फागुन ३०, धनगढी । सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार बढ्दो क्रममा देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७२/७३ देखि चालू आर्थिक वर्षसम्म (पाँच वर्ष) को अवधिमा १ हजार २७७ भ्रष्टाचारका उजुरी दर्ता भएका छन् । जसमध्ये स्थानीय सरकारविरुद्धका मुद्दा धेरै भएको आयोगका प्रवक्ता टोपबहादुर विष्टले जानकारी दिए ।
प्रवक्ता विष्टका अनुसार २१ स्टिङ अपरेसनबाट ३५ कर्मचारी घूससहित पक्राउ परेका छन् । तीमध्ये १४ जना प्राविधिक कर्मचारी छन् । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी प्राविधिक कर्मचारी भ्रष्टाचारमा संलग्न रहेको तथ्यांकले देखाएको छ । धेरैजसो मुद्दा आर्थिक अनियमितता गरी विकास निर्माण गुणस्तरहिन बनाएको रहेको छ । संघीयता स्थापनापछि अधिकार र शक्तिको क्षेत्र बढेकाले भ्रष्टाचार पनि बढेको आयोगको भनाइ छ ।
आयोगको कञ्चनपुर कार्यालयले, कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कर्मचारीलाई घूस लिंदालिंदै पक्राउ गरेको बताएको छ । आर्थिक वर्ष २०७२/७३ देखि चालू आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्ममा रू. ३ करोड ६३ लाखसमेत बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता विष्टले जानकारी गराए ।
उनका अनुसार विकास निर्माणका काममा प्राविधिक कर्मचारीको सहभागिता बढी हुने र सेवाग्राहीले घूस नदिंदासम्म अनेक बहानामा काम रोकिने प्रवृत्तिका कारण घूस लेनदेन बढी हुने गरेको बताए । कुल मुद्दामध्ये ६१० फर्छौयोट गरिएको र बाँकी ६६७ मुद्दाको अनुसन्धान भइरहेको छ ।
त्यस्तै, २७२ मुद्दालाई सामान्य अनुसन्धानपछि तामेलीमा राखेको छ । आव २०७५/ ७६ का ६३ र अघिल्लो आवका २२४ मुद्दाको विस्तृत अध्ययन गरी कारवाही गरिएको प्रतिवेदनमा उल्लेख छ । आयोगले २४५ मुद्दालाई भने अन्य कारवाहीका लागि भन्दै सम्बन्धित निकायमा पठाएको जानकारी दिएको छ । आयोगले २०७५/७६ मा कैलालीबाट चार र कञ्चनपुरबाट तीन जनालाई घूससहित पक्राउ गरेको थियो ।