ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अवैध दोहन र प्रदूषणको चपेटामा कालीगण्डकी 

२०७६ चैत, ६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । कालीगण्डकी नदी भौतिक निर्माणका नाममा गरिएको दोहन र वातावरणीय प्रदूषणका कारण विकृत बन्दै गएको छ । नदीजन्य वस्तुको जभाभावी दोहन र मानव सृजित वातावरणीय प्रदूषणले कालीगण्डकी नदीको अस्तित्व संकटमा पर्दै गएको हो । 

स्थानीय निकाय, निर्माण व्यवसायी र केही टाठाबाठा व्यक्तिले विकासका नाममा नदीमा मापदण्डविपरीत नदीजन्य वस्तु उत्खनन गर्नाले अस्तित्व संकटमा परेको सरोकारवालाले औंल्याएका छन् । कालीगण्डकी कोरिडोर निर्माण र बेनी–जोमसोम सडक विस्तार तथा स्तरीकरणका नाममा कालीगण्डकी नदीलाई खुम्च्याइँदै गएको र नदीको मौलिक स्वरूप नै परिवर्तन भएको जिल्लाका बुद्धिजीवीहरूको भनाइ छ । ‘विकास र पूर्वाधार निर्माणका नाउँमा नदीको दोहन मात्र भएको छैन, नदीको प्राकृतिक स्वरूप समेत बिग्र्रेको छ,’ बेनी बजारका संस्कृतिविद् प्रकाश श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार मापदण्ड विपरीत उत्खनन र सडक विस्तार  गर्दा कालीगण्डकीले आफ्नो प्राकृतिक धार परिवर्तन गरेर भविष्यमा विनाश निम्त्याउनेछ । वातावरणीय प्रभाव मूल्यांकन नगरी नदीजन्य वस्तु निकाल्दा कालीगण्डकी नदीको महŒव लोप हुने खतरा बढेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । 

प्रारम्भिक वातावरणीय परीक्षणअनुसार भएको निश्चित मापदण्ड बेवास्ता गर्दै नदीजन्य वस्तु निकाल्ने प्रवृत्ति बढेको स्थानीयले बताएका छन् । कालीगण्डकी नदीअन्तर्गत कालीओढार, भीरकाटे, बेगखोला, ठाडिखोरिया, कुनौटा, रिठाबोट र बैसरीमा मापदण्ड विपरीत डोजर प्रयोग गरेर उत्खनन गरिँदै आएको छ । गण्डकी प्रदेशको गौरवको आयोजना बेनी जोमसोम सडक अन्तर्गत विभिन्न भागमा कालीगण्डकीमा उत्खननसँगै सडक निर्माणका सामग्री नदीमा फाल्ने, जथाभावी वनजंगल काट्ने गरिएको सरोकारावाला बताउँछन् ।

जिसस प्रमुख केसीले कालीगण्डकी नदीमा गौरवका आयोजनाले डोजर लगाएर नदीजन्यवस्तु उत्खनन गर्न पाउने व्यवस्था प्रारम्भिक वातावरणीय परीक्षणमा नभएको बताए । ईआईए भएको बगरमा नदीजन्यवस्तु डोजर लगाएर निकाल्न नपाइने भनिए पनि गौरवका आयोजनाले श्रमबाट ढिलासुस्तीको कारण देखाएर उपकरणबाट उत्खनन गर्दै आएको उनले बताए ।

विशेष परिस्थितिमा विकास निर्माणमा नेपाल सरकारको मन्त्री मण्डल वा मन्त्रालयको निर्देशनअनुसार जिल्लाका सरोकारवालाले निर्णय गरेर आयोजनाका लागि नदीजन्यवस्तु उत्खननमा उपकरण लगाउने वातावरण सृजना गर्न सकिने भए पनि ध्यानाकर्षण नभएको प्रमुख केसीले बताए ।

डोजर लगाएर आवश्यक नदीजन्य स्रोतहरू निकालेर काममा ढिलासुस्ती गर्नु आयोजनाको लापरबाही देखिन्छ । लापरबाहीले गरिएको विकास निर्माणले बेनी–जोमसोम सडक सुक्खा पहिरो र कालीगण्डकी नदीको कटानले विभिन्न समयमा बन्द हुँदै आएको छ ।

कालीगण्डकी नदीको महत्त्व जोगाउन स्थानीय सरकारले ध्यान दिनुपर्छ । उत्खननको नाममा लापरबाही आयोजनाले गर्नु र अनुगमन प्रभावकारी नहुँदा कालीगण्डकीसँगै रघुगंगा र म्याग्दी नदीमा राजनीतिको आडमा कमाउने शैली देखाउँदै राज्यको सम्पत्तिको अस्तित्व संकट पारेका छन् ।

कालीगण्डकी नदीको मौलिक स्वरूप बिगारेर निर्माण गरिएका विकासका पूर्वाधारमध्ये बेनी–जोमसोम सडक, कालीगण्डकी नदी बगरमा सञ्चालन गरिएका आधा दर्जन क्रशर उद्योग  र विद्युत्को प्रसारण लाइन प्रमुख छन् ।

यी तीनओटै निकायको आपसी किचलोका कारण पनि कालीगण्डकी दोहन तीव्र भइरहेको सरोकारावालाले औंल्याएका छन् । बेनी–जोमसोम सडक विस्तारका क्रममा माटो, ढुंगा र गेगरले नदी थुनिन सक्ने अवस्था समेत उत्पन्न भएको छ भने विश्वप्रसिद्ध संसारकै गहिरो अन्धगल्छी समेत पुरिन थालेको छ । 

सडक विस्तारका क्रममा दिनहुँ प्रयोग गरिने डोजर, एक्स्कभेटर जस्ता हेवी इक्वीमेन्टहरूले जमीन थर्काउँदा सडक तलमाथिको जग्गा नै खलबलिएको छ, जसका कारण सामान्य वर्षा हुँदा पनि पहिरो जाने र चर्को घाम लाग्दा सुक्खा पहिरो खस्ने गरेको स्थानीय रेस्टुराँ व्यवसायी सुवर्ण केसीले बताए ।

त्यसैगरी म्याग्दीको दानादेखि बागलुङ र पर्वतको सिमाना मालढुंगासम्मको कालीगण्डकी नदी किनारमा सञ्चालित आधा दर्जन क्रसर उद्योग पनि कालीगण्डकी नदी दोहनमा रातदिन लागिपरेका छन् ।

मध्यरातमा डोजर लगाएर नदीजन्य वस्तुको उत्खनन गरी रातारात विक्री गर्ने गरेको पाइए पनि स्थानीय प्रशासन र स्थानीय निकायले ती क्रसर उद्योगलाई केही गर्न नसकेका स्थानीयले बताएका छन् । नाम उल्लेख गर्न नचाहने मिलनचोकका एक स्थानीयले क्रसर उद्योग सञ्चालकहरूसँग स्थानीय प्रहरी प्रशासन र जनप्रतिनिधिको समेत मिलोमतो रहेकोले अनधिकृत रूपमा कालीगण्डकी नदीको दोहन गर्नेहरूमाथि कारबाही हुन नसकेको बताए ।

वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जल चक्र प्रणाली प्रभावित हुनुको साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ । तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको वहाबमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमीन कमजोर बन्दै गएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)