ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुस्ताङको थकाली सामुदायिक होमस्टे : पर्यटकको सुविधाका लागि अनलाइन बुकिङ

Mar 4, 2020  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनी गाउँमा सञ्चालित थकाली सामुदायिक होमस्टेले पर्यटकको सुविधाका लागि अनलाइनबाटै बुकिङ गर्न सकिने व्यवस्था गरेको छ । पर्यटकीय सिजनमा मुस्ताङ पर्यटक चाप बढ्ने हुँदा होमस्टेमा आउन चाहनेलाई फर्काउनुपर्ने अवस्थाको अन्त्य गर्न अनलाइन बुकिङको व्यवस्था गरिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष लालप्रसाद थकालीले बताए ।

देशकै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा रहेको मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा होमस्टे पर्ने गरेको थकालीले बताए । ‘सिजनमा पर्यटकको चाप धेरै हुन्छ । पर्यटकले होमस्टेमा बस्न चाहे पनि उपलब्ध नहुन सक्छ,’ उनले भने ‘पर्यटकलाई  निराश हुन् नपरोस भनेर हामीले अनलाइनबाटै अग्रिम बुकिङको प्रबन्ध मिलाएका हौं ।’ होमस्टेमा बस्न आन्तरिकभन्दा बाह्य पर्यटक धेरै आउने गरेको उनको भनाइ छ । नेपालमा सञ्चालनमा रहेका होमस्टेमध्ये थकाली होमस्टेले नै पहिलो पटक अनलाइन बुकिङ व्यवस्था गरेको उनको दाबी छ ।  

ठिनीका १२ घर मिलेर सञ्चालन गरेको होमस्टेमा एकै पटकमा १५० जनासम्म पर्यटकलाई खान र बस्नको प्रबन्ध गर्न सकिन्छ । सिजनमा होमस्टेको क्षमताभन्दा बढी पर्यटक आउने र अनलाइनबाटै अग्रिम बसकिङ गरेर आउने व्यवस्था भएपछि त्यसलाई व्यवस्थापन गर्न सजिलो भएको होमस्टे सञ्चालक मदना थकालीले बताइन् । होमस्टेमा बस्न आउने पाहुनाहरूलाई माग बमोजिम थकाली नृत्य लगायत स्थानीय परम्परागत संस्कृति देखाउँदै स्थानीय उत्पादनका खानेकुरा खुवाइने गरेको उनको भनाइ छ । अनलाइनमार्फत बुकिङ गरेर आउन सक्ने व्यवस्था मिलाएपछि पर्यटकलाई समेत सहज भएको भ्रमण वर्ष २०२० गण्डकी प्रदेशका सदस्य नीरज थकालीले बताए ।  

मुस्ताङ सदरमुकाम जोमसोमबाट २ किलोमिटर दक्षिणमा रहेको ठिनीमा थकाली संग्राहलय, ढुम्बा ताल, हिउँचितुवा गुफा, कुछपतेरेंगा गुम्बा, इको ग्रो स्याउ बगान, घरपझोङ किल्ला, विश्वकै अग्लो तिलिचो ताल पुग्ने छोटो पदमार्गलगायत  पर्यटकीय स्थल घुम्न आउने पर्यटक होमस्टेमा वास बस्ने गरेको उनको भनाइ छ ।

पछिल्लो समय मुस्ताङ घुम्न आउने पर्यटक यहाँका स्तरीय होटल र लज छाडेर होमस्टेमा आउन थालेपछि पर्यटकको चाप थेग्न धौधौ पर्ने गरेको होमस्टे सञ्चालकहरूले बताएका छन् । पछिल्लो समय मुस्ताङमा भएको भौतिक विकास र सडकको पहुँचले वर्षेनि यहाँ आउने पर्यटको संख्या बढ्दै गएको छ । पर्यटकको आगमन बढेसँगै सुविधासम्पन्न होटल तथा लज खुल्ने क्रम पनि बढेको छ । मुस्ताङमा हाल ३ दर्जनभन्दा बढी स्तरीय होटल सञ्चालनमा छन् । तर पछिल्लो समय पर्यटक होटलमाभन्दा स्थानीय कला, संस्कृति र खानाका परिकारमा आकर्षित भएकाले होमस्टे व्यवसाय फस्टाउँदै गएको अध्यक्ष थकालीले बताए । थकाली जातिको कला संस्कृति र जीवनशैली झल्किने ठिनी गाउँमा होमस्टे सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण झनै बढेको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)