ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगारी : श्रम स्वीकृति लिएका ५५ हजार रोकिए

२०७६ चैत, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोभिड–१९ (कोरोना) भाइरसको असर विश्वव्यापी हुँदै जाँदा सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेसँगै अहिले वैदेशिक रोजगारमा जानेको संख्या लगभग शून्यमा झरेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार श्रमस्वीकृति बन्द गर्नुअघि दैनिक करीब ३ हजारले अन्तिम श्रमस्वीकृति र ६ हजारले पूर्व श्रमस्वीकृति लिने गरेका थिए । 

‘अर्काे सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रमस्वीकृति स्थगन गर्ने’ कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकबाटै बिहीवार निर्णय भएसँगै विभागले मातहतका कार्यालयहरूलाई श्रमस्वीकृति प्रदान गर्ने कार्य स्थगित गर्न निर्देशन दिइसकेको विभागका महानिर्देशक कुमार दाहालले बताए । 

उनका अनुसार अब कुनै पनि श्रम गन्तव्य मुलुकमा रोजगारीका लागि जाने अनुमति सरकारले दिने छैन । पछिल्लो निर्णयका कारण नयाँ श्रमस्वीकृति दिएका, बिदामा नेपाल आएका र व्यक्तिगत श्रमस्वीकृति लिएका ५५ हजार नेपाली रोकिएको महानिर्देशक दाहालले बताए । 

नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुकहरू दक्षिण कोरिया, मलेशिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), ओमन, बहराइन, कुवतेलगायतमा कोरोना संक्रमण फैलँदा यी मुलुकमा कामदार नपठाउन सरकारमाथि तीव्र दबाब पर्दै आएको थियो ।

त्यसो त सरकारले श्रमस्वीकृति बन्द गर्नुअगावै गन्तव्य मुलुकहरूबाट आउने कामदारको मागमा कमी आउन थालेको थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अनुसार पछिल्लो समय कामदारका लागि आउने डिमान्ड लेटर (मागपत्र) करीब ८० प्रतिशतले घटेको छ । प्रमुख श्रम गन्तव्य मुलुकहरूले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउँदा कामदारको मागमा पनि कमी आएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष विमल ढकाल बताउँछन् ।

‘मासिक २५ हजार वैदेशिक रोजगारीमा जाने गरे पनि अहिले डिमान्ड २० प्रतिशत मात्रै आएको छ, त्यसमा पनि कम्पनीहरूले धमाधम भिसा स्थगित गरिरहेका छन्,’ ढकालले भने ।

कारोना संक्रमणको जोखिमको कारण देखाउँदै श्रम मुलुकबाटै काम नलिने घोषणा गरिरहेका बेला सरकारले सबै देशको श्रमस्वीकृति रोक्नु ठीक नभएको उनले बताए ।

‘नेपालबाट वार्षिक साढे ४ लाख कामदार विदेश जान्छन् । यो वर्ष मलेशियाको रोजगारी खुलेका कारण ५ लाख नेपाली वैदेशिक रोजगारमा जाने हाम्रो अपेक्षा थियो । तर, कोरोनाका कारण त्यो सम्भावना ट¥यो,’ संघका महासचिव सुजित श्रेष्ठले बताए ।

कोरोना भाइरसकै कारण आर्थिक क्षेत्रमा ठूलो असर पर्न जाँदा पछि रोजगारदाता कम्पनीहरूले पनि नयाँ कामदार थप्ने विषय हालका लागि थाती राखेको अनुमान संघको छ । 

समग्रमा कोरोनाले वैदेशिक रोजगारी क्षेत्रमा ठूलो क्षति गरेको श्रेष्ठ बताउँछन् । उनले भने, ‘श्रम गन्तव्य मुलुकमा पर्ने कुवेतलगायत धेरै मुलुकले भिसा दिन बन्द गरेका छन् । साथै, प्रवेश गर्न पनि दिएका छैनन् । यो अवस्थामा विदेश जाने कामदारको संख्यामा ह्रास आउने देखिन्छ ।’

पछिल्लो समय कतारले नेपालीलाई अस्थायी प्रतिबन्ध लगाइसकेको छ भने कुवेतले पनि भिसा नदिने बताएको छ । उता, दक्षिण कोरियामा कोरोनाको संक्रमण जटिल बन्दै गएपछि नेपाल सरकारले नै यसअघि नै नेपाली कामदारलाई त्यहाँ जान रोकेको छ । 

कतारका लागि श्रमस्वीकृति दिन रोक लगाइएसँगै त्यहाँबाट आएका करीब ४० हजार संस्थागत भिसा अन्योलमा परेका छन् । व्यवसायीहरूका अनुसार हालसम्म संस्थागत रूपमा करीब ४० हजार श्रम भिसा आएका छन्, त्यसको म्याद ३ महीनाको छ । त्यस अवधिमा कतार जान सकिएन भने सम्बद्ध व्यक्ति २ वर्षका लागि कालो सूचीमा पर्छ ।

प्रतिबन्ध लामो समयसम्म जारी भएमा ती भिसा अलपत्र हुने महासंघका महासचिव श्रेष्ठ बताउँछन् । उनले भने, ‘यद्यपि, यो समस्या समाधान गर्न श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र कतारस्थित नेपाली दूतावासलाई अनुरोध गरेका छौं । उनीहरूले २ हप्ताको समय दिएका छन् । त्यसपछि केही उपाय आउँछ होला ।’ 

विशेषगरी कतार सरकारको त्यस्तो कदमले हालै नेपालमा छुट्टी मनाउन आएका नेपाली कामदारलाई ठूलो समस्या पर्ने देखिएको छ । विभागका महानिर्देशक दाहालले नयाँ कामदारभन्दा पनि छुट्टीमा आएका कामदारलाई समस्या परेको बताए । ‘नयाँ कामदारको भिसा अवधि धेरै हुन्छ । यसअनुसार उनीहरूलाई तत्काललाई केही अप्ठ्यारो नहोला,’ उनले भने, ‘तर, छुट्टीमा आएका कामदारको भिसा अवधि कम छ । यद्यपि, त्यो पनि सेटलमेन्ट हुने आशामा छौं ।’ रोजगारदाता कम्पनीहरूले पनि यस विषयमा सहजता अपनाउन सक्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)