ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाबारे सर्वदलीय बैठक

संक्रमण रोक्न एकीकृत प्रयास : सरकार, पूर्वतयारी अपर्याप्त : प्रतिपक्ष

२०७६ फागुन, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले कोरोना  भाइरसको संक्रमण रोक्न राज्यका सबै संयन्त्रहरूलाई एकीकृत ढंगले प्रयोग गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनिरहेको सन्दर्भमा यसबाट बच्न नेपालले गरेका काम र अबका दिनमा चाल्नुपर्ने कदमका बारेमा बुधवार सिंहदरबारमा आयोजना भएको सर्वदलीय बैठकमा सरकारले एकीकृत संयन्त्रमार्फत कोरोना विरुद्धको अभियान सञ्चालन गर्ने बताएको हो ।

उपप्रधान तथा रक्षामन्त्री एवम् कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले बोलाएको बैठकमा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भइरहेको प्रयास र भावी रणनीतिबारे छलफल भएको थियो ।

बैठकमा सहभागी प्रतिनिधिहरूले सरकारले कोरोना संक्रमण रोकथामका लागि गरेका प्रयास पर्याप्त नभएको भन्दै त्यसतर्फ ध्यान दिन सत्तारूढ दलबाहेकका दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराएका थिए । 

उनीहरूले सबै मन्त्रालयको समन्वयमा एकीकृत ढंगले अगाडि बढ्ने सरकारको प्रयासलाई सकारात्मक लिँदै थप पूर्वाधारको विकासमा जोड दिन सुझाव दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकमा विभिन्न दलका नेताहरूले सरकारलाई महŒवपूर्ण सुझाव दिएको उपप्रधानमन्त्री  पोखरेलले जानकारी दिए । ‘कोरोना भाइरसको संक्रमणविरुद्ध विभिन्न रणनीतिक काम गर्न गठित उच्चस्तरीय समितिले काम गरिरहेको छ । तर यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर उहाँहरूको सुझाव लिएका छौं ।
 
कोरोनाको संक्रमण रोक्न र भइहालेमा त्यसपछि गर्ने कामबारे उहाँहरूका सुझावलाई समेटेर उच्चस्तरीय समितिले निर्णय गर्नेछ,’ उपप्रधानमन्त्री पोखरेलले भने ।

बैठकमा कारोना संक्रमण हुन नदिन भइरहेका काम र भावी तयारीका विषयलाई सबै दलले सकारात्मक रूपमा लिएको र कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरू एकजुट भएको संयोजक पोखरेलले बताए । 

सर्वदलीय बैठकले सम्पूर्ण राष्ट्रिय शक्ति, स्रोतसाधनमा अनुदारता नेदखाई कोरोना संक्रमण रोकथाममा लाग्नुपर्नेमा सहभागीहरूले जोड दिएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले बताए । उच्चस्तरीय संयन्त्र बनिसकेपछि बहुकेन्द्रहरू बन्द गरी एउटै केन्द्रबाट काम गर्न, हवाई मार्गबाट आउनेहरूलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न र नेपाल आएका विदेशी नागरिकहरूले कहाँ के गर्दै छन् भनेर टे«स आउट गर्न सुझाव दिएको उनले बताए । 

त्यसैगरी संघीय समाजवादी दलका नेता राजेन्द्र श्रेष्ठले कोरोना संक्रमण रोक्न पूर्वतयारीसहित कार्ययोजना बनाउन आफूहरूले सुझाव दिएको बताए । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिमयुक्त क्षेत्र घोषणा गरेकोले भोेलि समस्या आइहाले भइरहेको पूर्वाधारले नपुग्ने भएकोले थप पूर्वाधार बनाउन र उच्च सतर्कता अपनाउन सुझाव दिइएको उनले जानकारी दिए । 

बैठकमा सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल उपस्थित थिए । त्यस्तै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी पनि सहभागी थिए । त्यस्तै राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादीका तर्फबाट राजेन्द्र श्रेष्ठ थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा भने उक्त बैठकमा सहभागी थिएनन् । कांग्रेसका तर्फबाट नेता बालकृष्ण खाँड र गगन थापा सहभागी थिए । यस्तै राप्रपाका नेताहरू पर्टी एकता घोषणा कार्यक्रमका कारण अनुपस्थित थिए । 

नेताहरूले कोरोना भाइरस विरुद्ध स्वास्थ्य संस्थाहरूलाई सक्षम बनाएर लैजाने र समन्वयात्मक ढंगले सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए । बैठकमा कोरोना रोकथाम र नियन्त्रणबारे गरेको काम र भावी कार्ययोजना पेश गरेको भन्दै उनले विदेशबाट आउनेहरूलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्ने व्यवस्था मिलाउन अनुरोध गरिएको बताए ।

‘अहिलेसम्म हामीकहाँ संक्रमण देखिएको छैन । विश्व स्वास्थ्य संगठनले देशविदेशबाट आवतजावत गर्नेलाई सेल्फ क्वारेनटाइनमा बस्ने निर्देशिका बनाएको छ । हामी त्यसलाई अनुसरण गर्छौं र संक्रमण भेटिए सरकारले उपचार गर्नेछ,’उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

सन्तोष पाण्डे

[Mar 12, 2020 02:08am]

सरकार कोरोनाभाइरसका विरुद्ध लड्नका लागि पर्ख र हेरको नीति अब काम लाग्दैन, तुरुन्तै आक्रामक नीति अख्तियार गर्नु ढिला भइसक्यो । कोरोनाभाइरस महामारी रुपमा महासंकटले संघारैमा आएर ढोका ढक्ढकाइरहेको अहिलेको बेलामा सत्ताको सिंहासनमा आसिन दुई तिहाईको सरकारले आफूलाई कसरी अघि बढाउँछ र विकट स्थितिबाट मुलुकलाई पार लगाउँछ, त्यसले उसको दक्षता, क्षमता र जिम्मेवारी बोधको परीक्षण हुनेछ भन्दा शायद अतिशयोक्ति नहोला ।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)