फागुन २७, धनगढी । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछि सबैभन्दा ठूलो धावन मार्ग भएको धनगढी विमानस्थललाई अब अन्तरराष्ट्रिय मापदण्डअनुरुप निर्माण गरिने भएको छ ।
अबको २० वर्षभित्रमा आधुनिक र पुर्णतया युग सुहाउँदो विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक तयारी अघि बढाएको हो ।
हाल धनगढी विमानस्थलको नाममा विभिन्न चरणमा अधिग्रहण गरिएको ७० विघा जमीन पुगेको छ । धनगढी–काठमाडौं तथा काठमाडौं–धनगढी नेपाल एयरलाइन्स, बुद्ध, श्री, सौर्यलगायत निजी हवाई कम्पनीले नियमित उडान गर्दै आएका छन् ।
सुदूरपश्चिम प्रदेशमा एकमात्र सञ्चालनमा रहेको उक्त विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डमा स्तरोन्नती गर्न हालै मात्र रियल पथ इन्जिनीयरिङ कन्सल्टेन्सीले तयार पारेको गुरुयोजनामा सन् २०४० सम्म विमानस्थलको ३ चरणमा निर्माण कार्य गरिने उल्लेख छ ।
पहिलो चरणमा निर्माणको लागि रू.१ अर्ब ८ करोड, दोस्रो चरणमा रू.४ अर्ब ९८ करोड र तेस्रो चरणमा रू.६ अर्ब ८ करोड गरी कुल रू.१२ अर्ब १४ करोड लागत कायम गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ ।
पहिलो, दोस्रो र तेस्रो चरणमा गरी २० वर्षे गुरुयोजना तयार पारिएको हो । कन्सल्टेन्सीका इन्जिनीयर गुरुदत्त अधिकारीले प्रस्तावित गुरुयोजनामा धनगढी विमानस्थल विस्तार कार्यका लागि थप २२७ विघा जमीन आवश्यक पर्ने बताए । विमानस्थलको दक्षिणतर्फको केही क्षेत्रफलको जग्गा अधिग्रहण गर्नुपर्ने देखिएकोमा उत्तर, उत्तरपूर्व, उत्तरपश्चिमतर्फको बढी क्षेत्रफल अधिग्रहण गर्नुपर्ने गरी गुरुयोजना तयार पारिएको छ ।
२ हजार ५५० मिटर लामो र ४५ मिटर चौडा नयाँ रन–वे (धावन मार्ग), हालको धावनमार्गलाई जहाजको ‘ट्याक्सी वे‘ को रुपमा प्रयोग गर्ने, नेरोवडी जहाजको उडान र अवतरण सहजै गर्न सकिने, नयाँ टर्मिनल भवनलगायतका संरचना बनाउनुपर्ने पनि प्रस्तावित गुरुयोजनामा उल्लेख छ ।१५० ओटा विभिन्न प्रयोजनका भौतिक संरचनासमेत निर्माण गरिनेछ ।
पहिलो चरणको निर्माण सन् २०२४ मा गरिसक्नुपर्ने छ । पहिलो चरणमा जग्गा अधिग्रहणसहित सडक विस्तारलगायत कार्य हुनेछन् । सन् २०२५ देखि २०३० सम्ममा २ हजार ५५० मिटर लामो र ४५ मिटर चौडा नयाँ धावनमार्ग, ट्याक्सी रोड, पार्क, पार्किङ, पानी ट्यांकी, इन्धन स्टेशन, शौचालयलगायत संरचना निर्माणको समययावधि तोकिएको छ ।
त्यस्तै विसं २०३० देखि २०४० सम्ममा नयाँ टर्मिनल भवन, कन्ट्रोल टावर सबस्टेसन एयरलाइन ब्लक, एप्रोन विस्तार, वायु विज्ञान कार्यालय, कार्गो कम्प्लेक्स, सेमिनार हल, सुरक्षा भवन, क्यान्टिन, केन्द्रीय भण्डार गृह, एयरपोर्ट रोड, कर्मचारी क्वार्टर, विमान पार्किङस्थल, पानी निकासलगायतका संरचना निर्माण गरी विमानस्थललाई पुर्ण रुपमा सञ्चालनमा ल्याउन सकिने विषय उल्लेख गरिएको ईन्जिनीयर अधिकारीले बताए ।
१ हजार ८०० मिटर धावनमार्गलाई २ हजार ५५० मिटरमा स्तरोन्नती गरिन लागेको धनगढी विमानस्थल कार्यालय प्रमुख तेजबहादुर बुढ्थापाले बताए ।
विसं २०६५ सालदेखि निरन्तर धनगढी विमानस्थलको स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गरिँदै आएको छ । सबै मौसममा सहजै विमान अवतरणका लागि भीओआर–डीएमई उपकरण जडान भएपछि अव विमान अवतरण गर्न पाइलटले विगतमा जस्तो आँखाको मात्र भरपर्नुपर्ने अवस्था अन्त्य भएको उक्त कार्यालयले बताएको छ ।