ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वास्थ्य सामग्री निर्यातमा रोक

अत्यावश्यक वस्तुको भन्सार जाँचपास २ घण्टाभित्रै , भन्सार विभागमा ‘क्वीक रेसपोन्स टीम’ गठन

२०७६ चैत, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको निर्यातलाई सरकारले रोक लगाएको छ । भन्सार विभागले आइतवार स्वास्थ्य सामग्रीअन्तर्गत पर्ने औषधि, मास्क, स्यानिटाइजर, पीपीई, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पञ्जाको निर्यातमा रोक लगाएको हो ।

त्यस्तै, कोरोना संक्रमणलाई दृष्टिगत गर्दै विदेशबाट आयात हुने औषधि तथा तिनको कच्चा पदार्थ, मास्क, स्यानिटाइजर, पीपीई, खाद्यवस्तु, पेट्रोलियम पदार्थलगायत वस्तुको भन्सार पास २ घण्टाभित्रै गर्ने निर्णय विभागले गरेको छ । यस बारेमा विभागमातहतका सबै कार्यालयलाई निर्देशन दिइसकिएको विभागका महानिर्देशक सुमन दाहालले बताए । 

विभागले भन्सारमा हुने कुनै पनि समस्या तत्काल समाधान गर्न ‘क्वीक रेसपोन्स टीम’ बनाएको छ । विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीसहितको पाँच सदस्य ‘क्वीक रेस्पोन्स टीम’ले भन्सारमा देखिने समस्याको समाधानको पहल गर्नेछ । ‘यस टीमको काम भन्सारमा देखिने समस्याको तत्काल समाधान खोज्ने हो,’ दाहालले भने । 

कोरोना जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको निर्यातलाई तत्काल रोक्न सबै कार्यालयलाई पत्राचार गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए । 

उनका अनुसार नेपालमा स्वास्थ्यसम्बन्धी सामग्रीको निर्यातभन्दा आयात बढी हुने गरे पनि कतिपय आयातित वस्तुलाई पुनः प्याकिङ गरी बाहिरी मुलुकमा पठाउने गरिएको छ । त्यसले बजारमा हाहाकार हुने भएकाले त्यस्ता वस्तुको निर्यातमा रोक लगाइएको हो ।

स्वास्थ्यसम्बन्धी वस्तुहरूको निर्यातमा रोक लगाइनु सकारात्मक रहेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षत्री बताउँछन् । उनका अनुसार औषधि उत्पादनका लागि चाहिने कच्चा पदार्थ आयातमा लामो समयदेखि समस्या देखिरहेको छ । त्यसलाई निर्बाध बनाउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ । यद्यपि ३ महीनाका लागि औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ र प्याकेजिङका सामग्री मौज्दात उत्पादकहरूसँग रहेको क्षत्री बताउँछन् । 

भन्सार विभागका महानिर्देशक दाहालका अनुसार भन्सार नाकामा औषधिको कच्चा पदार्थसहित दैनिक अत्यावश्यक वस्तुहरूको आपूर्तिको जाँचपासलाई सरकारले आइतवारदेखि नै थप सहज बनाउने निर्णय गरेको छ । 

चीन र भारतबाट स्वास्थ्य सामग्री ल्याइँदै 
कोरोना नियन्त्रणका लागि नेपालले आफ्ना दुई नजीकका छिमेकी भारत र चीनसँग स्वास्थ्य सामग्री तथा उपकरण मगाएको छ । सरकारले चीनबाट २ लाख पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई), पीसीआर टेस्ट कीट १ लाख, भीटीएम १ लाख, एन९५ मास्क डेढ लाख थान मगाएको हो ।  त्यस्तै ल्याबसहितको एम्बुलेन्स १० थान, मोबाइल एम्बुलेन्स ५ थानसमेत ल्याइने भएको छ ।

त्यसैगरी सरकारले भारतसँग पीपीई १ लाख ६० हजार थान, पीसीआर टेस्ट कीट ५ लाख, भीटीएम १ लाख र ए९५ मास्क डेढ लाख मगाउँदै छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)