ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिजनमै थलिए होटेल तथा वायुसेवा

व्यवसाय बचाउन सरकारसँग गुहार 

२०७६ चैत, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाली पर्यटन क्षेत्र सिजनमै नराम्ररी थलिन पुगेको छ । पर्यटक आगमन लगभग बन्द हुँदा होटलहरूको सरदर अकुपेन्सी १० प्रतिशतमा झरेको छ भने आन्तरिक वायुसेवाअन्तर्गत हेलिकोप्टर व्यवसाय लगभग ठप्प नै भएको छ । 

होटल व्यवसायीका अनुसार होटेल उद्योगको मासिक घाटा रू. १ अर्ब ८० करोड पुगेको छ । कोरोनाकै कारण आन्तरिक वायुसेवा कम्पनीहरूले रू. ११ अर्ब गुमाउनुपर्ने अवस्था आएको वायुसेवा सञ्चालक संघ (आयोन)को भनाइ छ । 

कोरोना संक्रमण नियन्त्रणका लागि अन्तरराष्ट्रिय आवागमनमा क्रमशः नियन्त्रण गरिँदै जाँदा १० मार्चपछि अन्तरराष्ट्रिय उडान ६० प्रतिशतसम्म रद्द भएको छ भने यात्रु ७० प्रतिशतले घटेका छन् । 

होटल एशोसिएशन नेपाल (हान)की अध्यक्ष सृजना राणाका अनुसार होटेलहरूले अहिले मासिक १ अर्ब ८० करोड रुपैयाँ बराबरको घाटा बेहोर्न बाध्य छन् । आन्तरिक पर्यटक पनि त्रासका कारण घुमघाममा निस्कन छाडेपछि होटेलहरूको व्यापार ९० प्रतिशतसम्म घटेको उनले बताइन् । राणाका अनुसार होटेल नाफामा चल्न कम्तीमा पनि औसत ४० प्रतिशत कोठा भरिनुपर्छ । 

नेपाल भ्रमण वर्षलाई लक्षित गरी होटेलहरूले लगानी बढाए पनि अहिले पर्यटक आगमन शून्य भएकाले समस्या आएकाले व्यावसायिक संकटकाल घोषणा गरेर राहत प्याकेज ल्याउन माग राणाले गरिन् । 

आन्तरिक हवाई उद्योगमा सबैभन्दा ठूलो असर हेलिकोप्टर र स्टलमा परेको वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले बताए । विशेषगरी मार्चको मध्य (चैत) बाट हेलिकोप्टर कम्पनीहरूको मुख्य सिजन शुरू हुनेगर्छ । तर, सबैभन्दा बढी व्यस्त हुनुपर्ने समयमा नै ९५ प्रतिशत हेलिकोप्टरहरू ग्राउन्डेड छन् । नेपालमा १० कम्पनीसँग ३३ ओटा हेलिकोप्टर छन् । 

अहिले लुक्ला र सिमिकोटको उडान घटेपछि विमान सेवा कम्पनीको आय घटेको हो  । 

यहाँ विदेशी पर्यटकले डलरमा भुक्तानी गर्ने भएकाले नेपाली यात्रुले तिर्नेभन्दा दोब्बर बढी आम्दानी हुन्थ्यो । अहिले मानसरोवर जाने पर्यटक घटेका छन् । खर्चालु पर्यटक घटेका कारणले पनि विमान सेवा कम्पनीको कमाइ प्रभावित भएको हो । संघका अनुसार ११ अर्ब रुपैयाँमध्ये ४ अर्ब रुपैयाँ बराबरको व्यवसाय हेलिकोप्टर कम्पनीको हो । 

तर, आन्तरिक उडानमा भने यात्रु घटेका छैनन्, बढेका छन् । तराईका क्षेत्रको उडानमा भाडा घटाएकाले यात्रु बढेका हुन् । आयोनका अध्यक्ष थापा पनि मूल्य घटेका कारण आन्तरिक यात्रु बढेको स्वीकार्छन् । तर, यसले विमान सेवा कम्पनीको आय नबढेको उनको भनाइ छ । 

हेलिकोप्टर उड्ने अवस्था नभएपछि अधिकांश कम्पनीले कर्मचारीलाई बेतलबी बिदा दिन थालेका छन् । व्यवसायीहरूले आफ्नो व्यवसाय जोगाउन विभिन्न पहल पनि थालेका छन् । 

यसै क्रममा सोमवार उपप्रधान तथा रक्षा मन्त्री एवम् कोरोनाको प्रभाव अध्ययन गर्न गठित उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरलसँग पर्यटन सम्बद्ध व्यवसायीले राहत प्याकेज घोषणा गर्न माग गरेका छन् । यसअघि होटल तथा ट्राभल र टे«ेकिङसँग सम्बद्ध संस्थाहरूले पर्यटन बोर्डमार्फत तथा हवाई उद्योगहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत तालुकवाला मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष राहतको माग राखिसकेका छन् । 

कोरोनाका कारण भएको क्षति कम गर्न कतिपय देशले राहत प्याकेज घोषणा गरिसकेको सन्दर्भमा उनीहरूले बैकको ब्याजको पुनर्तालिकीकरण, घरबहाल कर छूट, घरबहाल पर सार्ने आग्रह, भ्याट छूटसम्मको माग गरेका छन् ।

अध्यक्ष थापाले थला परेको विमान सेवा कम्पनीलाई राहत प्याकेज आवश्यक भएको बताए । कर छूट, ऋण र साँवा भुक्तानीमो अवधि थप, हवाई इन्धनको मूल्य कटौतीलगायत राहत आवश्यक रहेको उनको भनाइ छ । 

नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले व्यवसायीले बैंकबाट लिएको ऋण तिर्नसक्ने अवस्था नरहेको भन्दै ऋण तिर्नुपर्ने तालिका सार्न सरकारले सहयोग गर्नुपर्ने बताए । उनले विक्री भएको टिकट रिफन्ड गर्न समस्या भएको बताए । ट्रेकिङ एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले हाल ८० प्रतिशतभन्दा बढी होटेल भाडाका घरमा सञ्चालन भएकाले ६ महीनाका लागि घरभाडा पछि सार्नुपर्ने बताए । यस्तै उनले घरभाडाबापतको १० प्रतिशत कर छूट दिन माग गरे ।

दुई दिनभित्र ठोस खाका ल्याउनुहोस् : पोखरेल
पर्यटन सम्बद्ध विभिन्न उद्योगी व्यवसायीहरूको मागअनुसार सरकारले सोमवार रक्षा मन्त्रालयमा पर्यटन क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गर्दै राहत प्याकेज ल्याउन सकिने बताएको हो । उपप्रधान तथा रक्षामन्त्री एवम् उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले सरकार व्यवसायीलाई राहत प्याकेज ल्याउन तयार रहेको बताए । उनले भने, ‘व्यवसायीलाई परेको असर, लगानी क्षति तथा राहत समस्या र समाधानका उपायसहित २ दिनभित्र ठोस खाकासहित आउनुहोस् ।’  

‘कोरोनाले कुनै एक क्षेत्रमात्र समस्यामा परेको नभई समग्र क्षेत्र नै प्रभावित भएको छ । यसबाट बच्न सबैको सहयोग र सहकार्य आवश्यक छ,’ उनले भने, ‘के के समस्या छन् २ दिनभित्र दिनुहोला । अनि छलफल गरेर टुङ्गोमा पुग्न सकिन्छ ।’ पर्यटन व्यवसायीको मागका बारेमा अर्थमन्त्री समेत सकारात्मक देखिएकाले उच्चस्तरीय समितिमार्फत राहतका कार्यक्रम घोषणा गर्ने सकिने उनको भनाइ थियो । पर्यटन मन्त्री योगेश भट्टराईले व्यवसायीहरूका माग सम्बोधन होस् भनेर नै मन्त्रालयले यस विषयमा पटकपटक छलफल गरेको जानकारी दिँदै पर्यटन उद्योगलाई टेवा दिन केकस्ता प्याकेज ल्याउन सकिन्छ भनेर अन्तरमन्त्रालय छलफल भइरहेको बताए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले करीब ६० प्रतिशत अन्तरराष्ट्रिय उडान र ७० प्रतिशत यात्रु घटेको जानकारी दिए । उनले सरकारले ट्राभल एड्भाइजरी जारी गरेको देशमा मात्रै रिफन्ड गर्न एयरलाइन्सलाई भनेको भए पनि सबै क्षेत्रको रिफन्ड सम्भव नहुने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)