ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाको दूरगामी असर आकलन गर्दै निजीक्षेत्र

आइतवार नेपाल उद्योग वाणिज्य महासंघ र बुधवार हानको बैठक

२०७६ चैत, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं ।  विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण नेपालको आर्थिक क्षेत्र प्रभावित हुँदै जाँदा निजीक्षेत्रका संस्थाहरू यसले पार्ने दूरगामी असर र आवश्यक राहत प्याकेजका बारेमा छलफलमा जुट्न थालेका छन् । 

नेपाली निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आज (आइतवार) बैठक गर्दै छ भने कोरोनाको सबैभन्दा बढी मार खेपेको पर्यटन क्षेत्रसँग सम्बद्ध होटल एशोसिएशन अफ नेपाल (हान) ले बुधवार छलफल गर्दै छ । 
 
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण नेपालको व्यावसायिक क्षेत्रमा पार्ने दूरगामी असरका विषयमा आइतवार बृहत् छलफल राखिएको बताए । ‘आइतवारको बैठकले दूरगामी असर केके हुन सक्छन् तथा कस्तो राहतका प्याकेज ल्याउँदा उपयुक्त हुन्छ भन्ने बारेमा छलफल गर्नेछ,’ उनले भने । 

त्यसो त महासंघको स्थायी समितिको शुक्रवार बसेको बैठकले उद्योगी व्यवसायीले बैंकहरूबाट लिएको ऋणको साँवाब्याज र सरकारलाई २०७६ चैत्र मसान्तसम्म तिर्नुपर्ने करको समयावधि ३ महीना थप गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरिसकेको छ । साथै, अन्य मुलुकले आफ्ना पर्यटन उद्योगका लागि सहुलियत प्याकेजको घोषणा गरिसकेको सन्दर्भमा नेपाल सरकारले पनि नेपाली पर्यटन उद्योगलाई थप क्षति हुनबाट बचाउन सहयोग प्याकेज ल्याउन महासंघले आग्रह गरेको छ । ‘उद्योग व्यवसाय क्षेत्रमा असर देखिन थालेकाले बैंकबाट दिएको ऋणको साँवाब्याज र सरकारलाई चैत मसान्तसम्म तिर्नुपर्ने करको समयावधि ३ महीना थप गर्न आग्रह गरिएको हो,’ गोल्छाले भने ।

हानकी अध्यक्ष सृजना राणाले बुधवारको बैठकले सरकारसँग पर्यटन उद्योगको संरक्षणका लागि औपचारिक रूपमा अनुरोध गर्ने बताइन् । उनले विद्युत् महसुल र बैंकको ब्याजदर घटाउन आवश्यक भएको बताइन् । 

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोर पनि कोरोनाका कारण बजार चक्र नै प्रभावित भइसकेकाले प्रभावित उद्योग जोगाउन राहत प्याकेज आवश्यक भएको बताउँछन् । खाद्यान्न उद्योग र मेशिनरी सामग्री बाहेक अन्य उत्पादनमूलक उद्योग (सिमेन्ट/डन्डी)मा यसले नराम्रोसँग प्रभाव पारेको भन्दै उनले भने, ‘बजारबाट रकम उठाउन पनि नसकिने अवस्था आएको छ । बजारमा माग नहुँदा उत्पादन पनि घटेको छ र कच्चा पदार्थ पनि पाइएको छैन ।’ 

होटल व्यवसायीहरूका अनुसार कोरोनाका कारण नेपालको होटल उद्योगको स्थिति सन् २००३–०४ कै अवस्थामा पुगेको छ । माओवादी द्वन्द्वका कारण त्यतिखेर तारे होटलहरू नै बन्द भएको उदाहरण दिँदै एस होटल एन्ड रिसोर्टका अध्यक्ष योगेन्द्र शाक्य यस क्षेत्रलाई जोगाउन सरकारले प्याकेजको घोषणा गर्नुपर्ने बताउँछन् ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभाव अहिले पर्यटन र वैदेशिक रोजगारीको क्षेत्रमा परेको छ । भ्रमण वर्ष २०२० को औपचारिक स्थगनको घोषणा नभए पनि पर्यटक आगमन लगभग ठप्प भएको छ, जसका कारण आन्तरिक हवाई सेवा नराम्ररी थलिएको छ । नेपाल वायुसेवा सञ्चालक संघका अनुसार आन्तरिक उडानका यात्रु अहिले ५० प्रतिशतभन्दा बढीले घटेका छन् । त्यस्तै, हेलिकोप्टरको बुकिङमा ७० प्रतिशतले कमी आएको छ । वसन्तऋतुमा हुने हिमाल आरोहणलाई स्वीकृति नदिएकाले व्यवसाय प्रभावित हुने व्यवसायीको भनाइ छ । कोरोनाकै कारण आन्तरिक हवाई उडानका विमान कम्पनीले ४ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी बेहोर्नुपर्ने आकलन गरिँदै छ । वायुसेवा कम्पनीले बैंकलाई तिर्नुपर्ने ब्याजमा सरकारले सहुलियत दिनुपर्ने तथा पुनर्कर्जाको सुविधा पनि दिनुपर्ने आग्रह संघको छ । 

कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले मौद्रिक नीतिले लिएको कर्जामा पुनर्कर्जा सुविधा र पुनर्तालिकीकरणको व्यवस्था कार्यान्वयनमा ल्याउन जोड दिए । उत्पादनमूलक क्षेत्रमा केही महीना प्रभाव परे पनि पर्यटन क्षेत्रमा यसको असर १ वर्षसम्म नै परिरहने भन्दै उनले अहिले नै २० प्रतिशतले हेलिकोप्टर व्यवसाय खस्किएको बताए । उनका अनुसार ३२ ओटा हेलिकोप्टरमध्ये अहिले त्यसको आधा ग्राउन्डेड भइसकेका छन् ।

वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य घटाउन सरकारसँग माग गरिसकेको छ । मासिक मूल्य समायोजन गर्दा प्रतिलिटर रू. १० भन्दा कम समायोजन गर्न संघले माग राखेको छ । विमान सञ्चालनको ३० देखि ४० प्रतिशत खर्च इन्धनमै हुने संघको भनाइ छ । 

उता, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले चैत १९ अर्थात् १ अप्रिलमा हवाई इन्धनको नयाँ मूल्य सूची आउने र त्यसपछि मात्रै इन्धनको मूल्य घट्ने बताए । ‘यथास्थितिमा हवाई इन्धनको मूल्य घटाउन सकिँदैन,’ पौडेलले भने ‘इन्धन नै महँगो किन्नुपर्ने भएकाले व्यवसायीहरूलाई तत्काल सस्तोमा दिन सकिने अवस्था छैन ।’ स्वचालित मूल्य प्रणालीमा इन्धनको मूल्यसूची भारतले १५/१५ दिनमा पठाएपछि पेट्रोल, डिजेलको मूल्य निर्धारण हुन्छ ।

तर, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने ११ महीनाको अवधिमा मात्रै समायोजन हुने हुँदा अप्रिलसम्ममा अहिलेकै मूल्य प्रतिलिटर रू. ९४ दशमलव ५० मा व्यवसायीले खरीद गर्नुपर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)