ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मध्यपहाडी लोकमार्ग : कुश्मा र पातीचौरमा चार लेन सडक विस्तार

Mar 11, 2020  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्डअन्तर्गत कुश्मा बजार क्षेत्रमा सडक चार लेन बनाउने काम शुरू भएको छ । लामो समयसम्म बजार क्षेत्रमा विस्तारको काम रोकिए पनि गत हप्तादेखि सो सडकखण्ड ओगटेर बनाइएका घर, टहरा भत्काई नाली निर्माण गर्न थालिएको हो । उक्त खण्डमा सडकको १५/१५ मीटर दायाँबायाँ नाली निर्माण गर्न लागिएको हो । 

कुश्मा नगरपालिका–७, खरेहादेखि वडा नं ४ चिलाउनी चौतारासम्म सडक विस्तार शुरू गरिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय, पर्वतले बताएको छ । कार्यालय प्रमुख आशिष थापामगरले १ महीनामा नाली निर्माणको काम सकिने बताए । जिल्लाको सदरमुकाम समेत रहेको कुश्मा बजार क्षेत्रमा रहेको सडकलाई चार लेनमा स्तरोन्नति गर्न लागिएको उनको भनाइ छ । मध्यपहाडी राजमार्गअन्तर्गत पर्वतमा पर्ने २४ किलोमिटर सडकमध्ये कुश्माबजार र पातीचौरमा ४ लेन बनाइनेछ भने अन्य खण्डमा २ लेनको बनाइनेछ । बजार क्षेत्रभन्दा बाहिरको मालढुंगा–छमर्के खण्डमा ५ किलोमिटर कालोपत्र गरिसकिएको छ । डिमुवादेखि नयाँपुल खण्डको ३ किलोमिटर क्षेत्र र पातीचौरदेखि खरेहासम्मको खण्डमा कालोपत्रको काम अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख थापामगरले जानकारी दिए । उनका अनुसार चुवाको भीर र महभीरमा कडा चट्टान भएकाले बम विष्फोट गराएर ट्र्याक खोल्नुपर्ने स्थिति छ । प्रतिकूल मौसमका कारण काम विगत ६ महीनादेखि कालोपत्रको काम सहज रूपमा हुन सकेको छैन । पर्वत खण्डको निर्माण जिम्मा लामा कन्स्ट्रक्शन प्रालिले पाएको छ । सम्झौताअनुसार कन्स्ट्रक्शनले २०७७ भदौसम्म सडक कालोपत्र गरेर आयोजनालाई हस्तान्तरण गर्नुपर्नेछ । 

पोल नहटाउँदा काममा समस्या 
सडक विस्तार धमाधम नहुनुमा सडक छेउमा रहेका विद्युतीय पोल बाधक बनेका छन् । सडक छेउछाउमा रहेका पोल सार्न विद्युत् प्राधिकरणले चासो नदिएको बताइएको छ । सडक छेउका पोल नहटाउँदा नाली निर्माणमा समस्या भएको निर्माण कम्पनीले बताएको छ । पोल हटाउन धेरैपटक अनुरोध गर्दा अटेरी गर्दै आएको कन्स्ट्रक्शनका प्रतिनिधि गोविन्दप्रसाद भुसालले बताए । ‘हामीले धेरैपटक पोल हटाउन प्राधिकरणलाई अनुरोध गर्‍यौं,’ उनले भने, ‘तर, प्राधिकरणले सधैं आलटाल गरिरहेको छ । यसले समयमै निर्माण सम्पन्न गर्न बाधा उत्पन्न गरेको छ ।’ पोललाई समयमै व्यवस्थापन गर्न सकिए सडकको काम समयमै सकिने मात्रै नभई गुणस्तरीय समेत हुने भएकाले उपभोक्ता र निर्माण व्यवसायीले प्राधिकरणलाई छिटो पोल सार्न आग्रह गरेका छन् । 

सडक बनिसकेपछि पोल सार्नुपर्दा आसपासका जग्गाधनीले पोल गाड्न जग्गा नदिने, सडक भत्किने लगायत समस्या आउने देखिएको छ । प्राधिकरणले समयमै पोल सारेर सडक निर्माणमा सहयोग गर्नुपर्ने कुश्मा नगरपालिका–७ का अध्यक्ष सुवासचन्द्र पौडेलले बताए । चालू वर्षमात्रै २०० बढी पोल सार्नुपर्ने भए पनि प्राधिकरणले चासो नदेखाएको हो प्राधिकरण वितरण केन्द्र प्रमुख ललितनारायण चौधरीले एकैपटक सबै पोल सार्न सम्भव नभएको बताए । ‘पहिला नयाँ पोल तयार पारेर सिफ्ट गर्ने हो,’ उनले भने, ‘एकैसाथ सम्भव छैन । विस्तारै सार्दै जान्छौं ।’ पोल सार्ने बजेट प्राधिकरणसँग नभएकाले सम्बन्धित निर्माण व्यवसायीले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)