ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रमाणीकरण स्थगन : वैदेशिक रोजगार व्यवसायीद्वारा आपत्ति 

२०७६ चैत, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । प्रमुख श्रम गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासहरूले कामदारको मागपत्र प्रमाणीकरण नगर्ने निर्णयको म्यानपावर व्यवसायीले विरोध गरेका छन् । सरकारले गत फागुन २९ गते वैदेशिक रोजगारीमा जाने नेपालीलाई श्रमस्वीकृतमा रोक लगाएसँगै मलेशिया, साउदी अरब, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्समा रहेका नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेका छन् । 

सरोकारवालाहरूसँग सल्लाह नगरी नै दूतावासहरूले एकतर्फी रूपमा निर्णय गरेको म्यानपावर व्यवसायीहरूले बताएका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न श्रम गन्तव्य मुलुकहरूले विदेशी नागरिकलाई आप्mनो देशमा प्रवेश गर्न रोक लगाए पनि नेपाली दूतावासहरूले प्रशासनिक काम रोक्न नहुने भनाइ नेपाल वैदेशिक रोजगार व्यवसायी संघको छ । 

संघका महासचिव सुजित श्रेष्ठले नेपाली दूतावासहरूको उक्त निर्णयप्रति व्यवसायीहरूको आपत्ति रहेको बताए । ‘नेपाल सरकारले दूतावासहरूलाई आप्mनो दैनिक काम गर्न भनेकै थियो । श्रम मन्त्रालयकै आग्रहमा केही दूतावासहरूले उक्त निर्णय फिर्ता लिन्छु भनेका पनि थिए । तर, अझै, निर्णय फिर्ता लिएको अवस्था छैन,’ उनले भने, ‘कामदारको मागपत्र प्रमाणीकरण गर्ने काम प्रशासनिक कामको हो । यसमा कोरोनाबाट डराउनुपर्ने स्थिति छैन ।’ 

अहिले मागपत्रको प्रमाणीकरण बन्द गर्दा निकट भविष्यमा थप समस्या हुन सक्ने उनी बताउँछन् । ‘पछि श्रमस्वीकृतिसँग कामदार मागपत्रको प्रमाणीकरण गर्ने काम एकै पटक खुल्ला गर्दा अप्ठ्यारो हुनसक्छ ।

त्यो अवस्थामा सेवाग्राहीले समयमा सेवासुविधा पाउन सक्दैन,’ उनले भने, ‘तसर्थ, विदेशस्थित नेपाली दूतावासले मागपत्रको प्रमाणीकरण गर्ने काम अगाडि बढाउनुपर्छ ।’ रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजान सर्वप्रथम नेपाली दूतावासमा प्रमाणीकरण गर्नुपर्ने हुन्छ । दूतावासबाट प्रमाणीकरण भइसकेपछि वैदेशिक रोजगार विभाग हुँदै म्यानपावर कम्पनीमा सो मागपत्र आउँछ ।

श्रमस्वीकृतिमा रोक लगाइएसँगै म्यानपावर कम्पनीहरूले आफ्नो कार्यालय बन्द गर्न थालेका छन् भने कर्मचारीलाई तत्काल बेतलबी बिदा दिएर घर पठाउन थालेका छन् । असामान्य अवस्था आएका कारण कम्पनी बन्द गर्नुपर्ने बाध्यता आएको संघका महासचिव श्रेष्ठको भनाइ छ । ‘आवश्यक परेमा कर्मचारीलाई पुन फिर्ता बोलाउन सकिन्छ,’ उनले भने ।

हाल नेपालमा ८५४ ओटा म्यानपावर कम्पनी सञ्चालनमा छन् । त्यसमध्ये ५०० भन्दा बढी कम्पनीको कार्यालय बन्द भएको संघको भनाइ छ । मलेशिया सरकारको सूचनाअनुसार बुधवारदेखि नेपाली कामदार पनि त्यहाँ जान पाउँदैनन् । फलस्वरूप बुधवारदेखि मलेशिया रोजगारीको मात्र काम गर्ने म्यानपावर कम्पनीहरू पनि बन्द हुनसक्ने संघको भनाइ छ । कोरोना भाइरसबाट बच्न वैदेशिक रोजगारीका लागि नेपाली कामदारको गन्तव्य मुलुकहरूले विदेशी नागरिकलाई प्रवेश गर्न रोक लगाएसँगै ती मुलुकमा जाने ४ हजारभन्दा बढी कामदारको टिकट रद्द गर्नुपरेको संघले  जानकारी दिएको छ । श्रम गन्तव्य मुलुकका साथै नेपाल सरकारले समेत विदेश भ्रमणलाई नियन्त्रित गर्दा ५० हजार कामदार प्रभावित भएको संघका अध्यक्ष विष्णुप्रसाद गैरेले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)