ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नियन्त्रणमा आएन मूल्यवृद्धि

२०७६ चैत, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । सरकारले चालू आवमा मूल्य वृद्धि ६ प्रतिशतभन्दा माथि नपुर्‍याउने लक्ष्य राखे पनि यसको रेखा सरकारी लक्ष्यभन्दा माथि उक्लँदै गएको छ । गत मंसिर महीनादेखि मूल्य वृद्धि लक्ष्यभन्दा माथि जान थालेको हो । 

गत माघसम्ममा तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछाको मूल्य वृद्धि उच्च हुन थालेपछि समग्रमा मूल्य वृद्धि बढेको थियो । 

त्यस्तै गैरखाद्य तथा सेवासमूहअन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको थियो । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रहेका ती वस्तुको उपभोक्ता मूल्य वृद्धि (मुद्रास्फीति) गत माघसम्ममा ६ दशमलव ८७ प्रतिशत पुगेको छ । जबकि अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ४ दशमलव ३५ प्रतिशत रहेको थियो । ७ महीनाको औसत मुद्रास्फीति ६ दशमलव ४७ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको  चालू आवको पछिल्लो ७ महीनाको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले सबैभन्दा बढी महँगी काठमाडौंमा बढेको देखाएको छ । काठमाडौं उपत्यकाका ७ दशमलव ५८ मूल्य वृद्धि छ भने तराईमा ७ दशमलव २६ प्रतिशत छ ।  

‘नेपालमा मुद्रास्फीतिको चाप विगत ४–५ महीनादेखि पर्दै आएको छ । हिउँदमा मुद्रास्फीति कम हुनुपर्ने हो । किसानले धान भित्र्याउने, तरकारी उब्जाउने मौसम पनि हो,’ अर्थविद् केशव आचार्यले भने । तर, अधिकांश खाद्यवस्तु भारतबाट आयात हुन्छ । अहिले नेपालको तुलनामा छिमेकी मुलुक भारतको मूल्य वृद्धि चर्को हुँदा यसको असर नेपालको तराई र काठमाडौं उपत्यकामा देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । 

‘छिमेकी मुलुक भारतको उपभोग्य वस्तुमा परेको महँगीको चापको प्रभाव नेपालको बजारमा समेत देखिएको हो । आर्थिक वर्ष (आव) २०७६/७७ मा माघसम्म भारतमा मुद्रास्फीति ६ दशमलव ५८ प्रतिशत रहेको छ । नेपालले अधिकांश खाद्यवस्तु भारतबाट आयात गर्नुपर्ने भएकाले गतवर्ष भन्दा यसवर्ष मुद्रास्फीतिमा दबाब परेको हो,’ उनले भने । पछिल्लो समय कोरोनाका कारण चीनबाट सामान आयात ठप्प छ । यसले गैरखाद्य वस्तुको मूल्यमा थप चाप पार्न सक्ने सम्भावना देखिएको छ । त्यसो हुँदा समग्रमा सरकारले भनेअनुसार महँगी नियन्त्रण हुन गाह्रो देखिन्छ । 

निर्यात बढ्यो आयात घट्यो
समीक्षा अवधिमा कुल वस्तु निर्यात २२ दशमलव ४ प्रतिशतले वृद्धि भई रू. ६४ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ निर्यात ३८ दशमलव शून्न्य प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १२ दशमलव ७ प्रतिशत र अन्य मुलुकतर्फ २ दशमलव ४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, धागो (पोलिस्टर तथा अन्य), लगायत वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तारलगायत वस्तुको निर्यात घटेको छ ।

गत माघको तथ्यांकले कुल वस्तु आयात ३ दशमलव ६ प्रतिशतले घटेर रू. ८ खर्ब ३ अर्ब ६० करोड कायम भएको देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ८ प्रतिशतले घटेको छ  ।  तर, उक्त अवधिमा भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९ दशमलव ८ प्रतिशत र शून्य दशमलव ८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सीट, मेशिनरी तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेललगायत वस्तुको आयात बढेको छ भने एमएस बिलेट, सुन, यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, सिमेन्टलगायत वस्तुको आयात घटेको छ ।

आयात कम हुँदा बजारमा भएका वस्तुको मूल्य वृद्धि हुन सक्ने देखिन्छ । यद्यपि चीनमा क्रमशः कोरोना भाइरस संक्रमणमा कमी आएकाले करीब डेढ महीनासम्म जनजीवन असहज नबनाउने नेपाल बैंकर संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । 

गत माघसम्ममा पर्यटन तथा भ्रमण आय १५ प्रतिशतले वृद्धि भई रू.४९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू.४२ अर्ब ६० करोड रहेको थियो ।  

आर्थिक वर्षको ७ महीनामा मुलुकमा  समष्टिगत आर्थिक स्थायित्व भएको बताउँदै प्रवक्ता डा. भट्टले अब भने कोरोनाको त्रासले अर्थतन्त्र सबल बनाउन चुनौती थपिएको बताए । अर्थतन्त्र सबल बनाउन उपभोक्ता, व्यवसायी, सरकारलगायत आत्मविश्वास कमी हुन नहुने उनको भनाइ छ । ‘कोरोना त्रासले विप्रेषणमा दबाब आउँछ तर आन्तरिक जनशक्तिलाई चलायमान गर्ने अवसर पनि छ,’ उनले भने, ‘अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । यसले नेपालमा निर्माणाधीन पूर्वाधारको लागत कम पर्न जान्छ ।’

हायर पर्चेज (सवारी) कर्जा, ओभरड्राफ्ट कर्जामा कडाइ  र विदेश भ्रमणमा जानेको पासपोर्टअनुसार सटही सुविधामा कटौती गरिएकाले बाह्य क्षेत्र सन्तुलनमा आएको उनको दाबी छ ।

विदेशी विनिमय सञ्चितिले ८.५ महीनाको वस्तु/सेवा आयात धान्न सक्ने 
कुल विदेशी विनिमय सञ्चिति २०७६ माघ मसान्तमा रू. १०९६ अर्ब ६८ करोड बराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ माघ मसान्तसम्मम रू. ९ अर्ब ६४ करोड पुगेको छ । आर्थिक वर्ष २०७६/७७ को ७ महीनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९ दशमलव ७ महीनाको वस्तु आयात र ८ दशमलव ५ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

शोधनान्तर स्थिति बचतमा
नेपालबाट विदेशमा बाहिरिने रकमभन्दा भित्रिने रकम बढी हुँदा गत माघसम्ममा शोधनान्तर स्थिति बचतमा रहेको छ । सो अवधिमा शोधनान्तर रू.२१ अर्ब ६१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू.४९ अर्ब ३२ करोडले घाटामा रहेको थियो । यस्तै उक्त अवधिमा चालू खाता घाटा रू. ११२ अर्ब १५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रू. १६६ अर्ब ६७ करोड रहेको थियो । 

निक्षेप तथा कर्जा वृद्धिमा आयो सन्तुलन 
गतवर्ष निक्षेप संकलनभन्दा कर्जा प्रवाह अत्यन्तै धेरै भएकाले असन्तुलन भएकोमा अहिले नियन्त्रणमा आएको राष्ट्र बैंकको ठहर छ । गत माघसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६ दशमलव ४ प्रतिशतले र निजीक्षेत्रतर्पmको कर्जा ८ दशमलव ९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ दशमलव ६ प्रतिशत र कर्जाको वृद्धिदर १४ दशमलव १ प्रतिशत छ । विगत वर्षहरूमा निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी हुने गरेकोमा यस्तो असन्तुलन नियन्त्रणमा आएको राष्ट्र बैंकका प्रवक्ता डा. भट्ट बताउँछन् । 

तर, हाल बजार अस्तव्यस्त हुन थालेकाले बैंकबाट कर्जा प्रवाह हुन छाडेको बैंकर्स संघका अध्यक्ष दाहालले गुनासो गरे  । साथै क्रमशः व्यवसाय ठप्प हुँदै गएमा उद्योेग व्यवसायमा प्रवाह भएको कर्जा समयमा नउठ्ने, राजस्व घट्नेलगायत कारण अर्थतन्त्र संकटमा पर्नसक्ने अर्थविद्हरू बताउँछन् ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)