ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाको असर पूर्वाधार, पर्यटन र हवाई क्षेत्रमा : अर्थ मन्त्रालय

Mar 10, 2020  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । कोरोना भाइरसले मुलुकको अर्थतन्त्रमा पारेको असरबारे अर्थ मन्त्रालयले गठन गरेको अध्ययन टोलीले सो रोगका कारण मुलुकको पूर्वाधार, पर्यटन तथा हवाई क्षेत्रमा असर देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ । 
गत साता अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यसबारेमा अर्थ मन्त्रालयले एक टोली नै बनाई सूक्ष्म अध्ययन शुरू गरेको बताएका थिए । हाल सो टोलीले अध्ययन अन्तिम चरणमा पुर्‍याएको छ । 

अर्थले मन्त्रालयका नीति तथा विश्लेषण महाशाखा प्रमुख एवम् सहसचिव यज्ञ ढुंगेलको नेतृत्वमा कोरोनाको असरबारे अध्ययन गर्न टोली बनाएको हो । अध्ययनमा संलग्न मन्त्रालयका एक अधिकारीका अनुसार अहिलेसम्म मुलुकको पूर्वाधार, पर्यटन तथा हवाई क्षेत्रमा कोरोनाको असर देखिएको छ । ‘अध्ययन समितिले आफ्नो काम सकिसकेको छ, २/ ३ दिनभित्रै प्रतिवेदन तयार हुनेछ,’ सहसचिव ढुंगेलले आर्थिक अभियानलाई बताए । उनका अनुसार प्रतिवेदनमा कोरोनाका कारण परेको असर र त्यसको सम्बोधनका लागि गर्नुपर्ने कदमका बारेमा सुझाव आउनेछ । 

नेपालमा हालसम्म कोरोनाको असर मुलुकको आयातनिर्यात, पर्यटन आगमन, वैदेशिक रोजगारी, विकास निर्माणलगायत क्षेत्रमा परिसकेको छ । पछिल्लो समय चीनसँगको व्यापार लगभग ठप्प छ भने भारतमार्फत् आयात हुने सामग्रीमा कमी देखिएको छ । त्यस्तै, विकास निर्माणका लागि आवश्यक उपकरण तथा चिनियाँ कामदार चीनमै रोकिँदा ठूला विकास आयोजनाको निर्माणको काम प्रभावित भएको छ ।

गत साता अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यसबारेमा अर्थ मन्त्रालयले एक टोली नै बनाई सूक्ष्म अध्ययन शुरू गरेको बताएका थिए । हाल सो टोलीले अध्ययन अन्तिम चरणमा पुर्‍याएको छ  । 

कोरोनाको असर सबैभन्दा बढी पर्यटन क्षेत्रमा स्पष्ट देखिएको छ । नेपाल आउने पर्यटकको संख्यामा कमी आएको छ भने काठमाडौंलगायत प्रमुख पर्यटकीय गन्तव्यहरू सुनसान छन् । पर्यटक आगमनमा कमी भएका कारण होटलहरूले आफ्ना कर्मचारीलाई बिदा दिन थालेका छन् ।

त्यस्तै आन्तरिक हवाई सेवामा पछिल्लो २ महीनामा यात्रुको संख्या ४० प्रतिशतले कमी आएको र रू. ४ अर्ब बराबरको व्यापार प्रभावित भएको वायुसेवा सञ्चालकहरूले बताएका छन् । विदेशबाट पर्यटक नआउँदा आन्तरिक उडानमा खास गरी हेलिकोप्टरहरूको बुकिङ ८० प्रतिशतसम्म रद्द भएको छ । 

कोरोना संक्रमणले मुलुकको आर्थिक वृद्धि प्रभावित हुने आकलन अर्थका अधिकारीहरूको छ । सरकारले चालू आवका लागि ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि पछिल्लो घटनाक्रमका कारण सो प्राप्त  नहुने अर्थशास्त्री र दाताहरूको प्रक्षेपण छ । तर, सरकारले हालसम्म आर्थिक वृद्धि संशोधन गर्ने बताएको छैन । चालू वर्षको बजेटको मध्यावधि समीक्षा पनि यसबारेमा मौन थियो ।

अर्थ मन्त्रालयका अनुसार अत्यावश्यक वस्तुमा बाहेक सरकारले अहिले तत्कालै राहतको प्याकेज ल्याउने तयारी गरेको छैन । अत्यावश्यक वस्तुमा सरकारले बजारमा आपूर्ति बढाउन मास्क र स्यानिटाइजरमा भन्सार महसुल छूट दिने तयारी गरेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

विशेषगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मास्क र स्यानिटाइजरको आपूर्ति बढाउन भन्सार छूट दिनुपर्ने निचोड निकालेको छ । सोही आधारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मास्क र स्यानिटाइजरमा भन्सार छूट दिन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेका थिए ।

अहिले मास्कमा १० प्रतिशत र स्यानिटाइजरमा ५ प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ । त्यसबाहेक दुवैमा अतिरिक्त १३ प्रतिशत मूल्य अभिवृद्धि करसमेत लाग्छ ।मुलुकमा मास्क र स्यानिटाइजरको खपत एक्कासि बढेपछि बजारमा माग र आपूर्तिबीच असन्तुलन देखिएकाले बजारमा आपूर्ति बढाउन भन्सार छूट दिनेबारे अर्थ मन्त्रालय लचिलो छ । 
मन्त्रालयका अनुसार स्वदेशमा मास्क उत्पादन गर्ने उद्योगलाई विदेशबाट आयात गरिने कच्चा पदार्थमा भन्सार महसुलमा छूट दिने अर्थ मन्त्रालयको तयारी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)