ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थमन्त्री–निजीक्षेत्र भेटघाट : ‘राहत प्याकेज ल्याऊ’

२०७६ चैत, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकको उद्योग वाणिज्य क्षेत्र संकटमा परेको बताउँदै निजीक्षेत्रले बृहत् राहत प्याकेज उपलब्ध गराउन सरकारसँग माग गरेको छ । आइतवार अर्थमन्त्री डा. युवराज खतिवडासँगको छलफलमा निजीक्षेत्रका तीन प्रमुख संस्था– नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्शले यस्तो आग्रह गरेका हुन् ।

कोरोनाले अर्थतन्त्रमा दूरगामी असर पार्ने भन्दै छलफलमा निजीक्षेत्रका प्रतिनिधिहरूले बैंकको कर्जा, सरकारलाई बुझाउनुपर्ने राजस्वलगायत पक्षमा सहुलियतको माग गरे । प्रत्युत्तरमा अर्थमन्त्री खतिवडाले निजीक्षेत्रलाई कोरोनाका कारण कुन क्षेत्रमा कस्तो र कसरी असर परेको बारेमा लेखी पठाउन आग्रह गरे । 

बजारमा अहिले औद्योगिक सामग्रीको माग नभएको र रकम उठाउनसम्म नसकिने अवस्था आएको उनीहरूको भनाइ थियो । यसलाई सहजीकरण गर्न कर्जाको समयावधि बढाउन, आयकरमा छूट दिन, समयमै कर्जा तिर्न नसके त्यसको प्रोभिजनिङ नगर्न र पुनर्कर्जालाई सहज बनाउन व्यवसायीले अर्थमन्त्रीलाई आग्रह गरेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । 

कोरोनाका कारण उद्योग संकटमा परेकाले यदि बैंक र उद्योगबीच कर्जा समयावधि बढाउने सहमति भएमा राष्ट्र बैंकले त्यसमा हस्तक्षेप गर्न नहुने माग व्यवसायीको थियो । हाल पुनर्कर्जामा राष्ट्र बैंकले निश्चित समयावधि छुट्ट्याउने गरेकोमा व्यवसायको प्रकृतिअनुसार पुनर्कर्जालाई पनि कर्जा जस्तै छोटो अवधि र लामो अवधिका रूपमा छुट्ट्याउनुपर्ने माग उद्यमी÷व्यवसायीको थियो । कोरोनाका कारण व्यवसायमा नै मन्दी आएको बताउँदै सो नियन्त्रण भई उद्योग/व्यवसाय सामान्य अवस्थामा नआएसम्म आयकर नलिन सरकारलाई व्यवसायीले आग्रह गरे । 

छलफलमा अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको वर्तमान अवस्थाको अध्ययन गरी अघि बढ्ने बताएको नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले बताए । ‘आजको बैठकबाटै कुनै निर्णय नभए पनि उहाँ (अर्थमन्त्री) हाम्रो मागप्रति सकारात्मक हुनुहुन्छ,’ मोरले भने ।

छलफलमा उद्यमी/व्यवसायीले पर्यटनसँग सम्बद्ध व्यवसायमा गम्भीर समस्या देखिसकेकाले तत्कालै राहत प्याकेज उपलब्ध गराउनुपर्ने बताए । होटल तथा उड्डयन क्षेत्रमा नगद प्रवाहकै समस्या आइसकेको र कर्मचारीलाई तलब दिनसमेत अप्ठ्यारो परेको बताउँदै यस क्षेत्रलाई तुरून्तै सम्बोधन गरिनुपर्ने उनीहरूको भनाइ र≈यो । 

कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता अपनाइएको र आत्तिइहाल्ने अवस्था नरहेको अर्थमन्त्री खतिवडाले जानकारी अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले दिए । 

अर्थमन्त्रीले उपयुक्त समयमा सरकारले आवश्यक राहत प्याकेज ल्याउने बताएका थिए । ‘कोरोनाले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावबारे सरकारले अध्ययन शुरू गरिसकेको छ र तत्कालीन तथा दीर्घकालीन असर पर्ने बारेमा निष्कर्षमा पुगेर प्रभावित क्षेत्रहरूलाई सरकारले सम्बोधन गर्छ,’ अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै खत्रीले बताए । औद्योगिक क्षेत्रमा कच्चा पदार्थको अभाव देखिएकोबारे अध्ययन गरी अभाव हटाउन सरकारले पहल थालिसकेको अर्थमन्त्रीको भनाइ थियो । 

आइतवारको छलफलमा कुनै निर्णय नभए पनि सरकार र निजीक्षेत्र छिट्टै अर्को छलफल गर्न सहमत भएका छन् । अब हुने छलफलमा अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति, पर्यटन मन्त्रालयलगायत अन्य सरोकारवाला निकायसहित सहभागी हुनेछन् । 

अर्थमन्त्रीलाई भेट्नुपूर्व महासंघले होटल एशोसिएशन र बैंकर्स एशोसिएशनसँग पनि कोरोनाले पार्ने असरका बारेमा छलफल गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)