ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिम प्रदेश गौरवका सडक निर्माण अलपत्र

२०७६ चैत, ४  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले छनोट गरेका गरेका ९ ओटा प्रदेश गौरव सडक निर्माण अलपत्र परेका छन् । केही सडक आयोजनाको ठेक्का सम्झौता भए पनि अधिकांश सडक निर्माण ठेक्का प्रक्रियामै अलमलिएका हुन् । 

सडक निर्माणलाई प्राथमिकतामा राखी गत आर्थिक वर्ष २०७५/७६ देखि बजेट विनियोजन गर्दै आएको प्रदेश सरकारले निर्माणलाई भने अझै गति दिन सकेको छैन । गत आवदेखि नै निर्माण थाल्ने गरी बजेट विनियोजन गरेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का प्रक्रिया टुंगो लगाउन नसकेपछि बजेटको ठूलो अंश फ्रिज भएको थियो । 

प्रदेश सरकारले कञ्चनपुरको दैजी–जोगबुढा–चिरकट्टे महाभारत हुँदै ढुंगाढ बझाङ जोड्ने सडक, कैलालीको भजनी–छोटी भन्सार ठूलीगाड सडक, कञ्चनपुरको बेलौरी–कलुवापुर–नाइल–बुडर, डोटीको सहजपुर–बोकटान–दिपायल, डडेल्धुरा दैजी–पोखरा, ढुङगाड, बझाङ, बैतडीको सदबाज–श्रीभावर–हाट–दार्चुला, बझाङको साइपाल, दार्चुलाको देथला–खार–खलङगा–खण्डेश्वरी सडकलाई गौरवका सडकका रूपमा समावेश गरेको छ । 

कञ्चनपुरको दैजी–जोगबुढा–चिरकट्टे सडक कालोपत्र गर्ने ठेक्का भएको भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले बताए । त्यस्तै खप्तड–मार्तडी बाजुरा जोड्ने ४५ किमी सडक योजनाको १५ किमी खण्डमा ठेक्का सम्झौता भएको भौतिक विकास पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार निर्देशनालय दिपालयले बताएको छ ।  

यस्तै अछामको चिसापानी जंगलघाट–तुर्माखाद–गैरीटाड–कालागाउँ–जयगढ–नन्देगडा हुँदै बडिमालिका जोड्ने सडक र बाजुराको खप्तड–मार्तडी सडक परुदेश गौरवको योजनमा समावेश गरिएको २ वर्ष पूरा हुँदा अझै निर्माण शुरू हुन सकेको छैन् । पूर्वाधार कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले भने चालू आवदेखि सडक योजनाको कामले तीव्रता पाउने दाबी गरे । 

बैतडी, बझाङ, दार्चुला कञ्चनपुर र कैलाली सडक योजनाका भने कुनै काम हुन सकेको छैन् । बैतडीको सतबाँझ–श्रीभावर हाट दार्चुला ५० किमीको डीपीआरसम्म भएको छैन् । त्यस्तै चिसापानीदेखि बाजुराको बडिमालिका सडकको लागत अनुमान तथा प्राविधिक अध्ययन समेत हुन नसकेको स्थानीयको गुनासो छ । 

यता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कैलालीले निर्माण गर्ने जिम्मा पाएको भजनी–छोटी भन्सार ठूलीगाड सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणमै ढिलाइ भएको बताइएको छ । चालू आवका लागि रू. ३ करोड बजेट प्राप्त भए पनि कार्यान्वयनमा ढिलाइ भएको कार्यालयले बताएको छ । 

भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार प्रादेशिक सडकहरूका लागि लागि चालू आवमा रू. ४२ करोड बजेट विनियोजन गरिएको छ । सडक निर्देशनालयले भने कतिपय सडक आयोजनाको ठेक्का सम्झौता हुने क्रम शुरू भइसकेको बताएको छ । चालू चौमासिक भित्र सबै सडकको ठेक्का सम्झौता गरी निर्माण शुरू गर्ने निर्देशनालयका प्रमुख प्रेमदत्त भट्टको दाबी छ । 

अन्य सडक आयोजनाको केही काम भए पनि दार्चुलाको खार हुँदै हुम्लाको खानीखर्क, कञ्चनपुरको बेलौरी, नायल बुडर, बझाङदेखि हुम्लाको रानीखर्क जोड्ने योजनाको भने अझै सामान्य अध्ययनसम्म हुन नसकेको निर्देशनालयले बताएको छ । आवश्यक गृहकार्य विनै गौरवका सडक योजना तोक्नुले कार्यान्वनमा समस्या भएको जानकारहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)