ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कतार प्रवेशमा नेपालीलाई प्रतिबन्ध

वैदेशिक रोजगारीमा अर्काे झट्का

Mar 10, 2020  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कतारले कोरोना भाइरस (कोभिड– १९) को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित १४ मुलुकका नागरिकलाई आफ्नो देश प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने क्रम तत्कालका लागि रोकिएको छ । 

यससँगै कतारको राजधानी दोहा सीधा उडान गर्ने नेपाली विमान कम्पनीहरूको सेवा पनि प्रभावित हुने भएको छ । निजीक्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौं–दोहा उडान हालका लागि स्थगित गरिसकेको छ भने सरकारी नेपाल वायुसेवा निगमले यसबारेमा मंगलवार निर्णय गर्ने बताएको छ ।

पछिल्लो समय कतार नेपाली कामदारका लागि वैदेशिक रोजगारीको राम्रो गन्तव्य बनेको थियो । दैनिक ३५० भन्दा बढी नेपाली कामदार रोजगारीका लागि कतार जाने गरेका छन् । कतार सरकारको पछिल्लो निर्णयपछि श्रमस्वीकृति लिइसकेका कामदार पनि प्रभावित भएका छन् । कतारमा हाल ३ लाख ५० हजार नेपाली कामदार छन् । यस वर्षको माघ महीनासम्ममा ७२ हजारभन्दा बढी नेपाली रोजगारीका लागि कतार गएका छन् । वैदेशिक रोजगारीका लागि पहिलो रोजाइ बनेको दक्षिण कोरियामा पनि नेपाली कामदार जान रोक लागिसकेको छ । 

नेपालीका लागि कतार प्रतिबन्ध हुँदा त्यहाँबाट आउने विप्रेषणमा प्रत्यक्ष असर पर्नेछ । चालू आर्थिक वर्षको पहिलो ४ महीनामा कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँ बराबरको विप्रेषण आएको थियो । नेपाल राष्ट्र बैंकको विप्रेषणसम्बन्धी नयाँ अध्ययन प्रतिवेदनले खाडी मुलुकहरूबाट आउने विप्रेषण नेपाल आउने कुल विप्रेषणको ५० दशमलव ३ प्रतिशत रहेको देखाएको छ । 

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले तत्काल कतार जाने कामदार र बिस्तारै त्यहाँको रोजगारीमा समेत यसले असर गर्ने बताए । ‘कतार वैदेशिक रोजगारीको ठूलो गन्तव्य हो । तसर्थ, कतारको सो कदमले तत्काल त्यहाँ जाने कामदारलाई असर गर्छ । आगामी दिनमा वैदेशिक रोजगारीमा समेत प्रभाव पर्न सक्छ,’ उनले भने, ‘अहिलेसम्म त्यहाँबाट आउने कामदारको माग घटेको छैन । तर, अबका दिनमा कामदारको माग घट्न सक्ने सम्भावना छ ।’

कतार सरकारले सोमवारदेखि नै चीन, नेपाल, भारत, दक्षिण कोरियालगायत १४ मुलुकका नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न अस्थायी रूपमा प्रतिबन्ध लगाएको हो । 

कतारको उक्त कदमले वैदेशिक रोजगारीमा पर्ने असर मंगलवारदेखि नै देखिन सक्ने उनको भनाइ छ । अब कतारका लागि श्रम स्वीकृति दिने / नदिने विषयमा मंगलवार छलफल गरिने उनको भनाइ छ । ‘नेपालीहरू त्यहाँ जान नपाउने भएपछि हामीले श्रम स्वीकृति दिनुको अर्थ छैन । श्रम स्वीकृतिको अवधिले धेरै कुरामा असर गर्छ,’ उनले भने, ‘तसर्थ, मंगलवार आवश्यक छलफल गरेर यस विषयमा उचित निर्णय गर्छौं ।’ 

त्यस्तै, श्रम स्वीकृति लिएर तथा भिषा आएर रोकिएका कामदारका विषयमा निजीक्षेत्र (म्यानपावर व्यवसायी) मार्फत नै समाधान गरिने उनको भनाइ छ । ‘कतारले प्रतिबन्ध लगाइसकेपछि भोलि, पर्सि नै कतार जाने तयारीमा रहेका कामदार पनि अब जान पाउँदैनन् । त्यो अवस्थामा कतारको रोजगारदाता कम्पनीसँग आवश्यक सहकार्य गरेर समाधान गर्ने काम निजीक्षेत्रले गर्छ,’ उनले भने, ‘त्यसमा नीतिगत रूपमा कुनै समस्या आए हामी आवश्यक सहयोग गर्न तयार छौं ।’

कतारको उक्त कदमले काठमाडौं–दोहा सीधा हवाई उडान सेवासमेत प्रभावित हुँदै छ । हाल नेपाल वायुसेवा निगम तथा हिमालय एयरलाइन्सले हप्ताको सातै दिन दोहा उडान गर्दै आएका छन् ।

हिमालय एयरलाइन्सले भने कतारको उक्त निर्णयको कारण देखाउँदै मंगलवारदेखि नै काठमाडौं–दोहाका सबै उडान रद्द गरेको छ । कतारले उक्त प्रतिबन्ध नखुलाएसम्म कुनै पनि उडान नगरिने कम्पनीले बताएको छ । साथै, यात्रुले मंगलवारपछिको उडानका लागि लिएको टिकट फिर्ता गर्दा शतप्रतिशत रकम फिर्ता दिइने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार ती टिकटको समय परिवर्तन गर्न मिल्ने सुविधा पनि दिइएको छ । तर, कतार एयरवेजले भने यस विषयमा आधिकारिक सूचना बाहिर ल्याएको छैन ।

नेपाल वायु सेवा निगमले सोमवार काठमाडौं दोहाको उडान गरेको छ । तर, आगामी उडान के गर्ने भन्ने विषयमा भने आज (मंगलवार) निर्णय गर्ने निगमको तयारी छ । निगमकी प्रवक्ता अर्चना खड्काले यस विषयमा छिटै निर्णय गर्ने जानकारी दिइन् । उनले भनिन्, ‘सोमवार सार्वजनिक बिदा भएकाले यस विषयमा निर्णय हुन सकेन । शायद, मंगलवार नै यस विषयमा निर्णय हुन्छ ।’

दोहास्थित नेपाली दूतावासले पनि एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक अवस्थामा बाहेक भौतिक रूपमा भेटघाट नगर्न आग्रह गरेको छ । साथै, दूतावासमार्फत दिइने सेवासुविधा इमेल तथा फोनमार्फत प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)