ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिमको अर्थतन्त्र प्रभावित

२०७६ चैत, ९  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९) को असर सुदूरपश्चिमको अर्थतन्त्रमा पनि देखिन थालेको छ । प्रदेशका उद्योगले दैनिक उत्पादनमा ५० प्रतिशत कटौती गरेपछि अर्थतन्त्र नराम्ररी प्रभावित बन्न पुगेको हो ।

प्रदेशभित्र उद्योग, व्यापार, पर्यटनलगायत व्यवसायमा देखिएको मन्दीले अर्थतन्त्र नराम्ररी प्रभावित बन्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले बताए । कोरोना आइनसके पनि त्यसको त्रासले बजारमा चहलपहल घट्दै जाँदा वस्तु खरीदविक्रीमा कमी आएको उनले बताए । 

चिनी मिल तथा खाद्य मिलमा गरी करीब ७ सय मजदूर आफ्नो उद्योगमा मात्र कार्यरत रहेको बताउँदै भागेश्वर ग्रूपका प्रबन्ध निर्देशक समेत रहेका बोगटीले मजदूर कटौती नगरिए पनि उत्पादनमा भने ५० प्रतिशतले कमी आएको जानकारी दिए । भारतबाट कच्चापदार्थको आयात निर्बाध रूपमा भइरहेकाले उद्योग बन्द गर्नुपर्ने अवस्था नभएको उनको भनाइ छ । तर, माग र आपूर्ति भने सहज नभएको वेष्टर्न फिड इन्डष्ट्रिजका प्रबन्ध निर्देशक मनोज अग्रवाल बताउँछन् । १०० जना मजदूर आफ्नो उद्योगमा कार्यरत रहेको बताउँदै मैदा, राइस, तेल तथा दाना उद्योगमा कार्यरत कुनै पनि मजदुर कटौती नगरिएको उनको भनाइ छ । कैलाली उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका अग्रवालले प्रदेश सरकारसँग जिल्लाको निजी क्षेत्रले सहकार्य गरेर यो रोगबाट जोगिन आवश्यक सहयोगका लागि सहमति भएको जानकारी गराए । सुदूरपश्चिमको आन्तरिक तथा बाह्य पर्यटनमा कोरोनाको असर परेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले जानकारी दिए । सरकारले उद्योग व्यवसायमा छाएको मन्दीलाई दृष्टिगत गरी ब्याज मिनाहा गर्नुपर्ने उनको माग छ । भारतबाट ठूलो संख्यामा आउने धार्मिक पर्यटन आगमन ठप्प हुँदा यस क्षेत्रको होटल व्यवसाय नराम्ररी प्रभावित बनेको छ । बैंकबाट ऋण लिएर होटल सञ्चालन गरेका कतिपय सञ्चालक आत्तिएको निजीक्षेत्रको गुनासो छ । यहाँका होटलले तीनमहिना व्यापार गर्छन् भने अन्य समयमा खासै व्यापार हुँदैन । भारतबाट आवात जावतमा कडाइ गरिँदा निजीक्षेत्र प्रभावित बन्न पुगेको गुनासो उद्योगी व्यवसायीको छ ।

आयात निर्यात निर्बाध
सुदूरपश्चिम प्रदेशको सवैभन्दा ठूलो भन्सार नाका कैलाली भन्सार नाका हुँदै भारतबाट आयात र नेपालबाट निर्यात निर्बाध रूपमा भइरहेको प्रमुख भन्सार अधिकृत ईश्वरीप्रसाद अर्यालले बताए । ‘कैलाली भन्सारमा अहिलेसम्म आयात निर्यातमा कुनै समस्या देखिएको छैन,’ उनले भने । गत आव २०७५–७६ को फागुन मसान्तसम्म रू. १३ अर्ब ९५ करोडको विभिन्न वस्तु आयात भएकामा चालू आवको सोही अवधिमा रू. १३ अर्ब ३२ करोड मूल्यका वस्तु मात्र आयात भएको तथ्यांक छ । विभिन्न वस्तुको आयात कम भएकाले सो अवधिसम्म अघिल्लो समयको भन्दा ७३ करोडले आयात कम भएको तथ्यांक छ । अघिल्लो आवको फागुन मसान्तसम्म रू. ३ अर्ब २१ करोड राजस्व असुली गरेको कार्यालयले चालू आवको सोही अवधिसम्म ३ अर्ब ४४ करोड राजस्व संकलन गरेको कैलाली भन्सार कार्यालय, धनगढीका सूचना अधिकारी डिल्लीराज शर्माले बताए । आयात घटे पनि विभिन्न वस्तुको भन्सार महशुल बढाइएकाले राजस्व संकलनमा वृद्धि भएको उनले जानकारी दिए । गत फागुन मसान्तको तुलनामा भन्सार ७ प्रतिशतले बढेको छ । यो नाकाबाट ट्र्याक्टर आयातमा पनि कमी भएको छ । त्यस्तै गत फागुन महीनासम्म रू. १ करोड ७७ लाख किलो चामल आयात भएको छ । यो अवधिमा अघिल्लो वर्षको तुलनामा आधाभन्दा बढीले कमी आएको सूचना अधिकारी शर्माले बताए । उनका अनुसार चालू आवको फागुन महीनासम्म ८१ लाख २१ किलो चामल आयात भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)