ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१५ जलविद्युत् कम्पनीको शेयर मूल्य अंकित मूल्यभन्दा कम

Mar 8, 2020  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । कुनै समयमा शेयरबजारका लगानीकर्ताको पहिलो रोजाइमा रहेको जलविद्युत् कम्पनीको शेयरमा पछिल्लो समय आकर्षण घट्दै गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ३३ जलविद्युत् कम्पनीमध्ये १५ कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम रहेको छ । प्राथमिक बजारमा रू. १०० मा यी कम्पनीको शेयर किनेका लगानीकर्ताले सो मूल्यभन्दा पनि कममा कारोबार गर्नुपर्ने अवस्था आएको छ । 

पछिल्लो समयको कारोबारलाई आधार मान्दा अंकित मूल्यभन्दा कम मूल्य भएका कम्पनीमध्ये सबैभन्दा कम शेयरमूल्य आँखुखोला जलविद्युत् कम्पनीको छ । फागुन २२ गते यस कम्पनीको अन्तिम शेयरमूल्य रू. ५३ कायम भएको हो ।

अहिले आँखुखोलाको प्रतिशेयर आम्दानी रू. १ दशमलव १४ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ७२ दशमलव २९ छ । यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय अवस्थालाई हेर्दा कम्पनी रू. ९१ लाख ५४ हजार घाटामा छ । यद्यपि यस वर्ष कम्पनीले रू. १२ करोड २७ लाखभन्दा बढी आम्दानी गरेको छ । तर, सञ्चालन नाफा गतवर्षभन्दा कम भएकाले कम्पनीले घाटा बेहोर्नु परेको हो । गतवर्ष रू. ७ करोड २१ लाख सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ८४ लाखमात्र सञ्चालन नाफा छ । 

लगानीकर्ताले कम्पनीको आधारभूत तथा प्राविधिक पक्षलाई ध्यान दिएर लगानी गर्ने भएकाले आँखुखोलाले भविष्यमा आकर्षक प्रतिफल दिनसक्ने सम्भावना कम देखेरै यस कम्पनीको शेयरमा आकर्षण कम भएको हो ।

यद्यपी राम्रै नाफा आर्जन गरेका जलविद्युत् कम्पनीहरूको शेयरमूल्य पनि अंकित मूल्यभन्दा कम देखिएको छ । प्रतिशेयर आम्दानी रू. ७ दशमलव शून्य ७ रहेको अरूणभ्याली हाइड्रोपावर कम्पनीले यस वर्षको दोस्रो त्रैमासमा रू. ३ करोड ३० लाखभन्दा बढी नाफा आर्जन गरेको छ ।

यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव ८६ छ । यस कम्पनीको वित्तीय अवस्थालाई हेर्दा अंकित मूल्यभन्दा कम मूल्य कायम हुनुपर्ने स्थिति नदेखिए पनि गत बिहीवार यो कम्पनीको शेयरमूल्य रू. ९८ कायम भएको छ । अरुणभ्यालीसँगै छ्याङ्दी हाइड्रो, वरुण हाइड्रो, नेशनल हाइड्रो, रैराङ हाइड्रो, रिडी हाइड्रो, युनियन हाइड्रो तथा युनिभर्सल पावर पनि नाफा आर्जन गरेका कम्पनीको सूचीमा पर्छन् । तर, यी कम्पनीको शेयरमूल्य अंकितमूल्यभन्दा तल रहेको छ ।

शेयरधनी दुर्गा तिवारीले जलविद्युत् कम्पनीको शेयर मूल्य अंकित मूल्यभन्दा तल झर्नुमा नियमनकारी निकायको प्रभावकारी नियमन नहुनु कारण रहेको बताउँछिन् ।

तोकिएको समयमा आयोजना निर्माण सम्पन्न नहुँदा समय र लागत बढ्ने भएकाले पनि जलविद्युत्का शेयरप्रति लगानीकर्ताको आकर्षण कम हुँदै गएको उनको भनाइ छ । साथै, विद्युत् उत्पादन गर्नुअगावै साधारण शेयर जारी गर्ने तर लामो समय लाभांश दिन नसक्दा पनि जलविद्युत् कम्पनीहरू लगानीकर्ताको रोजाइबाट पर हुँदै गएको तिवारीको भनाइ छ ।

पहिला अरूको भरमा शेयर कारोबार गर्नेहरू अहिले आफूले अध्ययन गरेर मात्र लगानी गर्ने गरेकाले पनि जलविद्युत् क्षेत्रका केही कम्पनीको शेयरमूल्य घटेको अनुमान शेयरधनी डम्बरूवल्लभ घिमिरेको छ । 

‘कम्पनीको सबै पक्षसँग शेयरमूल्य जोडिएकाले कम्पनीको वित्तीयदेखि व्यवस्थापकिय अवस्थाले यसलाई प्रभाव पार्ने गर्छ । यसर्थ यति बुझ्नुस जुन कम्पनीहरूको शेयरमूल्य अंकितमूल्यभन्दा कम छ ती कम्पनीहरूका यस्तै कुराहरूले मूल्यलाई असर गरेको छ,’ घिमिरेले बताए ।

लगानीकर्ताले कमजोर रेटिङ पाएका जलविद्युत् कम्पनीहरूको आईपीओ निष्कासनमा रोक लगाउन नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन् । आम लगानीकर्ताको लगानी सुरक्षित गर्न ३५ वर्षे लाइसेन्स अवधि बढाएर ५० वर्ष पुर्‍याउन पहल गर्न समेत विद्युत् नियमन आयोगसमक्ष उनिहरूले अनुरोध गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)