ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साताका लागि सीमा नाकामा आवागमन बन्द 

२०७६ चैत, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठक । तस्वीर : रासस
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले १ साताका लागि चीन र भारततर्फका सीमा नाकाबाट यात्रु आवागमन बन्द गर्ने निर्णय गरेको छ । आइतवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चैत १० गते सोमवारबाट लागू हुने गरी चीन र भारत दुवै देशतर्फका नाकाबाट हुने आवागमन १ साताका लागि बन्द गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद् निर्णय

  • सोमवारबाट चीन र भारत दुवैतर्फका नाका १ साताका लागि बन्द
  • अत्यावश्यक वस्तुको आयात र भण्डारणको व्यवस्था मिलाउने
  • कोरोना संक्रमणको उपचारका लागि आवश्यक सामग्री एकद्वार प्रणालीबाट वितरण गरिने
  • सशस्त्र प्रहरीको अस्पताल पनि कोरोना उपचार केन्द्र

नेपालसँग सिमाना जोडिएका भारतका प्रान्तहरूमा कोरोना संक्रमण देखिन थालेपछि नाका बन्द गर्न सरकारमाथि दबाब परेको थियो । मन्त्रिपरिषद् बैठकपछि बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा अर्थ तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दुई छिमेकी मुलुकका नाकाबाट यात्रु आवागमन बन्द गर्ने निर्णय गरेको जानकारी दिए । यात्रु आवागमन बन्द गरिए पनि मालवाहक सामानको ढुवानी भने नरोकिने उनले बताए । ‘एक देशमा भएको संक्रमण अर्को देशमा नफैलियोस् भनेर सोमवार बिहान १० बजेबाट १६ गतेसम्मका लागि छिमेकी देशका अन्तरराष्ट्रिय नाकाहरूबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरिएको छ,’ उनले भने ।

मन्त्रिपरिषद् बैठकले कोरोनाको उपचारका लागि १० करोड रुपैयाँको कोष बनाउने निर्णय पनि गरेको छ । उक्त कोषमा मन्त्रीहरूले १ महीनाको तलब योगदान गर्ने र कोषका लागि रकम जुटाउन सार्वजनिक रूपमा आग्रह गर्ने निर्णय पनि गरेको डा. खतिवडाले जानकारी दिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नियमित बजार अनुगमन गर्ने, बजारको आपूर्ति व्यवस्थालाई सहज बनाउने र खाद्य वस्तुको अभाव हुन नदिन आयात र भण्डारणको व्यवस्था मिलाउने निर्णय गरिएको प्रवक्ता खतिवडाले जानकारी दिए । यस्तै उनले सार्वजनिक र सरकारी सेवा निरन्तर सञ्चालनमा रहने भएकाले सबै कर्मचारीले काममा यथावत् आउनुपर्ने स्पष्ट पारे । 

दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार पहिलोपटक बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो । मिर्गौला प्रत्यारोपणलगत्तै सार्क राष्ट्रका प्रमुखहरूको भिडियो कन्फरेन्समा पहिलोपटक सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले गत शुक्रवार देशवासीका नाममा सम्बोधन गर्नुभएको थियो । 

सम्बोधनका क्रममा उहाँले सीमा नाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गर्ने बताउनुभएको थियो । तर, कोरोना भाइरसको जोखिम बढेसँगै छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण देखिन थालेपछि नाका नै बन्द गर्ने निर्णय गरिएको हो । नेपाल–भारत नाकामा आवतजावत कडाइ गरे पनि स्वदेश फर्किनेको संख्या बढेसँगै सरकारले सीमा नाका नै बन्द गर्ने निर्णय गरेको हो । 

बजारमा मास्क, स्यानिटाइजरको अभाव देखिएपछि त्यसको आन्तरिक उत्पादन हुन थालेको बताउँदै खतिवडाले छिमेकी मुलुक चीन र भारतसँग यस्ता सामग्रीको थप आपूर्तिका लागि पत्राचार गरेको जानकारी दिए । कोरोना संक्रमणको उपचारका लागि आवश्यक सामग्री एकद्वार प्रणालीबाट वितरण गरिने उनको भनाइ छ । 

‘चिकित्सक टोली पठाउन छिमेकी राष्ट्रले तयार छौं भने पनि आवश्यक परेमा मात्र बोलाउँछांै,’ उनले भने । कोरोना परीक्षणका लागि आवश्यक थप सामान पनि मगाउने उनले जानकारी दिए ।  

सरकारले चन्द्रागिरि नगरपालिकास्थित सशस्त्र प्रहरी अस्पताललाई कोरोना उपचार केन्द्र तोकेको छ । यसअघि धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान धरान तथा वीर अस्पतालमा कोरोनाको परीक्षण गर्ने व्यवस्था गरेको थियो । कोरोना भाइरस नियन्त्रणका लागि वैदेशिक सहायता परिचालन गर्ने र अर्थ मन्त्रालयले त्यसको समन्वय गर्ने पनि मन्त्री खतिवडाले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)