ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उपभोक्ताले सामान थुपार्दा बजारमा अभाव

२०७६ चैत, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं author avatar प्रशान्त खड्का

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बजारमा सामान अभाव हुने आशंकाले उपभोक्ताहरू आवश्यकभन्दा बढी सामान स्टक राख्न थालेका छन् । अहिले खुद्रा पसल, मार्ट र सुपरमार्केटमा सामान खरीदकर्ताका भीड नै लागेको छ । 

सरकारले आपूर्ति व्यवस्था सहज गरी अभाव हुन नदिने बताइरहे पनि अभाव हुने आशंकामा उपभोक्ताले चामल, नून, तेल, खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य सामग्री आवश्यकभन्दा बढी भण्डारण गर्न थालेका हुन् । यही मौका छोपेर केही उद्योगी÷व्यवसायीले गरेको कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव पनि सृजना गरेका छन् । तर, सरकारले आपूर्ति व्यवस्थापन गर्न भने सकेको छैन । 

यसरी अभाव चर्कनुमा उपभोक्ता स्वयं पनि दोषी भएको नेपाल चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य दीपक मल्होत्रा बताउँछन् । ‘आवश्यकभन्दा बढी सामान जोहो गर्न थालेपछि पर्याप्त सामान हुँदाहुँदै पनि अभाव देखिएको छ,’ उनले बताए । 

बजारमा अत्यावश्यक सामग्री र खाना पकाउने ग्यासको अभाव नभएको उद्योगी/व्यवसायी र सरकारले बताउँदै आएका छन् । तर पनि दाल, चामल, तेल, नूनलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुको माग अत्यधिक बढेको व्यापारीहरू बताउँछन् । मनकामना स्टोर्स कालीमाटीका व्यापारी राजेश कुमारका अनुसार एकै परिवारले १ बोरासम्म नून किनेर स्टक राख्न थालेका छन् । ‘सामान्य अवस्थामा दिनमा एक बोरा मात्र नून विक्री हुने गरेकोमा अहिले कोरोनाको त्रास बढ्दै गएपछि दिनमा १० बोरा नून विक्री भइरहेको छ,’ उनले बताए । कालिमाटीकै बी एन्ड बी स्टोरका व्यापारी राजेशप्रसाद जोसीका अनुसार कतिपय व्यापारीहरू समेत आत्तिएर आफ्नै लागि पनि खाद्यान्न स्टोर गर्न थालेका छन् । यद्यपि, बजारमा अहिलेसम्म सामान अभाव नभएको उनले बताए । खुद्रा पसलले डर देखाएर मूल्यवृद्धि गर्न थालेपछि स्टोरमा भीड बढेको उनी बताउँछन् ।

ग्यास पसलमा सिलिन्डर साट्न मुश्किल पर्न थालेपछि अग्रिम भुक्तानी गरेर उपभोक्त नाम टिपाउन थालेका छन् । टेकुस्थित रिम्सा ट्रेडर्समा ग्यास किन्न आएका रमेश मानन्धरले खाना पकाउने ग्यास नपाएको गुनासो गरे । खोजेको नेपाल ग्यास नपाएपछि उनले बढी मूल्य तिरेर ओम ग्यास लिन लागेको बताए । 

सामान्य अवस्थाको मागभन्दा बढी ग्यास आपूर्ति भइरहेको देखिन्छ । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार अहिले १ करोड २३ लाख सिलिन्डर बजारमा छन् भने दैनिक १ लाख सिलिन्डरको माग हुने गरेको छ । वार्षिक १५ प्रतिशतका दरले उपभोक्ताको वृद्धि हुने तथ्यांक रहेकोमा सन् २०२० मा बजारमा ४३ हजार मेट्रिक टन एलपी ग्यासको माग हुनेछ । 

यद्यपि, यस वर्ष ५० हजार मेट्रिक टन ग्यास आयात हुने भएकाले ग्यासको अभाव हुने छैन ।  ग्यास डिपो सञ्चालकका अनुसार कम्पनीहरूले कृत्रिम अभाव पैदा गरी नयाँ सिलिन्डर मात्र बेचेर बजार बढाउन थालेपछि ग्यासको अभाव देखिएको हो ।

ग्यास पर्याप्त मात्रामा आयात हुँदाहुँदै पनि अभाव देखिएपछि सोमवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई डाकेर सहज रूपमा ग्यास वितरणको वातावरण नबने कारबाही गर्ने चेतावनीसमेत दिए । उनले वितरण प्रणाली सहज नबनाए प्रहरी र सेना परिचालन गरी उद्योगमा हस्तक्षेप गर्ने चेतावनीसमेत दिए । 

त्यसलगत्तै नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघले संयुक्त पत्रकार सम्मेलन गरी खाना पकाउने ग्यास वितरण सहज बनाउने बताए । नाकाबन्दी हुने डरले उपभोक्ताले दशौं गुणा बढीसम्म ग्यास स्टक राख्न थालेपछि यस्तो अभाव देखिएको बताउँदै उद्योगी÷विक्रेताले आपूर्ति सहज रहेको बताए ।  एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले भने, ‘आवश्यकभन्दा बढी ग्यास आपूर्ति भइरहेको छ तर उपभोक्ताले नै होल्ड गरेर राख्न थालेपछि यस्तो अभाव देखिएको हो ।’ उनले सोमवारदेखि नै नयाँ ग्यास सिलिन्डर विक्री नगर्न सबैतर्फ विक्रेतालाई पत्राचार गरिएको बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)