ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाको त्रासका कारण तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द

२०७६ चैत, ६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । प्राकृतिक चिकित्सालयको नामले चिनिएको म्याग्दीको तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिने भएको छ । जिल्लाको बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्ड विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाको त्रासका कारण चैत ८ गतेदेखि बन्द गर्ने निर्णय भएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।

देशका विभिन्न ठाउँबाट प्राकृतिक तातोपानीमा स्नान गरी उपचार गराउन मानिसहरू आउने भएकाले कोरोना भाइरस संक्रमित व्यक्तिको आगमन हुँदा यसले ठूलो समस्या निम्त्याउन सक्ने भएकाले पूर्व सतर्कता अपनाएर चैत ८ गतेदेखि कुण्डलाई अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको अध्यक्ष शाक्यले जानकारी दिए ।

जिल्ला प्रशासन, बेनी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय लगायत सरोकारवालासँग संयुक्त रूपमा छलफल गरी सबैको सल्लाह बमोजिम कुण्डलाई बन्द गरी संयमता अपनाउने निर्णय भएको कुण्ड व्यवस्थापन समितिका सचिव कृष्ण केसीले जानकारी दिए । ‘यो सिजन तातोपानीका लागि उत्तम हो, उपचारका लागि कुण्डमा आउने बिरामीको संख्या बढ्दो क्रममा थियो । तर कोरोनाको संयमता अपनाउँदै कुण्ड बन्द गर्न लागेका हौं,’ सचिव केसीले भने ।

कोरोनाको जोखिम न्यूनीकरण भएर सामान्य भएपछि अर्को सूचना जारी गरेर मात्रै कुण्डलाई पुनः सुचारु गरिने व्यवस्थापन समितिले बताएको छ । यस कुण्डमा अहिले दैनिक ३०० भन्दा बढी बिरामीले कुण्डमा स्नान गर्ने र डुबेर उपचार गराउँदै आएका छन् । 

जमीनभित्रबाट निस्कने ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र बीरेनुनको गन्ध आउने यहाँको प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरेमा ग्यास्ट्रिक, नसारोग, बाथरोग, ढाड दुख्ने, छाला सम्बन्धी रोग, सुन्निएको, मर्किएको, पेट सुनिने, गलगाँड लगायत रोग निको हुने मान्यता छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)