ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोलकाता बन्दरगाहमा पानीजहाजलाई क्वारेन्टाइन 

२०७६ चैत, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोरोनो भाइरस (कोभिड–१९)को संक्रमण फैलिएका देशबाट आउने कार्गो बोकेका पानीजहाजलाई कोलकाता बन्दरगाहले क्वारेन्टाइनमा राखेर मात्रै भित्रिन दिने भएको छ । कोलकाता पोर्ट ट्रस्टले कोरोना संक्रमणको उच्च जोखिम भएका देशबाट आउने पानीजहाजलाई १४ दिन क्वारेन्टाइनमा राखेर अनलोडको अनुमति दिइने बिहीवार सूचना निकालेर बताएको हो । 

समुद्री मार्गमै १४ दिन बिताइसकेका पानीजहाज र चालक दललाई भने क्वारेन्टाइनमा राखिने छैन । यस्ता पानीजहाजले कोरोना संक्रमणको लक्षण देखिने १४ दिनको समय समुद्रमै बिताइसक्ने भएकाले क्वारेन्टाइन आवश्यक नपर्ने कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष विनीत कुमारले बताए । 

भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको निर्देशनमा बन्दरगाहले यस्तो कदम चालेको हो । ‘कारोना भाइरसको संक्रमण पैmलन नदिन समुद्रमै क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको हो । तर, समुद्री मार्गमै १४ दिन बिताएर आएका पानीजहाजका लागि यो आवश्यक छैन,’ अध्यक्ष विनीत कुमारले आर्थिक अभियानसित भने । 

विश्व स्वास्थ्य संगठनको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसओपी)अनुसार कोरोना प्रभावित देशबाट आएका पानीजहाजका चालक दल र मालसामानलाई क्वारेन्टाइनमा राखिने सूचना पठाएको नेपाल फ्रेट फर्वार्डर्स एशोसिएशनका पूर्वअध्यक्ष राजन शर्माले बताए । 

कोलकातासम्म आइपुगेका यस्ता पानीजहाजलाई समुद्रमै १४ दिनसम्म राखेर चालक दललाई कोराना संक्रमणको लक्षण नदेखिएमात्रै जहाजबाट ओर्लिन दिइने भएको छ । 

यही मार्च ३१ सम्मका लागि लागू गरिएको यो प्रावधानको अवधि थपिन सक्ने बन्दरगाहले बताएको छ । क्वारेन्टाइन तोकिएका अधिकांश देशबाट कोलकातासम्म कार्गो ढुवानीमा समुद्री मार्गमा १ देखि डेढ महीना समय लाग्ने भएकाले त्यस्ता देशबाट आएका पानीजहाजलाई क्वारेन्टाइनमा नराखिने बताइएको छ । 

सिंगापुर, श्रीलंकाको कोलम्बो र मलेसियाको पार्टकलाङबाट आएकामध्ये मलेसियाबाट आएका पानी जहाजलाई भने ६ देखि ७ दिनसम्म क्वारेन्टाइनमा राखिने विनतकुमारले बताए । सिंगापुर र श्रीलंकामा संक्रमण खासै नभएकाले क्वारेनटाइनमा नराखिने उनले बताए । मलेसियामा कोरोना संक्रमण बढी भएको र त्यहाँबाट आउने पानीजहाज ७ देखि ८ दिनमा कोलकाता आइपुग्ने भएकाले क्वारेन्टाइनमा राखिने विनितकुमारको भनाइ छ ।

नेपालका लागि मलेसिया हुँदै आउने कार्गोमात्र क्वारेन्टाइनमा पर्ने हुँदा त्यसबाट नेपालको तेस्रो मुलुकसँगको व्यापारमा खासै असर नपर्ने नेपाल उद्योग वाणिज्य महासंघ पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानीले बताए । नेपालमा तेस्रो मुलुकबाट आउने एक लाखभन्दा बढी कण्टनेर कार्गोमध्ये ६० प्रतिशत कोलकाता बन्दरगाहमा आउँछन् । कोलकाता बन्दरगाहको असहज भौगोलिक अवस्थाका कारण सिंगापुर, कोलम्बो र पोर्टकलाङबाट साना पानीजहाजमा चढाएर ल्याइन्छ । 

चालक दलमा कोराना संक्रमण देखिएमा त्यस्तो पानीजहाजमा रहेको मालसामानसमेत अनलोड गर्न दिइने छैन । कोरोना संक्रमण महामारीको रूपमा फैलिएकाले त्यस्ता देशबाट आएको कार्गोमा यस्तो नियम लागू गरिएको अध्यक्ष विनीतकुमारले बताए । 

यस्ता पानीजहाजका चालक दलको स्वास्थ्य जाँचेर संक्रमण नभेटिए मात्रै अनलोडको अनुमति दिइने पोर्ट ट्रष्टले बताएको छ । कोरोना संक्रमण बढी देखिएका चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मनी, यूएई, कतार, ओमान, कुवेतलगायत देशबाट आएका कार्गो र चालक दललाई क्वारेन्टाइनमा राखिने पोर्ट ट्रष्टको सूचनामा उल्लेख छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)