ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चक्रपथ विस्तार आयोजना : ट्र्याक रोड र फूटपाथ नेपालले नै बनाउने 

रू. ११५ करोड लगानी गर्न प्रस्ताव

२०७६ फागुन, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं ।  दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–धोबीखोला खण्डमा दायाँबायाँ ट्र्याक रोड (मुख्य सडक बाहिरको सडक) र फूटपाथ बनाउन रू. १ अर्ब १५ करोड लगानी प्रस्ताव गरिएको छ । काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाले ८ लेनको मुख्य सडकसँगै दायाँबायाँ बन्ने ट्र्याक रोड र फूटपाथ निर्माणका लागि अर्थ मन्त्रालयसँग लगानीको प्रस्ताव गरेको हो । 

चीनको सहयोगमा चक्रपथलाई ८ लेनको बनाइँदै छ । सोही सडकको दायाँबायाँ ६/६ मीटरमा बन्ने ट्र्याक रोड र डेढ मीटरमा बन्ने फूटपाथका लागि नेपालले नै लगानी गर्ने गरी मन्त्रालयमा प्रस्ताव गरिएको आयोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिए । यी दुई संरचना निर्माण हुँदा चक्रपथको यो खण्ड १० लेनमा विस्तार हुने रिमालको भनाइ छ । कलंकीको मकालु पेट्रोलपम्पदेखि चाबहिलको गोपीकृष्ण हलसम्मको यो सडक खण्ड ११ दशमलव ६ किलोमीटर छ ।

यसैगरी ट्र्याक रोडभित्र ढललगायत पाइपहरू राख्ने गरी डिजाइन हुने पनि उनले बताए । करीब ३ वर्षमा सडक विस्तार गरिसक्ने लक्ष्य राखिएको यो सडक विस्तार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भने कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अझै तयार भएको छैन । साइट क्लियर भएपछि चिनियाँ पक्षलाई जानकारी गराउने र उनीहरू आएपछि डीपीआर बन्नेछ । 

आगामी वैशाखभित्र निर्माण शुरू गरिसक्ने लक्ष्य रहेको तर कोरोनाका कारण चिनियाँ पक्ष तत्काल काममा नफर्किने देखिएकाले समय केही पछि धकेलिने सम्भावना रहेको रिमालको भनाइ छ । यस खण्डमा रूख र बिजुलीका पोलहरू हटाउने काम लगभग सम्पन्न भएको छ भने नारायण गोपाल चोकमा पर्ने प्रभावितका घरहरू पनि भत्काउने तयारी गरिएको उनको भनाइ छ । 

घर तथा अन्य प्रभावितलाई मुआब्जा दिन सरकारले रू. २ अर्ब ९ करोड खर्चिने भएको छ । यसका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा कमिटी छिटै बस्ने र यो कमिटीले मुआब्जाको टुंगो लगाउनेछ । 

यही फागुन १८ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त क्षेत्रको जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको थियो । कुल २७ किलोमीटरको चक्रपथकै कोटेश्वर–कलंकी सडक विस्तार गरेको चीन सरकारसँग सडक विभागले २०७४ फागुनमा समझदारी पत्र (एमओयू) समेत गरिसकेको छ । शहरी जनसंख्या बढ्दो क्रममा रहेको र सोहीअनुसार सवारीसाधन वृद्धि हुँदै जाँदा ट्राफिक व्यवस्थापनका लागि सडक विस्तार अघि बढाएको आयोजनाको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)