदेश सरकारले उत्तरी नाका कोरला नजिकै मुस्ताङको लोमन्थाङमा समेत हेल्थ डेस्क स्थापना गरी आठ कर्मचारी खटाएको छ । पोखराका पर्यटन व्यवसायीले कोरोनाबाट बच्ने उपायबारे जानकारी दिने उद्देश्यले चेतनामूलक अभियान शुरू गरेका छन् पोखरा महानगरपालिका प्रमुख मानबाहदुर जिसीले कोराना भाइरसबाट आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए । ‘कोरोना मात्र नभई हरेक भाइरसको संक्रमणबाट बच्नुपर्छ,’ उनले भने, ‘कोरोनाको संक्रमण आउन नदिन हामी सचेत छौं ।’

पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले चीनबाट फैलिएको कोरोना भाइरसले पोखराको पर्यटन व्यवसायमा धक्का पुगेको बताए । ‘चीनका पर्यटक पोखरा भित्रिने मुख्य समय यही हो,’ उनले भने, ‘मुख्य सिजनमा कोरोना फैलियो, जसले पोखराको पर्यटन व्यवसायमा असर परेको छ ।’

जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै सचेतना अपनाउन आग्रह गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले पोखरा विमानस्थल र लेकसाइड क्षेत्रमा हेल्थ डेस्क स्थापनाका साथै पम्प्लेट वितरण गरी सचेतना कार्यक्रम सञ्चालन भइरहेको बताए ।

पोखरा उच्च जोखिममा
पोखरा कोरोना भाइरसको उच्च जोखिममा रहेको चिकित्सकहरूले बताएका छन् । पोखरामा हवाई उडान र सडक मार्ग हुँदै विभिन्न देशका पर्यटकको आगमन हुने भएकाले कोरोना भाइरस भित्रन सक्ने सम्भावना बढी रहेको डा. नवीनकुमार श्रेष्ठले बताए । यसबाट बच्न उच्च सतर्कता अपनाउन उनले सरकारलाई आग्रह गरे । ‘आन्तरिक तथा बाह्य पर्यटकको आगमनसँगै विभिन्न सामग्रीको आयातले पोखरा क्षेत्र कोरोना भाइरसको उच्च जोखिममा छ,’ उनले भने, ‘सरकारले पर्याप्त सावधानी अपनाउँदै व्यवस्थित रूपमा पूर्वतयारी गर्नुपर्छ ।’

कोरोना भाइसरको उपचारका लागि आवश्यक पर्सनल प्रोटेक्सन इक्वीपमेन्ट (पीपीई) पोखराका अधिकांश अस्पतालमा नभएको उनले बताए । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबन्धु शर्माले पोखरा क्षेत्रमा कोरोना भाइरसको जोखिम उच्च भएकाले आफूहरूले तयारी शुरू गरेको बताए । आफूहरूसँग पीपीई २४ सेट रहेको र बाँकी ३५० ओटा खरीद प्रक्रियामा रहेको उनको भनाइ छ । कोरोना संक्रमण भएको शंका लागेमा परीक्षणका लागि काठमाडौं पठाउने तयारीसमेत गरिएको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)