ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखराको पर्यटनमा कोरोना कहर

अकुपेन्सी ५ प्रतिशत, कर्मचारीलाई बिदा गरिँदै

२०७६ चैत, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सधैं पर्यटकको भीडभाड हुने पोखराको लेकसाइड आजभोलि सुनसान छ ।  तस्वीर : नरहरि पौड्याल/आर्थिक अभियान 
author avatar नरहरि पौड्याल

कास्की । सधैंजसो विदेशी पर्यटकले भरिभराउ हुने पोखराका पर्यटकीय क्षेत्रहरू अहिले सुनसान बनेका छन् । त्यसमाथि सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण फैलन नदिन नेपालीहरूलाई घरभित्र नै बस्न निर्देशन दिएपछि आन्तरिक पर्यटकसमेत नआउँदा पोखराको पर्यटकीय स्थलहरू झनै सुनसान बनेका हुन् । 

विदेशी पर्यटक आगमन ठप्प भएपछि पोखराको पर्यटन धरापमा परेको छ । नेपाल सरकार तथा अन्य देशका सरकारले पनि कोरोनाकै कारण हवाई उडान र आवागमनमा कडाइ गरेपछि पर्यटकको आगमन ठप्प भएको हो । ४ वर्षअघि विनाशकारी भूकम्पले थला परेको पर्यटन बजार बिस्तारै तंग्रिन लागेको अवस्थामा कोरोनाले पर्यटन व्यवसाय थला पर्न थालेको पर्यटन व्यवसायी बताउँछन् ।

नेपालका लागि मार्च, अप्रिल र मे महीना पर्यटकीय मौसम हो । विदेशी पर्यटकहरूको चहलपहल हुने यही समयमा व्यवसायीहरूको अत्यधिक आय गर्ने गरेका छन् । तर, यही मौसममा पर्यटक आगमन ठप्प भएपछि पर्यटन क्षेत्र नराम्ररी थला परेको हो । मुख्य सिजनमै पर्यटक नआएपछि व्यवसायी चिन्तित बनेका छन् । सरकारले भ्रमण वर्ष घोषणा गरेकाले यसपालि पर्यटन क्षेत्र फस्टाउने व्यवसायीहरूको अपेक्षा थिथो । त्यसै कारण कतिपय व्यवसायीले लगानी पनि थपेका थिए । तर, व्यवसायीले गरेको अपेक्षाको ठीक उल्टो भएपछि उनीहरू अहिले तनावमा छन् । 

पर्यटक आगमन ठप्प भएसँगै होटल, रेस्टुराँ, ट्राभल्स र ट्रेकिङलगायत व्यवसाय ठप्प भएका छन् । कोरोना भाइरसका कारण आन्तरिक तथा बा≈य पर्यटक नआउँदा पर्यटकीय नगरी पोखराका फेवाताल, पातले छाँगो, लेकसाइड लगायत पर्यटकीय स्थल अहिले सुनसान भएका छन् । पर्यटक आगमन शून्य भएपछि पोखरामा सञ्चालन हुँदै आएका पर्यटक लक्षित व्यवसायसमेत धरापमा परेका छन् ।

हरेक दिनजसो पर्यटकको घुइँचो लाग्ने लेकसाइडमा अहिले फाटफुटमात्रै विदेशी पर्यटक देखिन्छन् । पोखरा भएर पुगिने विभिन्न पदमार्ग पनि यति बेला सुनसान छन् । अधिकांश होटल तथा रेस्टुराँ खाली भएका छन् । भरिभराउ देखिने लेकसाइड फुटट्र्याक वरपरका रेस्टुराँ पनि सुनसान छन् ।

यो मौसम आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुने समय हो । तर, महामारीका रूपमा संसारभर फैलिरहेको कोभिड–१९ भाइरसले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड सुनसान जस्तै छ ।

व्यवसायीको चिन्ता : भाडा कसरी तिर्ने ? 
लेकसाइडमा विगत साढे २ दशकदेखि ट्रेकिङ व्यवसाय गर्दै आएका पर्वतका विनोद पौडेलले व्यवसाय धरापमा परेको बताए । उनले कोरोना भाइरसको संक्रमण पैmलिएसँगै व्यवसाय धराशयी बनेपछि बिहानबेलुका हातमुख जोड्नै सकस भएको बताए । ‘पसलमा बोहनीसमेत नभएको डेढ महीनाभन्दा बढी भयो,’ उनले भने, ‘जीविकोपार्जन गर्ने मुख्य आधार नै यही व्यवसाय हो । व्यवसाय नै धरापमा परेपछि कसरी बालबच्चाको स्कूल फी तिर्ने, कसरी भाडा तिर्ने र कसरी दैनिकी चलाउने ?’

व्यवसायबाट आमदानी नभएपछि ऋण खोज्दा समेत कतैबाट ऋण नपाएको पौडेलको गुनासो छ । ‘१ हप्तादेखि बेलाबखत ऋण सापटी लिने गरेका एक दर्जनभन्दा धेरै साथीभाइसँग पैसा सापटी माग्दासमेत पाइनँ,’ उनले भने, ‘सबै साथीको उस्तै पीडा छ । व्यापार छैन । घरभाडा, बैंकको ब्याज र छोराछोरीको स्कूल फी तिर्नै सकस परेको छ ।’

विगत २ दशकदेखि लेकसाइडमा व्यवसाय गर्दै आएका गोर्खाका नेत्र पौडेलले २०७२ को महाभूकम्पको भन्दा पनि कोरोना भाइरसका कारण व्यवसायमा ठूलो असर परेको बताए ।

‘कोरोना भाइरसको संक्रमणसँगै व्यापार चौपट भएको छ,’ उनले भने, ‘२०७२ को भूकम्प जाँदाको अवस्थामा पनि यस्तो भएको थिएन । हल्काफुल्का व्यापार भएको थियो, अहिले त व्यवसाय ठम्पै भयो ।’

कर्मचारीलाई बिदा गर्दै होटल
पर्यटक आगमन शून्य भएसँगै पोखराका होटलहरूले आफ्ना कर्मचारीलाई धमाधक बिदा दिन थालेका छन् । पोखराको लेकसाइडस्थित दरबार इन होटलका सञ्चालक पृथ्वी लामिछानले डेढ महीनादेखि होटल व्यवसाय ठप्प भएको बताए । उनका अनुसार मार्च र अप्रिलसम्मको होटल बुकिङ समेत रद्द भइसकेको छ । होटलको बुकिङ धमाधम रद्द भएपछि कार्यरत ७ जना कर्मचारीलाई बिदा दिई घर पठाउने बाध्य भएको उनले बताए ।

लेकसाइडकै बाराहीमार्गमा रहेको द यात्रा कोर्टयार्ड होटल एन्ड रिसोर्टको अवस्था पनि उस्तै छ । पर्यटक नआएपछि केही सातादेखि होटलका ४ दर्जन रूम खाली छन् । होटलका महाप्रबन्धक अरूण गिरीले होटलको बुकिङ धमाधम रद्द भएपछि होटलमा कार्यरत ५ दर्जनभन्दा बढी कर्मचारीलाई १ महीनाका लागि बिदा दिने योजना बनाएको बताए । ‘क्लीनर र रिसेप्सन बाहेकका कर्मचारीलाई १ महीनाका लागि बिदा दिने योजना बनाएका छौं,’ उनले भने, ‘तत्कालका लागि १ महीनासम्म बेतलबी बिदा दिनेछौं । पछि अवस्थाअनुसार अर्को निर्णय गर्छाैं ।’

विश्वभर फैलिएको कोरोना भाइरसका कारण पर्यटकीय नगरी पोखरामा दरबार इन र द यात्रा जस्तै सबैजसो होटलको अवस्था उस्तै छ । यहाँका तारे होटलमा पनि तेस्रो मुुलुकका पर्यटकहरू नगन्य मात्रामा भेटिने गरेका छन् । 

कोरोनाकै कारण हवाई उडान रोकिएपछि विदेशी पर्यटकको आगमन ठप्प भएको हो । पर्यटन व्यवसाय नराम्ररी खस्किएपछि बैंक तथा वित्तीय संस्थाको ऋणसमेत समयमै बुझाउन नसक्ने अवस्था आएको पर्यटन व्यवसायीको गुनासो छ । 

अकुपेन्सी घटेर ५ प्रतिशत 
आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चाप हुने लेकसाइडमा चहलपहल घटेपछि होटल, रेस्टुराँ र रिसोर्टमा पाहुनाको अकुपेन्सी न्यून भएको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए ।

कोरोना भाइरसको आतंक शुरू भएपछि होटल व्यवसायको अकुपेन्सी भूकम्प र द्वन्द्वकालको भन्दा पनि न्यून अवस्थामा पुगेको उनले बताए । अध्यक्ष तुलाचनले भने, ‘होटलको अकुपेन्सी अहिले ५ प्रतिशतभन्दा पनि कम छ ।’ 

विगत केही वर्ष यही याममा पोखराका होटल ८० प्रतिशत भरिभराउ हुन्थे । यसपटक सानाठूला होटलमा गरी ७–८ प्रतिशत मात्र पर्यटक पोखरामा रहेको अध्यक्ष तुलाचन बताउँछन् । 

मार्च, अप्रिल, मे पदयात्राको सिजन हो । यो बेला यूरोपेली, अमेरिकी, अस्ट्रेलियाली, जापानी, कोरियाली, चिनियाँलगायत पर्यटक आउने गर्छन् । उनका उनीहरू नआउँदा अनुसार होटल, रेस्टुराँका साथै दिवा तथा रात्रिकालीन अन्य व्यवसायमा प्रत्यक्ष असर देखिएको छ । 

लामो समयसम्म मुलुकमा जारी द्वन्द्व र भूकम्पमा समेत आन्तरिक पर्यटकको भरमा धानिएको पर्यटन व्यवसाय विदेशी र आन्तरिक पर्यटक दुवै आएका छैनन् । 

पर्यटक अभाव हुँदा होटल सुचारू गर्न र दैनिक खर्चको व्यवस्थापनमा समेत चुनौती देखिएको अध्यक्ष तुलाचन बताउँछन् । ‘होटलका लागि दैनिक खर्च, कर्मचारी व्यवस्थापन र बैंक तथा वित्तीय संस्थाको ब्याज व्यवस्थापनमा व्यवसायीलाई कठिनाइ उत्पन्न भएको छ,’ उनले भने, ‘नियमित व्यवस्थापकीय खर्चको अभावमा कसरी व्यवसाय अगाडि बढाउने भन्ने तनावमा व्यवसायी पुगेका छन् ।’

व्यवसायीको माग
संकटको बेला सरकारले पर्यटन क्षेत्रलाई राहत दिने कार्यक्रम ल्याउनुपर्ने माग गर्छन् पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेल । पर्यटकहरूको आवागमनमा निकै कमी आएको र समस्याग्रस्त अवस्था आएकाले सरकारले यस अवधिको ऋणको ब्याज र किस्तामा सहुलियत दिनुपर्ने उनको माग छ । ‘पर्यटन व्यवसायीको राहतका लागि सहुलियत किस्तामा ऋण दिने व्यवस्था सरकारले मिलाउनुपर्छ,’ उनले भने । ‘लगानीलाई सम्बोधन गर्ने गरी सरकारले बैंकको ऋणको किस्तालाई ३ महीनाको म्याद थप्नुपर्ने हाम्रो आग्रह छ ।’ 

सरकारले आन्तरिक पर्यटकलाई चलायमान बनाउने कार्यक्रम ल्याएर राहत दिनुपर्ने व्यवसायीको चाहना छ । रेस्टुराँ एन्ड बार एशोसिएशन (रेबान) पोखराका अध्यक्ष भीमसेन भुजेलले पर्यटन क्षेत्रमा अर्बौंको लगानी भएकाले राज्यले यस विषयमा सोचेर निर्णय लिनुपर्ने बताए ।

हवाई मार्गबाट आउने पर्यटक आधा घटे 
हवाई मार्ग हुँदै पोखरा आउने पर्यटकको संख्या घटिरहेको पोखरा विमानस्थलको तथ्यांकले प्रस्ट्याएको छ ।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार सन् २०२० को जनवरीमा पर्यटक नघटे पनि फेब्रुअरीमा झन्डै ५० प्रतिशत घटेको छ ।

सन् २०१९ को फेब्रुअरीमा पोखरा विमानस्थल हुँदै १३ हजार ९ सय ११ विदेशी आएका थिए भने सन् २०२० को फेब्रुअरीमा यो संख्या घटेर ७ हजार ९२ पुगेको छ । सन् २०१८ फेब्रुअरीमा १५ हजार ४ सय ४६ जना पर्यटक पोखरा आएका थिए ।

‘जनवरीसम्मको आगमनको तथ्यांक हेर्दा पोहोर र अहिले खासै अन्तर छैन,’ उनले भने । ‘फेब्रुअरीमा आधा अन्तर परिसकेको छ ।’ पोहोर जनवरीमा पोखरामा १२ हजार ९ सय ५५ विदेशी आएका थिए । यो जनवरीमा बढेर १३ हजार २ सय ५६ पुग्यो । जनवरीको तुलनामा फेब्रुअरीको आगमन ४७ प्रतिशत कम रहेको उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)