ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाको त्रासमा पोखराको पर्यटन : सुनसान बन्दै पर्यटकीय क्षेत्र 

Mar 11, 2020  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar नरहरि पौड्याल

फागुन २८, कास्की । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासमा पोखराको पर्यटकीय क्षेत्रहरु सुनसान बनेका छन् । कोरोना भाइरसको  त्रासका कारण सधैंभरि विदेशी पर्यटकले भरिभराउ हुने पोखरा लेकसाईडका गल्लीहरु आजभोली लगभग शून्य अवस्थामा रहेका छन् ।

छिमेकी मुलुक चीनबाट फैलिएर विश्वका धेरै देशमा पुगेपछि नेपालमा पनि त्यसको त्रास फैलिएको छ । हवाई र सडक मार्ग हुँदै विभिन्न देशका पर्यटक पोखरामा आउने भएकोले पनि पोखरा भाइरसको उच्च जोखिममा रहेको भन्दै  यस क्षेत्रमा पर्यटक आगमन ठप्प भएको हो ।

चार वर्ष अघि विनाशकारी भूकम्पले थला परेको पर्यटन बजार बिस्तारै तंग्रिन लागेको अवस्थामा विश्वव्यापीरुपमा फैलिएको कोरोनाले पर्यटन व्यवसाय थला पर्न थालेको यहाँका पर्यटन व्यवसायीहरु बताउँछन् ।

नेपालमा मार्च, अप्रिल र मे महीनालाई पर्यटकीय मौसम मानिन्छ । विदेशी पर्यटकहरुको चहलपहल हुने यो समयमा पर्यटन व्यवसायीहरु व्यस्त हुने गर्दछन् तर यतिबेला यहाँको पर्यटन व्यवसाय सुस्ताएको मात्र छैन,पर्यटकीय क्षेत्र सुनसान पनि  बनेको छ ।

पर्यटकीय क्षेत्र लेकसाइडमा बिगत दुई दशकदेखि ट्रेकिङ्ग व्यवसाय गर्दै आएका गोर्खाका नेत्र पौडेलले विसं २०७२ सालको महाभूकम्पको भन्दापनि कोरोना  भाइरसको सन्त्रासले  व्यवसायमा ठूलो असर परेको बताए । उनले अहिले त  व्यवसानै ठप्प भएको बताउँदै मुख्य सिजनमै पर्यटक नआउँदा पर्यटन व्यवसायी चिन्तित बन्नु स्वभाविक भएको जानकारी  दिए ।

सरकारले सन २०२०लाई भ्रमण वर्ष घोषणा गरेकाले यसपाली पर्यटन क्षेत्र फस्टाउने अपेक्षा उनी लगायतले गरेका थिए  । तर  यो अपेक्षा  ठीक उल्टो भएपछि तनाब शुरु  भएको छ ।

अकुपेन्सी घट्यो

आन्तरिक तथा बाह्यि पर्यटकको बाक्लो चाप हुने लेकसाइडमा चहलपहल घटेपछि होटल, रेस्टुराँ र रिसोर्टमा पाहुनाको ‘अकुपेन्सी’ न्यून भएको पश्चिमाञ्चल होटल संघ, पोखराका अध्यक्ष विकल तुलाचनले बताए ।उनका अनुसार  पोखरा क्षेत्रका  होटलको अकुपेन्सी १० प्रतिशतको हाराहारीमा छ ।

पोखराका होटल विगतमा यस बेला ८० प्रतिशतसम्म पर्यटकले भरिभराउ हुने गर्दथ्यो । यसपटक पोखरमा साना–ठूला होटलमा गरी १५ प्रतिशत मात्र पर्यटक रहेको अध्यक्ष तुलाचन बताउँछन् । 

यो समयमा पोखरामा यूरोपेली, अमेरिकी, अस्ट्रेलियाली, जापानी, कोरियाली, चिनियाँलगायत पर्यटक आउनुपर्नेमा पहिल्यै  आएका यूरोपेली १५ प्रतिशत, अमेरिकी ८ प्रतिशत, भारतीय ४ प्रतिशत र बाँकी ३ प्रतिशत अन्य मुलुकका पर्यटक रहेको उनको भनाइ छ । पर्यटकको अभावका कारण होटल, रेस्टुराँका साथै दिवा तथा रात्रिकालीन अन्य व्यवसायमा प्रत्यक्ष असर परेको छ ।
 

सकसमा ट्रेकिङ व्यवसाय

पर्यटन आगमन ठप्प भएपछि पर्यटन व्यावसायसँग सम्बद्ध ट्रेकिङ व्यवसायीहरु चिन्तित बनेका छन् । कोरोनाको संक्रमण फैलनु अगाडी नेपाल आएका पर्यटक फर्कने र नयाँ पर्यटक नआएका कारण पर्यटन बजार थला पर्ने चिन्ता बढेको ट्रेकिङ एजेन्सिज एसोशिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल पोखराका अध्यक्ष हरि भुजेल बताउँछन् ।

 पर्यटक आगमन ठप्प भएपछि बैंक तथा बित्तिय संस्थालाई तिर्नू पर्ने ब्याज र घरभाडा लगायतका दैनिक खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा व्यवसायी रहेको उनले बताए ।

टान पश्चिमाञ्चल पोखराका पूर्वअध्यक्ष दीपकराज अधिकारीले विश्वकै चर्चित अन्नपूर्ण पदयात्रामा जानका लागि अग्रिम बुकिङ गरेका पर्यटकहरुले धमाधम यात्रा रद्द गरिरहेको बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख ऋषि बरालले पदयात्रा क्षेत्रको अवस्था चिन्ताजनक रहेको  बताए । उनका अनुसार अघिल्लो वर्षको माघको तुलनामा यस वर्ष आधाभन्दा कम पर्यटकले पदयात्रा गरेका छन् । फागुनमा पनि पर्यटक आगमन निराशाजनक रहेको उनले बताए ।

पर्यटन प्रवर्द्धनका कार्यक्रम स्थगित

व्यवसायीले पर्यटन प्रवर्द्धनका लागि विभिन्न  ठाउँहरुमा गर्ने प्रचारात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रम स्थगित गरेका छन् । पश्चिमाञ्चल होटल संघले यही सातादेखि बंगलादेश र भारतको कोलकातामा प्रवर्द्धनात्मक कार्यक्रम गर्ने तयारी गरे पनि कोरोनाकै सन्त्रासले गर्दा स्थगित गरिएको बताएको छ । 

आन्तरिक पर्यटक लक्षित गर्दै स्वदेशभित्र गरिने प्रवर्द्धन अभियानसमेत अनिश्चित बनेको व्यवसायीले बताएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)