ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मूल्य समायोजन गर्न औषधि उत्पादकको माग

Mar 5, 2020  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

काठमाडौं । कोरोना (कोभिड १९) भाइरसका कारण कच्चा पदार्थको मूल्य बढ्दा र आपूर्ति असहज हुँदै गएकाले नेपाल औषधि उत्पादक संघले सरकारसमक्ष औषधिको मूल्य समायोजन गर्नुपर्ने प्रस्ताव पठाएको छ । संघले अघिल्लो शुक्रवार औषधि व्यवस्था विभागलाई अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बताउँदै नेपालमा औषधिको नयाँ मूल्य निर्धारण गर्नुपर्ने पत्र पठाएको हो । औषधिको मूल्य सरकारले तोक्ने भएकाले मूल्य निर्धारण समितिलाई सक्रिय पार्न संघले अनुरोध गरेको हो । 

नेपाली औषधि उत्पादकहरूका अनुसार कोरोनाका कारण पछिल्लो समय आपूर्ति शृंखला (सप्लाई चेन) मा अवरोध आएकाले कच्चा पदार्थको मूल्य भारतमा ७० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । नेपाली उत्पादकले अधिकांश औषधिजन्य कच्चा पदार्थ भारतबाट ल्याउने भएकाले त्यहाँ हुने मूल्य उतारचढावले नेपाली बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ । त्यसमाथि भारतले मंगलवारदेखि प्यारासिटामोल, एन्टिकोल्ड ट्याब्लेट, अत्यावश्यक औषधि र औषधिजन्य कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाएकाले नेपालमा औषधि उत्पादन र आपूर्तिमा अवरोध आउने देखिएको छ ।

कच्चा पदार्थमा ७० प्रतिशतभन्दा बढी भारतमा आश्रित नेपाली उद्योग भारतले औषधि र कच्चा पदार्थको निर्यात नै रोकेकाले यसबाट नराम्ररी प्रभावित हुने उत्पादकहरू बताउँछन् । 

पछिल्लो समय डक्सिसाइक्लिन, एजिथ्रोमाइसिन, प्यारासिटामोललगायत औषधिको कच्चा पदार्थको मूल्य शतप्रतिशतले वृद्धि भएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षत्रीले बताए । उनका अनुसार अन्य कच्चा पदार्थको मूल्य पनि औसतमा ४० प्रतिशतले बढेको छ । 

पछिल्लोपटक २ वर्षअघि २१ प्रकारका औषधिको मूल्य बढाइए पनि अन्य औषधिको मूल्य भने २०६४ यता समायोजन नभएको संघको भनाइ छ । कच्चा पदार्थको मूल्य बढ्दै गएकाले अहिलेको औषधिको मूल्यमा औषधि उत्पादन नै गर्न नसकिने अवस्था आएको क्षत्री बताउँछन् । ‘भारतमा एउटा प्यारासिटामोलको विक्री मूल्य नेपाली २ रुपैयाँ २० पैसा छ तर नेपालमा १६ वर्षअघिकै मूल्य अर्थात् रू. १ मा बेच्नुपरेको छ,’ उनको भनाइ थियो । 

नेपालमा आकस्मिक कक्षमा प्रयोग हुने औषधि उत्पादन हुँदैन । भारतले लगाएको प्रतिबन्धले आकस्मिक कक्षमा प्रयोग हुने केही औषधिको पनि अभाव हुने संकेत देखिएकाले भारतको विकल्प खोज्न सम्बद्ध निकाय लाग्नुपर्ने औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ बताउँछन् ।

बुधवार नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, औषधि व्यवस्था विभाग, वाणिज्य विभागका प्रतिनिधिहरूको बैठकमा मूल्य समायोजनका साथै तेस्रो मुलुकबाट कच्चा पदार्थ आयातका बारेमा छलफल भएको थियो । 

भारतले औषधि र कच्चा पदार्थको निर्यात रोक्ने निर्णय गरेसँगै नेपाली औषधि उत्पादकहरूले कच्चा पदार्थ आयातका लागि विकल्प खोज्न थालेका छन् । देउराली जनता फर्मास्युटिकल्सका सञ्चालक हरिभक्त शर्माले आपूmहरू भारतको विकल्पको खोजीमा रहेको बताए । ‘कोरोना भाइरसको संक्रमण लम्बिए यसले जनस्वास्थ्यमा असर पर्नसक्ने भएकाले औषधि र औषधिका उत्पादनका लागि आवश्यक कच्चा पदार्थको व्यवस्थापनमा जोड दिनुपर्छ,’ उनले भने । 

बुधवारको छलफलमा औषधि उत्पादकले कच्चा पदार्थको मूल्य बढिसकेकाले बढी मूल्यमा कच्चा पदार्थ आयात गरी पुरानो मूल्यमा औषधि बेच्न नसक्ने बताएका थिए । जवाफमा विभागका महानिर्देशक नारायणप्रसाद ढकालले यस विषयमा अध्ययन गर्ने बताए । 

नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष शंकर घिमिरेका अनुसार तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गर्दा महँगो पर्ने हुँदा औषधिको मूल्य केही बढ्न सक्छ । ‘बढी मूल्यमा आयात गरेर उत्पादन गर्न नसकिने उद्योगीको भनाइ हो,’ उनले भने, ‘यसमा सहजीकरण नगरे उत्पादन गर्न नसकिने भनाइ उत्पादकले छलफलमा राखेका थिए ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)