ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माछा पालनमा सक्रिय बनेका वडाध्यक्ष  

Mar 16, 2020  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

चैत ३, महेन्द्रनगर ।  जनप्रतिनिधिको रुपमा मात्रै नभई व्यवसायीक कृषकका रुपमा सक्रिय बनेका छन् –कञ्चनपुरको बेलौरी नगरपालिका–४ का वडाध्यक्ष अर्जुन ढकाल । उनी सार्वजनिक सेवामा सक्रिय मात्र छैनन्, व्यवसायीक कृषी पेसामा पनि संलग्न छन् । 

कार्यालय समय अघिपछि उनी माछा पोखरीमै भेटिन्छन् । कतिपय सेवाग्राही सेवा लिन माछा पोखरीसम्म्म पनि पुग्छन् । आफुलाई भेट्न आउने मान्छेलाई पनि उनी पोखरीमै  बोलाउँछन् । फुर्सदको अधिकांस समय उनी माछा पोखरी हेरचाहमै बिताउँछन्  । करीब डेढ बिघा क्षेत्रफलमा चार ओटा पोखरी निर्माण गरि वडाध्यक्ष ढकालले माछा पालन गरेका छन्  ।

फुर्सदको समयको सदुपयोगसँगै व्यवसायिकताका लागि माछा पालन शुरु गरेको उनले बताए । ‘कार्यालय बाहेकको समय व्यवसायमै लगाएको छु’, उनले भने, ‘आफ्नै उद्यमले स्वरोजगार भइन्छ, अरुलाई रोजगारी पनि दिन सकियो ।’ उनले माछा पालन व्यवसायबाट करीब १० जनालाई रोजगारी दिएका छन् । 

करीब रू.१० लाख लगानीमा गत साउनबाट सञ्चालन गरेको पोखरीबाट पहिलो चरणको माछा उत्पादन भइसकेको छ । उनले भने, ‘यस वर्ष पाँच क्विन्टल माछा उत्पादन भएको छ,  माछा पालनसँगै कुखुरा र बंगुर पालन पनि शुरु गर्दैछु, त्यसका लागि आवश्यक संरचना तयार भइरहेको छ ।’ 
 
त्यहाँको माछा स्थानीय बजार र धनगढीसम्म पुग्ने गरेको छ । बैखा, नैनी, रघु, सिल्भर, ग्रास लगायत छ जातका माछा उत्पादन हुने गरेकोमा हाल  प्रतिकेजी रू.३७५ सम्ममा बिक्री हुने गरेको छ । बजारको माग अनुसार माछा उत्पादन गर्न नसकेकाले व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको उनले बताए । 

माछा पालन व्यवसायबाट मात्रै  वार्षिक रू. ५ लाख मुनाफा आर्जन गर्ने गर्न सकिने उनको भनाइ छ । साथै स्वदेशमै मेहनत गर्न सके राम्रो प्रतिफल मिल्ने भएकोले बेरोजगार युवालाई व्यवसायमा लाग्न उनको सुझाव छ । 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)