ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाविरुद्ध सहकार्य : ६ वर्षपछि सार्क मुलुकका नेता एकै ठाउँमा

२०७६ चैत, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रधानमन्त्री केपी शर्मा ओली आइतवार सिंहदरबारस्थित कार्यकक्षबाट सार्क राष्ट्राध्यक्षहरूको भिडियो कन्फरेन्सलाई सम्बोधन गर्नुहुँदै । तस्वीर : रासस
author avatar टीपी भुसाल

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आबद्ध राष्ट्रहरू आपत्कालीन कोष खडा गरी कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध सहकार्य गर्न सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा सार्क सदस्य मुलुकका सरकार प्रमुखबीच आइतवार भएको भिडियो कन्फरेन्समा उनीहरूले कोरोनाविरुद्धको संक्रमणसँग जुध्न एकीकृत रूपमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त  गरेका हुन् । 

कोरोना भाइरसको संक्रमणको सामना गर्नका लागि आगामी रणनीति तयार गर्न आइतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा सार्क मुलुकका सरकार प्रमुख तथा प्रतिनिधिबीच भिडियो कन्फरेन्स भएको हो । भारत–पाकिस्तान विवादका कारण २०१४ यता सार्क सम्मेलन हुन सकेको छैन भने ती देशबीच एकै ठाउँमा बैठक वा छलफल पनि भएको छैन । 

भिडियो कन्फरेन्समा भारतले सार्क राष्ट्रहरू मिलेर कोरोना भाइरस (कोभिड–१९) लगायत अन्य संक्रामक रोगविरुद्ध लड्न सार्क आपत्कालीन कोष स्थापना गर्ने प्रस्ताव राखेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोषमा भारतले तत्काल १ करोड अमेरिकी डलर दिने घोषणा गरे । उनले हरेक राष्ट्रले यसमा स्वैच्छिक योगदान गर्न सक्ने र आवश्यकता हेरेर यसलाई परिचालन गर्न सकिने बताए । मोदीले सार्क राष्ट्रबीचको सहकार्यले कोरोनाको सम्भावित क्षति रोक्न सकिने र सार्क राष्ट्रबीचको यो पहल विश्वका लागि अनुकरणीय बन्ने बताए । उनले भारतले विशेषज्ञ र डाक्टर संलग्न ¥यापिड रेस्पोन्स टीम बनाइरहेको र टेस्ट कीट जम्मा गरेको जानकारी दिँदै कुनै देशलाई आवश्यक परे भारत सहयोग गर्न तयार रहेको बताए । 

भारतको प्रस्तावलाई सबैजसो मुलुकले सकारात्मक रूपमा लिए र सार्कका माध्यमबाट यसलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । 

सार्कका वर्तमान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सो आपत्कालीन कोष खडा गर्ने प्रस्तावलाई स्वागत गर्दै नेपालमा हालसम्म कोरोनाको संक्रमण नरहेको बताउँदै संक्रमण हुन नदिन नेपाल सरकारले पर्याप्त सावधानी अपनाएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले नेपालले गरेको पूर्वतयारीबारे जानकारी दिँदै कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ रद्द गरिएको बताउनुभयो । 

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध साझा धारणा आवश्यक रहेको बताउँदै कोरोना भाइरसविरुद्धको लडाइँमा सहकार्य गर्नुपर्नेमा जोड दिइन् । उनले यो पहलले सार्कमा नयाँ स्तरमा सहकार्यको ढोका खुल्ने अपेक्षा गरेको बताइन् । 

श्रीलंकाका राष्ट्रपति गोतावया राजापाक्षेले कोरोना भाइरसको संक्रमणविरुद्ध सार्क राष्ट्र सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । राजापाक्षेले पनि आप्mनो देशले कोरोना संक्रमण रोक्न चालेको कदमबारे जानकारी गराए । 

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले कोरोना भाइरसविरुद्धको लडाइँमा सार्क राष्ट्रहरूबीच सहकार्यले संक्रमण रोक्न सहयोग पुग्ने बताए । उनले कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्क राष्ट्रहरू जुट्नुपर्ने बताए । आफ्ना अनुभव शेयर गर्दै एकअर्कालाई सहयोग आदानप्रदान गर्नु अहिले आवश्यकता भएको उनको भनाइ थियो । 

भुटानका प्रधानमन्त्री लोटे छिरिङले पनि कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरूको यो पहल सकारात्मक भएको बताए । कोरोना भाइरसविरुद्धको सहकार्य र सूचना आदानप्रदानमा उनको जोड थियो । 

माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले कोरोना भाइरसविरुद्ध कुनै पनि राष्ट्रले एक्लै लड्न नसक्ने बताउँदै यसका लागि साझा रणनीति बनाउनुपर्ने बताए । उनले जनवरीबाट माल्दिभ्सले कोरोनाविरुद्ध लड्ने प्रयास गरिरहेको जानकारी दिँदै विभिन्न टापुमा कोरोना संक्रमितहरूको उपचारका लागि क्वारेन्टाइनको व्यवस्था गरेको जानकारी दिए । यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेको र आगामी दिनमा अझ व्यापक असर पर्ने सम्भावना देखिएको बताउँदै उनले अर्थतन्त्रलाई सुदृढ बनाउने खालको योजना बनाउनुपर्ने बताए ।

पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री जाफर मिर्जाले पनि कोरोना भाइरस महामारी नियन्त्रणका लागि साझा रणनीति आवश्यक भएकोमा जोड दिए । उनले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सूचना आदानप्रदान तथा तथ्यांक आदानप्रदान गर्ने व्यवस्था मिलाउन र सार्क सचिवालयलाई सक्रिय बनाउन आग्रह गरे । 

औपचारिक सहमति केही नभए पनि सबै मुलुकले सम्बद्ध निकायहरूबीच समन्वय गर्ने बताएका छन् । त्यस्तै आपत्कालीन कोष खडा गर्न सबैले सहमति जनाए पनि भारतले बाहेक अन्य राष्ट्रले कोषमा केकति रकम जम्मा गर्ने बन्ने बताएका छैनन् । भिडियो कन्फरेन्सको समापन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको युद्ध मिलेरै लड्ने र सँगै जित्ने बताएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)