ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखराको पर्यटनमा कोरोनाको असर नाकाबन्दी र भूकम्पको भन्दा बढी : व्यवसायी

२०७६ फागुन, २९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सन्त्रासले पोखराको पर्यटकीय क्षेत्र प्रभावित भएको छ । हवाई र सडक मार्ग हुँदै विभिन्न देशका पर्यटक आगमन हुने भएकाले पोखरा पनि भाइरसको उच्च जोखिममा छ । सोही कारण सार्वजनिक भएपछि पर्यटक आगमन ठप्प भएको हो ।

४ वर्षअघि विनाशकारी भूकम्पले थला परेको पर्यटन बजार विस्तारै तंग्रिन लागेको अवस्थामा पुनः कोरोनाको नकारात्मक असर देखिन थालेको सम्बद्ध व्यवसायी बताउँछन् । सरकारले भ्रमण वर्ष घोषणा गरेकाले यसपालि पर्यटन क्षेत्र फस्टाउने उनीहरूले अपेक्षा लिएका थिए । नेपालमा मार्च, अप्रिल र मे महीनालाई पर्यटकीय मौसम मानिन्छ । तर मुख्य सिजनमै पर्यटक नआएपछि व्यवसायी चिन्तित बनेका छन् ।

पर्यटकीय क्षेत्र लेकसाइडमा विगत २ दसकदेखि ट्रेकिङ व्यवसाय गर्दै आएका गोरखाका नेत्र पौडेलले २०७२ को महाभूकम्पको भन्दा पनि कोरोना भाइरसका कारण व्यवसायमा ठूलो असर परेको बताए । ‘कोरोना भाइरसको संक्रमणसँगै व्यापार चौपट भएको छ,’ उनले भने ।

आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चाप हुने लेकसाइडमा चहलपहल घटेपछि होटल, रेस्टुराँ र रिसोर्टमा पाहुनाको अकुपेन्सी न्यून भएको पश्चिमाञ्चल होटल संघ, पोखराका अध्यक्ष विकल तुलाचनले बताए । कोरोना भाइसरको आतंक शुरू भएपछि होटल व्यवसायको अकुपेन्सी भूकम्प र द्वन्द्व कालको भन्दा पनि न्यून अवस्थामा पुगेको उनको भनाइ छ । ‘कोरोना भाइरसको आतंकपछि होटलको अकुपेन्सी अहिले १० प्रतिशतको हाराहारीमा छ,’ उनले भने । 

पोखराका होटल विगतमा यस बेला ८० प्रतिशतसम्म पर्यटकले भरिभराउ हुने गर्दथे । यसपटक साना–ठूला होटलमा गरी १५ प्रतिशत मात्र पर्यटक पोखरामा रहेको अध्यक्ष तुलाचनले बताए । यो बेला यूरोपेली, अमेरिकी, अस्ट्रेलियाली, जापानी, कोरियाली, चिनियाँलगायत पर्यटक आउने गर्छन्। पोखरामा अहिले रहेका १५ प्रतिशत पर्यटकमा पहिल्यै आएका यूरोपेली तथा अमेरिकी ८ प्रतिशत, भारतीय ४ र बाँकी ३ प्रतिशत अन्य मुलुकका पर्यटक रहेको बताइएको छ । होटल–व्यवसायमा पर्यटक अभाव हुँदा होटल सञ्चालन र दैनिक खर्चको व्यवस्थापनमा समेत चुनौती देखिएको अध्यक्ष तुलाचनले बताए । ‘होटलका लागि दैनिक खर्च, कर्मचारी व्यवस्थापन र बैंक तथा वित्तीय सस्थाको ब्याज व्यवस्थापनमा व्यवसायीलाई कठिनाइ भएको छ,’ उनले भने । पश्चिमाञ्चल होटल संघमा आबद्ध होटलको संख्या ४०० छ ।

सकसमा ट्रेकिङ व्यवसायी
पर्यटन आगमन ठप्प भएपछि ट्रेकिङ व्यवसायी पनि मारमा परेका छन् । कारोनाको संक्रमण फैलनुअघि नेपाल आएका पर्यटक फर्कने र नयाँ पर्यटक नआएका कारण पर्यटन बजार सुस्ताएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल पोखराका अध्यक्ष हरि भुजेलले बताए । ‘पर्यटक आगमन ठप्प भएपछि बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने ब्याज र घरभाडा लगायत दैनिक खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ,’ उनले भने ।

टान पश्चिमाञ्चल पोखराका पूर्वअध्यक्ष दीपकराज अधिकारीले विश्वकै चर्चित अन्नपूर्ण पदयात्रामा जान अग्रिम बुकिङ गरेका पर्यटकले धमाधम यात्रा रद्द गरिरहेको बताए । फागुन दोस्रो सातापछिका ९० प्रतिशत बुकिङ रद्द भएको उनले जानकारी दिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख ऋषि बरालले पदयात्रा क्षेत्रको अवस्था चिन्ताजनक रहेको बताए । उनका अनुसार अघिल्लो वर्षको माघको तुलनामा यस वर्ष आधाभन्दा कम पर्यटकले पदयात्रा गरेका छन् । फागुनमा पनि पर्यटक आगमन निराशाजनक रहेको उनको भनाइ छ । ‘गतवर्षको यस अवधिको तुलनामा अहिलेको अवस्था नाजूक छ,’ उनले भने ।
पर्यटन प्रवर्द्धनका कार्यक्रम स्थगित

व्यवसायीले पर्यटन प्रवर्द्धनका लागि विभिन्न ठाउँमा प्रचारात्मक तथा प्रवद्र्धनात्मक कार्यक्रम स्थगित गरेका छन् । पश्चिमाञ्चल होटल संघले यही सातादेखि बंगलादेश र भारतको कोलकातामा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने तयारी गरे पनि कोरोना त्रासले स्थगित गरिएको बताएको छ । संघले आगामी महीना भारतका विभिन्न शहरमा गर्ने भनिएको प्रवद्र्धनात्मक कार्यक्रम पनि हाललाई रद्द गरेको छ । भाइरसको जोखिम सकिएको निश्चित भएपछि मात्र प्रवद्र्धनात्मक कार्यक्रम गर्न सकिने व्यवसायीले बताएका छन् । आन्तरिक पर्यटक लक्षित गर्दै स्वदेशभित्र गरिने प्रवद्र्धन अभियान समेत अनिश्चित बनेको व्यवसायीले बताए । संघका अध्यक्ष विकल तुलाचनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय शहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने तयारी भए पनि कोरोना संक्रमणका कारण अनिश्चित बनेको जानकारी दिए । ‘कोरोना चीनमा मात्र फैलिएको अवस्थामा हामीले बंगलादेश र भारतका शहरमा प्रवद्र्धनका कार्यक्रम लैजाने तयारी गरेका थियौं,’ उनले भने, ‘तर अहिले धेरै देशमा यसको संक्रमण फैलिएकाले प्रवर्द्धन कार्यक्रम गर्न सक्ने अवस्था छैन । त्यसैले सबै कार्यक्रम हाललाई स्थगित गरेको छौं ।’

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले संघले मार्च १२ देखि बंगलादेशको ढाका र भारतको कोलकाता शहरमा प्रवर्द्धनात्मक कार्यक्रम लिएर जाने योजना बनाएको थियो । त्यसैगरी, अप्रिल अन्तिम साता दक्षिणी भारतीय शहरमा प्रवद्र्धनका कार्यक्रम गर्ने योजना बनाएको भए पनि प्रतिकूल अवस्थालाई दृष्टिगत गर्दै संघले हाललाई स्थगित गरिएको अध्यक्ष तुलाचनले बताए ।

संकटमा व्यवसायी
सरकारले सभा, सम्मेलन र भोज गर्दा कोरोना फैलिने खतरा भएको भन्दै त्यस्ता कार्यक्रम नगर्न आग्रह गरेकाले त्यसको असर व्यवसायमा परिरहेको व्यवसायी बताउँछन् । कोरानाको संक्रमणका कारण मासिक भाडा तिर्न समेत सकस भएको होटल व्यवसायी धनबहादुर थापाले बताए । ‘१२ वर्ष खाइनखाई खाडीमा पसिना चुहाएर कमाएको ३५ लाख रुपैयाँ बुझाएर होटल किनेको, २ महीनामै कोरोनाको कारण व्यवसाय नै चौपट भयो,’ उनले भने ।

सिजन शुरू हुने बेलैमा घुम्नका लागि अनलाइनबाट बुकिङ गरेका आन्तरिक तथा बाह्य पर्यटकले कोरोनाको त्रासका कारण बुकिङ रद्द गर्ने क्रम बढेपछि पर्यटन व्यवसाय संकटमा परेको छ । सिजनको सुखद पर्खाइमा रहेका व्यवसायी एकाएक बुकिङ रद्द भएपछि थप चिन्तित बनेका छन् । जनवरी, फेबु्रअरीमा चिनियाँ पर्यटकको आगमनसँगै प्याराग्लाइडिङ, अल्ट्रालाइट र छोटो पदयात्रामा पर्यटक आगमन बढ्ने गरेको विगत सम्झन्छन् पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल । त्यही सिजनअघि चीनसहित विश्वभर फैलिएको कोरोना भाइरसका कारण पर्यटन उद्योग थला पर्ने अवस्थामा पुगेको उनको भनाइ छ । सरकारले गोष्ठी, सभा, सम्मेलन नगर्न सचेत गराएका कारण पनि आन्तरिक पर्यटक समेत घटेको व्यसायीले बताएका छन् । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले सडक मार्ग हुँदै पोखरा आउने विदेशी पर्यटकको संख्या करीब ८० प्रतिशत कमी आएको बताए । पोखरा–काठमाडौं, पोखरा–चितवन र पोखरा–लुम्बिनीमा दैनिक चल्ने पर्यटक गाडीमा हाल यात्रुको संख्या घट्दा बैंक किस्ता तिर्न र कर्मचारीलाई तलब दिन समेत पैसा अभाव भइरहेको उनले गुनासो गरे । नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले साहसिक पर्यटनको आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ गर्नेहरूको संख्या २५ प्रतिशतमा झरेको बताए । लेकसाइडका सबैजसो होटल, रेस्टुराँ अहिले सुनसान देखिन्छन् । त्यहाँका कर्मचारी काम नभएर मोबाइल चलाएर दिन कटाउँछन् । लेकसाइडमा गुड्ने अधिकांश ट्याक्सीका चालक समेत गैरीघाटमा जम्मा भएर पोट खेलिरहेका हुन्छन् ।

व्यवसायीको माग
संकटको बेला सरकारले पर्यटन क्षेत्रलाई राहत दिने कार्यक्रम ल्याउनुपर्ने माग गर्छन् पोखरा पर्यटन परिषद् अध्यक्ष चिरन्जीवी पोखरेल । पर्यटकको आवागमनमा निकै घटेको र समस्याग्रस्त अवस्था आएकाले सरकारले यस अवधिको सहुलियत किस्तामा ऋण दिनुपर्ने उनको माग छ । सरकारले पर्यटन व्यवसायीका लागि केही न केही राहत प्याकेज सुविधा नल्याए व्यवसाय नै धरापमा पर्ने अध्यक्ष पोखरेलले बताए ।

सरकारले आन्तरिक पर्यटकलाई चलायमान बनाउने कार्यक्रम ल्याएर राहात दिनुपर्ने व्यवसायीको चाहना छ । रेस्टुराँ एन्ड बार एशोसिएशन (रेबान) पोखराका अध्यक्ष भीमसेन भुजेलले पर्यटन क्षेत्रमा अर्बौंको लगानी  भएकाले राज्यले यस विषयमा सोचेर निर्णय लिनुपर्ने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)