ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिजनमै घट्यो सिमेन्ट र डन्डीको खपत

Mar 4, 2020  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । पूर्वाधार निर्माणका सामग्रीहरू बढी खपत हुने समय भनेर मंसिरदेखि वैशाखलाई मानिन्छ । तर, यही समयमा सिमेन्ट र फलामे छडको खपतमा भने गतवर्षको भन्दा झन्डै दोब्बरले कमी आएको सिमेन्ट तथा छड उत्पादक बताउँछन् । यसको खपत कम हुनुमा पूर्वाधार निर्माणमा देखिएको सुस्ती र २ महीनादेखि चीनको हुवेई प्रान्तको वुहान शहरबाट फैलिएको नोबल कोरोना (कोभिड–१९) भाइरस कारण भएको सिमेन्ट तथा डन्डी उत्पादकहरू बताउँछन् ।

गतवर्ष यही अवधिसम्म सिमेन्टको खपत ४० देखि ४५ प्रतिशतसम्म र डन्डीको खपत पनि सोही अनुपातमा रहेको थियो । तर, चालू आर्थिक वर्ष २०७६/७७ को यस अवधिमा २५ देखि ३० प्रतिशतको आसपासमा खपत भएको सिमेन्ट र छड उत्पादकहरू बताउँछन् । पूँजीगत अर्थात् विकास खर्च परिचालनमा सुधार नहुँदा, निर्माणाधीन अवस्थाका परियोजनाहरूको काम तीव्र नहुँदा र विगत २ महीनादेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले मुलुकभित्रका ठूला आयोजनाको कामको गति सुस्त छ । 

भाइरसकै कारण पनि सिमेन्ट र फलामे छडको खपतमा ह्रास आएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाको भनाइ छ । ‘पूर्वाधार निर्माणको काम नै तीव्र भएको छैन,’ उनी भन्छन्, ‘खर्च गर्ने क्षमता नहुँदा र नयाँ परियोजनाहरू नआउँदा सिमेन्टको खपत गतवर्षको भन्दा पनि कम भएको हो ।’ उनका अनुसार अहिले २÷३ महीनादेखि बजारबाट रकम उठ्न सकेको छैन र त्यस्तो रकम अर्बाैं रहेको छ । उनले चीनबाट फैलिएको कोरोनाका कारण क्षमता विस्तारमा लागेका उद्योगहरू पनि यथास्थितिमै बस्नुपर्ने भएको बताए ।

विकास निर्माणका काम नहुँदा यसले मुलुकका निर्माणसम्बन्धी उद्योगलाई प्रत्यक्ष प्रभाव पार्ने तर्क व्यवसायीको छ । शंकर ग्रूपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द नेपालले मुलुकमा पूर्वाधार निर्माणका काम सुस्त भइरहेका बेला कोरोना भाइरसले थप सुस्त बनाएको र त्यसको प्रभाव मुलुकभित्र देखिन थालेको बताए । 

जगदम्बा स्टील तथा सिमेन्टलगायत अन्य निर्माणका वस्तुहरू उत्पादन गर्दै आएको उक्त ग्रूपका सीईओ नेपालले अहिले आर्थिक गतिविधि नै कम भइरहेको हुँदा यसले बजार चक्र नै बिथोल्ने बताउँछन् । ‘नयाँ परियोजनाहरू पनि अघि बढेका छैनन् ।’ उनले भने, ‘यसै पनि सिमेन्ट÷डन्डीको खपत गतवर्षको भन्दा पनि कम भइरहेको छ । त्यसमाथि अहिले कोरोनाका कारण त आयोजनाहरूको काम नै होल्ड हुने अवस्था छ । कच्चा पदार्थ आयात स्वात्तै घट्नुका साथै कामदार पनि नआउँदा ठूला निर्माणका कामहरू रोकिने अवस्था देखिन्छ ।’

गतवर्ष फलामे छडको खपत करीब १३ लाख मेट्रिक टन भएको थियो, तर अहिले यसको खपत दर सो विन्दुमा पनि नपुग्ने सम्भावना देखिएको नेपाल बताउँछन् । पञ्चकन्या ग्रूपका उपाध्यक्ष धु्रवकुमार श्रेष्ठ पनि पूर्वाधार निर्माण र निर्माणसम्बन्धी वस्तुहरू बढी खपत हुने मुख्य सिजनमै यसको खपत ५० प्रतिशतभन्दा कम रहेको बताउँछन् ।

नेपाल स्टील रोलिङ मिल्स एशोसिएशनका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले मुलुकभित्र २५ भन्दा बढी फलामे छड उत्पादन गर्ने उद्योग रहेको भन्दै यी उद्योगले उत्पादन क्षमताको आधा अंश नै घटाएको बताए । उनले भने, ‘मागभन्दा बढी उत्पादन छ, यसले बजारमा अस्वस्थ प्रतिप्रस्धा पनि सृजना गरेको छ ।’ 

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह ठेकेदारहरूले समयमै भुक्तानी नपाउँदा फिल्डमा काम कम भएको बताउँछन् । विगतको तुलनमा निर्माण सामग्रीहरूको खपत कम भएकोमा उनी पनि सहमत छन् । यसैगरी नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष डा.ताराप्रसाद पोखरेलले कोरोनाका कारण लगानीकर्ता तथा उत्पादकमा उत्साह नभएको टिप्पणी गरे । उनले भने, ‘सिमेन्ट तथा अन्य निर्माण सामग्रीहरू खपत नहुँदा लगानी नै जोखिममा पर्ने अवस्था छ । यसलाई न्यूनीकरण गर्न सरकारले केही ब्याज छूटलगायत प्याकेज लिन आवश्यक छ ।’

नेपालमा अहिले सिमेन्ट÷क्लिंकर र फलामे छड उद्योगहरू मागभन्दा पनि बढी उत्पादन गर्ने क्षमतामा छन् । एशोसिएशनका अनुसार फलामे छडको माग वार्षिक १२ लाख मेट्रिक टन रहेको छ भने उत्पादन क्षमता ३० लाख मेट्रिक टन रहेको छ । संघका अनुसार नेपालमा सिमेन्टको माग तथा खपत १ करोड मेट्रिक टनभन्दा बढी रहेको छ भने कुल उत्पादन क्षमता १ करोड ५० लाख रहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)