काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण चीनबाट वस्तु आयात बन्द भएपछि वाणिज्य बैंकहरूमा प्रतीतपत्र (एलसी) खोल्नेको संख्या र कारोबार रकममा कमी आउन थालेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा समग्र प्रतीतपत्र खोल्ने काम २० प्रतिशतले घटेको छ । भन्सारबाट प्राप्त हुने राजस्व घट्नुको एउटा कारण एलसीको कारोबारमा कमी आउनु पनि हो । तथ्यांकअनुसार चालू आवको मंसिर, पुस र माघमा २७ ओटा वाणिज्य बैंकबाट रू. ६ अर्ब बराबरको सामान एलसीमार्फत आयात भएको छ, जबकि गत आवको सोही अवधिमा रू. १२ अर्बको एलसी खोलिएको थियो । अहिले एलसी खोल्नेको संख्या कम हुँदा त्यसको प्रभाव स्वरूप ६ महीनापछि नेपालमा वस्तु आयात घट्नेछ । व्यापारीहरूले चीनबाट सामान आयात गर्दा एलसीमार्फत मात्र गर्दैनन् । अन्य माध्यमबाट पनि भुक्तानी गर्ने चलन छ । चीनतर्फ मात्र होइन, अन्य देशका लागि पनि एलसी खोल्न कम भएको बैंकहरूको भनाइ छ ।
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्र– २०७६ ले एलसीमार्फत कारोबार गर्दा सामान खरीद गर्ने १ सय ८० दिनअघि नै व्यवसायीले वाणिज्य बैंकमा एलसी खाता खोलेर प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकका अनुसार परिवर्त्र्य विदेशी मुद्रा भुक्तानी हुने गरी भारतबाहेक अन्य मुलुकबाट मालसामान आयात गर्दा वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकमा प्रतीतपत्र खोल्नुपर्छ । प्रतीतपत्र कारोबार रोकिएपछि यसबापत प्राप्त हुने कमिशन आय घट्नेछ । त्यस्तै एलसी कारोबार घट्दा विदेशी मुद्रा विनिमयबापत हुने कमाइ पनि घट्ने बैंकहरूको भनाइ छ । व्यापार घटेपछि बैंकहरूले यसका लागि प्रवाह गर्ने ऋण पनि घटेको छ ।
कतिपय व्यवसायीले कच्चा पदार्थ भारतबाट ल्याउँछन् तर भारतमा पनि त्यो कच्चा पदार्थ चीनबाट आयात गरिन्छ । चीन तर्फको आयात ठप्प हुँदा बैंकको आयमा असर पर्न गएको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए । ‘आयातमा अवरोध हुँदाहुँदा एलसीका काम रोकिएका छन् । कोरोना भाइरसका कारण अन्य आर्थिक क्रियाकलापमा बाधा पुगेको छ, जसको मार अन्ततः बैंकिङ क्षेत्रलाई नै पर्न जान्छ,’ उनले भने ।
कोरोना संक्रमणको असरबाट मुलुकको बैंकिङ क्षेत्र अछुतो रहन नसक्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । ‘अर्थतन्त्र र बैंकिङ क्षेत्रबीच नङ र मासुको सम्बन्ध हुन्छ,’ उनी भन्छन्, ‘लामो अवधिसम्म कोरोना भाइरसको आतंक रहे बैंकिङ क्षेत्रको आम्दानीमा असर पर्नेछ ।’ दाहालका अनुसार ६ महीनाभन्दा बढी यस्तो अवस्था रहेमा मुलुकमा बहुआयामिक असर पर्नेछ ।
नबिल बैंकका कार्यकारी प्रमुख अनिलकेशरी शाहले एलसी कारोबारमा प्रतिशत तोक्न नसकिए पनि असर भने राम्ररी नै परेको बताए । उनले भने, ‘व्यापार रोकिएपछि बैंकमा असर त परिहाल्छ तर त्यो प्रभाव केही समयपछि मात्रै देखिनेछ ।’ अहिले विप्रेषणमा पनि कमी आएको उनको भनाइ छ । कोरोनाले समग्र अर्थतन्त्रमै असर पार्ने भएकाले त्यसबाट बैंकहरू अछुतो नरहने शाह बताउँछन् ।
मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली पनि अहिले बैंकको एलसी खरीदमा कमी आएको बताउँछिन् । मेगा बैंकले एलसीमा धेरै कारोबार नगरे पनि २५ प्रतिशतको हाराहारीमा कमी आएको उनको भनाइ छ । नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले आफ्नो बैंकले एलसीको धेरै कारोबार नगरे पनि कारोबार भने घटेको बताए ।
आर्थिक क्रियाकलापमा कमी आएमा कर्जाको माग समेत घट्ने बैंकरहरूको भनाइ छ । एकातिर कर्जाको मागमा कमी आउने र अर्कोतिर प्रवाह भएको कर्जा समयमा उठ्न नसक्ने हो भने बैंकको नाफामा समेत प्रभाव पार्ने बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बताए । ‘बैंकबाट कर्जा लिएर निर्माणाधीन अवस्थामा रहेको कतिपय परियोजनाले समयमै मूर्तरूप नपाउन सक्छन् । पर्यटक कम आएपछि पर्यटन र होटल व्यवसायीहरूको आम्दानी घट्छ,’ उनले भने, ‘यस्तो अवस्था आए बैंकबाट लिएका कर्जा समयमा तिर्न सक्दैनन्, जसले गर्दा भाखा नाघेका कर्जा अर्थात् निष्क्रिय कर्जाको संख्या बढ्नेछ ।’
बैंकको कर्जा लिई सञ्चालित उद्योग तथा व्यवसायीहरूको व्यवसायमा कोरोनाका कारण धक्का लाग्दा अन्ततः यसको असर बैंक तथा वित्तीय संस्था र समग्र मुलुककै अर्थतन्त्रमा पर्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।
कोरोना भाइरसकै कारण वैदेशिक रोजगारीमा गएका नेपालीहरू स्वदेश फर्किन थाले भने त्यसको असर विप्रेषण आप्रवाहमा प्रत्यक्ष पर्ने भट्टको भनाइ छ । विप्रेषण घटेमा विदेशी विनिमय सञ्चिति तथा शोधनान्तर दुवैमा प्रभावित हुने उनी बताउँछन् । ‘विप्रेषण घट्दा विदेशी मुद्रा कमी हुने मात्र होइन, बैंकको निक्षेपसमेत घट्ने देखिन्छ । आयातमा कमी आउँदा मूल्यवृद्धिमा चाप पर्न सक्छ । यसले समग्र आर्थिक गतिविधिमा नै असर गर्छ,’ उनले भने ।
पछिल्लो समय बैंकहरूमा खराब कर्जा अनुपात बढिरहेकोमा उद्योग तथा अधिकांश व्यवसायमा धक्का पुग्दा आगामी तेस्रो त्रैमासमा यसको अनुपात झन् बढ्न सक्ने बैंकरहरूको भनाइ छ । यसलाई केन्द्रीय बैंकका प्रवक्ता डा. भट्टसमेत स्वीकार्छन् ।
सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकको खराब कर्जा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा औसत शून्य दशमलव १० प्रतिशतले बढेको छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आवको पुसमा १ दशमलव ५४ प्रतिशत औसत खराब कर्जा अनुपात रहेकोमा चालू आवको सोही अवधिमा १ दशमलव ६३ प्रतिशत पुगेको छ । यद्यपि केन्द्रीय बैंकले खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा तल राख्न निर्देशन दिएको छ । तर, सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंकको पछिल्लो वित्तीय विवरणमा यस्तो कर्जा ४ दशमलव ७७ प्रतिशत रहेको छ । यसको परिणामस्वरूप बैंकको नाफा गत आवको तुलनामा चालू आवको ६ महीनामा घटेको छ ।
केन्द्रीय बैंकले अर्धवार्षिक समीक्षामार्फत कोरोना भाइरसका कारण असर पर्न सक्ने सम्भावित क्षेत्रहरू पहिचान गरी त्यस्ता क्षेत्रहरूमा प्रवाह भएको कर्जामा पुनर्कर्जा, कर्जाको पुनःसंरचना तथा पुनर्तालिकीकरणको व्यवस्थामा आवश्यकताअनुसार पुनरवलोकन गर्ने नीति लिएको छ ।